छोरा, पर्देसमा नजा !

छोरा, पर्देसमा नजा !

शनिबारीय साहित्य : कविता

*** ***

 

हावा फोहोर भो, पानी पनि फोहोर पारियो

जीर्ण रोगी बनाएर लाखौँ मानिस मारियो

अन्न छन् बिख हालेका, उस्तै विषाक्त छन् फल

यो कुशासनमा केही पनि भेटिन्न निर्मल

 

बाटा मर्न हिँडे जस्ता छन् हिला कि धुलैधुला

बज्रिन्छन् बसका पाङ्ग्रा खाल्टा ढिस्का ठुला ठुला

फोहोरीको मनै मैलो, सफा छैन कहीँकतै

फोहोरो राजनीतिले फोहोर्यायो जताततै

 

शिक्षा स्वास्थ्य युवा बेचे, बेचे उद्यमका थल

कृषिकर्म थला पारे, झारे स्वाधीनता तल

यो बेलामा युवा नै ह‍ो बचेको अासको दियो

युवा जागे जुटे बल्लै देश यो फेरिने थियो

 

आ युवा अग्रमोर्चामा क्रान्तिकारी बनीकन

यो कुशासनका जम्मै जरा फालौँ खनीकन

समस्या र समस्याको थुप्रो देखी नहड्बडा

युवा हो जुक्तिको खानी, हो समाधानमा खडा

 

फाल्दे फोहोरका थुप्रा कुचीकार बनीकन

बाटो छेक्ने शिला फोर्दे चलाएर घनैघन

तँ नै भागिस् भने जम्मै खाने भो दुष्टले रस

बामा नित्य पुकार्दैछन् `छोरा यै देशमा बस´

                                    `छोरी यै देशमा बस´ 

 

बाल्यो जीवनको बत्ती, बाल्न सक्छ अझै पनि

पुर्खा यै भूमिले पाल्यो, पाल्न सक्छ अझै पनि

खोली उद्यमका दैला रोजगारी नयाँ चला

फलदायी छ यो धर्ती, रोपी गोडी सुनै फला

 

यही छन् रत्नका खानी, नयाँ विज्ञानले तँ खन्

अर्काको झिल्मिली ताक्ने बत्तीको पुतली न नबन्

ज्ञानका श्रमका तेरा कलाशिल्प यतै सजा

यहीँ छन् मुक्तिका बाटा, `छोरा पर्देसमा नजा´

                                       `छोरी पर्देशमा नजा´