सम्झन्छु छोरा

सम्झन्छु छोरा

शनिबारीय साहित्य ः कविता
*** ***

कोही हुन्छ धनी अपार धनले मातै चढेकाहरु ।
भोको पेट मिचेर बस्नु कति हो गाँसै हरेकाहरु ।।
भन्दै काम गरे कसेर पटुका बाँधेर यो देशमा ।
नारा ली गणतन्त्रको सडकमा निस्के उनी जोशमा ।।

बारम्बार मसालको जुलुस त्यो लम्किन्छ है पैदल ।
सामन्ती सरकारसाथ अब त्यो फालिन्छ है निर्दल ।।
भन्थ्यो राममणी सँधै मुलुकमा सद्भाव राख्थ्यो अनि ।
छोरा राममणी थियो नि भवमा मान्ने र गुन्ने पनि ।।

छापामार भनेर हेर कसरी छोरा नि मारी दिए ।
साँढे हेर जुधेर यो मुलुकमा बाच्छा मिचेकै थिए ।।
यस्तो यो किन बुद्धको मुलुकमा हत्या र हिंसा महा ।
हाम्रो दर्द र वेदना हृदयको खै को छ बुझ्ने यहाँ ।।

छोराको नि परेर शोक अहिले मै रुन्छु बेहोशमा ।
रुन्छे है दिन रात नै धरधरी पत्नी परी शोकमा ।।
बाबा खै भनेर सोध्छ दिनमा बिर्सिन्न राती पनि ।
बाबा हो नि भनेर रुन्छ किन यो चर्किन्छ छाती अनि ।

आफ्नै ज्यान दियौ अरे रगतको खोला बगाईकन ।
सेनाले नि लगेछ फेरि किन हो बन्दी बनाईकन ।।
बन्दी जीवन जेलनेल अनि भोग्दैछे बुहारी पनि ।
नातीको भरमा बसेर घरमा सम्झन्छु छोरा अनि ।।

(ने.क.पा. (माओवादी) तत्कालीन लमजुङ जिल्ला कमिटी सदस्य राममणि भट्टराईलाई २०५५/०९/१३ गते गोर्खा हर्मीबाट लखेटी हर्मी र चक्रतिर्थ १ टिमुरे सिसौघारीको पुछार चेपे किनारबाट गिरफ्तार गरी चेपेघाटमा हत्या गरेपछि छोराको स्मरणमा बुबाले गरेको स्मृति स्वरुप ।)