शनिबारीय साहित्य ः निबन्ध
*** ***
नेपाली समाजमा माथि शब्द र मान्यताले बेग्लै सुचक चिनाउँछ । गीत गफ सम्वाद वा व्यवहारमा माथिको मान्यता एउटा नैतिक शिक्षा पनि बनेको छ । हाम्रो परम्पराले भन्छ आफू भन्दा माथिकालाई स्वागत सम्मान गर्नु पर्छ । यो मान्यताको पूर्ण पालना गर्नुपर्ने हो भने माथि परेकाले जतिसुकै अन्याय गरे पनि तल पर्नेले सहनु पर्छ । माथि सम्मानित पुजित वा स्थापित तह हो । होचो तहबाट नियालेर हेर्दा माथिको रूप धेरै फरक हुन्छ । माथिलाई कसरी बुझ्ने यो प्रश्नले मलाई घरिघरी तर्साउँछ, सताउँछ । माथि उच्चस्थान उचो अग्लो अथवा शक्तिको श्रोत आदि हो भनेर मन त बुझाइएला तर यदाकदा माथिले मथिङ्गल फनफनी घुमाउँदो रहेछ । एउटा सिङ्गो मानवको सबैभन्दा माथि टाउको हुन्छ सायद माथि भएकोले त्यसलाई माथ भनिएको होला ।
रुखको तल जरा हुन्छ त्यो लुप्त हुन्छ, दृश्यमा हाँगा र पात हुन्छन् र तिनीहरूले रुखको सौन्दर्य झल्काएका हुन्छन् । माथिलाई तलकाले टेवा नदिए माथिको स्वत्व रहँदैन । तल आधार हो भने माथि उँचाइ हो । कहिलेकाहीँ उँचाइले आधारलाई नराम्रोसित चेप्छ । माथिबाट पहिरो खस्छ र तलको अस्तित्व भत्काइदिन्छ । पहिरो खस्नु अस्तित्व सकिनु हो । डाँडो भत्किएर बेसी पुरिनु धुरी भत्किएर जग पुरिनु अस्तित्व सकिनु हो । झट्ट हेर्दा माथि संरक्षक पनि हो । किनभने माथि बादल लागेन भने तल पानी झर्दैन । पानी नपरे फसल लाग्दैन ।
मानव शरीरमा आँखा माथिको अङ्ग हो । आँखा भन्दामाथि टाउको हुन्छ । टाउको भित्र ठिक बेठिक छुट्याउने दिमाग हुन्छ तर कहिलेकाहीँ दिमाग मौन बस्छ र घात वा धोका हुन्छ । पैताला तलको अङ्ग हो । बाटोमा हिँडदा कुनैबेला आँखाले ध्यान दिँदैन र पैतालोमा चोट लागेर घाउ बन्छ । त्यसैले त बाटोमा हेरेर हिड्ने गरौँ भनिन्छ तर के सबैले भनेको मान्छन् त ? अथवा माथिकाले सँधै सुझबुझपूर्ण हेराइ राख्छन् ? होइन, माथि हुनेको दम्भ नै अर्को हुन्छ हेराइ बोलाइ बिधि र व्यवहार अर्कै हुन्छ । एउटा परिवारमा भाइभन्दा माथि दाइहुन्छ र जेठोबाठो कहलिन्छ । घर व्यवहारमा उमेर पाको भएकाहरूले आफुले जिवनमा भोगेका शिक्षा आफुभन्दा तलको पुस्तालाई अर्ति वा उपदेश दिएर समाजमा घुलमिल हुन सिकाउँछन् । उमेरले माथि भएका कारण उनीहरू सम्मानित पनि हुन्छन् । हरेक धर्म वा सांस्कृतिक मान्यतामा धार्मिक गुरू वा अधिष्ठाताहरू हुन्छन् र तिनीहरू भक्तहरू भन्दा माथि हुन्छन् । उनीहरू ज्ञान बिबेकले कमजोर भएपनि मान्यताका कारण माथि पर्छन् । सङ्घ संस्था वा कार्यालय विद्यालयमा कारिन्दा र कार्यकर्ताको तह तह हुन्छ । कार्यालयमा सबैभन्दा माथि हाकिम भनेर चिनिएका पात्र हुन्छन् । उनीहरूको काम आदेश वा निर्णय दिनु हुन्छ । माथिको आदेश वा निर्णय उल्लङ्घन गरियो भने के हुन्छ बताइ रहनु पर्दैन । मान्छे पद र प्रतिष्ठाको भोको हुन्छ । त्यसैले ऊ माथि उक्लन अनेक हर्कत गर्न तयार हुन्छ ।
माथिको आसन उच्चासन भनिन्छ । त्यो आसनमा पुग्नेहरूलाई नीति नियम र सहिँताको कुनै धारा उपधारा र अनुसुचिले छुँदैन । देखिएको वा सुनिएको छ माथिल्लो तहकाहरूले गल्ती वा बदमासी गर्छन् तर कार्वाहीमा पर्ने तल्लो तहकाहरू हुन्छन् । सङ्घ संस्था वा पार्टी सङ्गठन जुनसुकै निकायमा माथिको तह निर्णय वा कार्यान्वयनमा त्यही शक्ति हावी हुन पुग्छ । तपाईं हामी कुनै सामुहिक भोज भतेरमा सामेल छौँ तर पहिले थाली चम्चा समाउनेमा माथिको पात्र अघि सरेको हुन्छ । माथि र तलमा विभेद भोज भतेर सभा समारोहमा मात्र हुँदैन । यस्तो विभेद घरभित्र पनि चलायमान छ । घरमा बा हुन्छन्, दाइ हुन्छन् उनीहरू पदेन माथि हुन्छन् र अह्रन खटनको दाबेदार हुन्छन् । तल्लो दर्जामा छोरी बुहारीहरू हुन्छन् र उनीहरू सँधै दलनमा पर्छन् ।
सङ्घ संस्थामा तलबाट छानिएर वा माथिबाट तानिएर एउटा कमिटी बन्छ । उनीहरूले नीति नियम वा सहिँताको निर्माण गर्छन् तर लागू हुने मामिलामा ‘माथिको बोली तातो गोली तलको बोली सँधैको झोली’ बनेझैँ हुन्छ । यस्तो कमिटीले तलको कुरा सुन्दै सुन्दैनन् । अक्सर बुर्जुवा राजनीतिक सङ्घ सङ्गठनमा लागू हुने यो मान्यताले अहिले समाजमा अस्थिरता र अराजकता ल्याएको छ । शक्ति वा पहुँचमा पुग्नु माथि पर्नु वा माथि हुनु हो । यस्तो प्रवृक्तिले शत्तिहीनहरूलाई तल देख्दछ र पहुँचको आडमा आफ्नो हित अनुकूल निर्णय लिन्छ । अझ राज्य स्रोत वा शक्तिको नजिक पुगेपछि उभित्रको मपाइँत्व बढ्छ ।
त्यस्ता पात्रहरू मुलुकले अङ्गिकार गरेको कानुन, संहितालाई पैतालाले कुल्चिएर शक्तिको प्रदर्शन गर्छन् । उनीहरूसित कानुन सुरक्षा र अख्तियार सबै हुन्छ । हामीले देखे सुनेका छौँ माथि हुने गरेका बेथितीहरू प्रत्येकको गहिराइमा पुगेर दण्ड वा नसियतको परिणामसम्म नपुगी इलिमिलि झिली भने जस्तो भैरहेको छ । हाम्रो समाजमा चलेको एउटा उखान ‘ठूला बिराउने साना पिराउने’ भनेजस्तो यत्रतत्र फष्टाएको देखिन्छ ।
माथिको बुझाइमा एकपाखे हेराइ भयो भन्ने ठाउँ देख्न सकिएला तर माथिको विपरीत तल पनि ध्यान दिन जरूरी छ । एउटा सिङ्गो रूखलाई लिउँ, माथि बनेका पातहरूले सूर्यबाट ताप लिएर तल जरालाई दिने र जराबाट रासायनिक तत्व लिएर पातलाई दिने र आफ्नो पोषण तयार गर्ने बिधिलाई हामीले भुल्नु हुँदैन । प्रकृतिमा हुने असिना पानी वा घामको ताप माथिले खपेर तलकालाई आश्रय दिन्छ । हरेक शक्ति जीवन्त राख्न तल दह्रोसँग अडिन सक्नु पर्दछ । जग बलियो भए घर बलियो हुन्छ भन्ने मान्यता यसै स्थापित भएको होइन । माथि निर्णायक तह हो भने तल आधार तह हो । तर कहिलेकाहीँ माथिले तल हेर्दा तललाई गँवार देखिने र तलबाट माथि हेर्दा दम्भी देखिने अतिवादलाई सन्तुलनमा राख्न सकियो भने हरेक वस्तुको सापेक्ष सन्तुलन हुन्छ ।
राज्यका नागरिकलाई बाँध्ने भनेको राज्यले अख्तियार गरेको संहिताले हो तर पद र प्रतिष्ठामा हालिमुहाली गरेका पात्रहरू आफू नागरिक भन्दा पृथक रहेको दम्भ पाल्छन् र नैतिक मान्यता समेत कुल्चन्छन् । व्यक्ति वा समुदायभित्रको गरिबी र पछौटेपनलाई पनि तल्लोतहको भनेर बुझ्ने र व्यवहार गर्ने गरेको पनि पाइन्छ । वस्तुलाई चलायमान बनाइराख्न तलकाको समस्या माथिले र माथिको अल्झन तलकाले सन्तुलन मिलाउने व्यवहार तालिका मिल्यो भने तल र माथिको विभेद अन्त्य हुन्छ ।