जुगेडी हत्याकाण्ड : शिवरात्रीमा सेनाको ताण्डव

जुगेडी हत्याकाण्ड : शिवरात्रीमा सेनाको ताण्डव

२०६१ साल फाल्गुन ६ गते, शिवरात्रीको दिन ।
बिहान करिब साँढे चार/ पाँच बजे , जुगेडी बजार भोटेढाप : चितवन ।
सडकमा गाडीहरू पातलै थिए ।

फाट्टफुट्ट मात्रै गाडिहरु पार भएका थिए । अचानक नारायणगढ तिरबाट सेनाको गाडी आएर घ्याच्च रोकियो । तिर्की चेपाङ र अञ्जु गुरुङ हातमा टिकाको थाली लिएर गाडी तर्फ गए । तिर्किले टीका लगाइ दिन सेनाका मान्छेको निधार तर्फ हात बढाइन । अर्को तर्फबाट उनको निधारमा पेस्तोल राखेर गोलि दागियो । ड्याङ ड्याङ ड्याङ गोलि चल्यो । ठाउँको ठाउँमा तिर्किको हत्या गर्यो सेनाले । कसैले केही बुझ्न पाउन त्यो भन्दा पहिल्यै बिराज गुरुङ र उनका भाइ सुनिल पनि गोलिको सिकार भए । तिर्की संगै रहेकी अञ्जु गुरुङको देब्रे फिला र कोखामा गोलि लाग्यो र उनी पनि ढलिन । अन्जुकै मामाका छोरा खेम गुरुङ पनि सेनाको गोलि लागि घाइते भए । खेमको दाहिने पाता गोलिले छेड्यो । अञ्जुको कोखाबाट गोलि आरपार भयो ।
जुगेडी बजार रगतको आहालमा फेरियो ।

नेपाली समाजमा मुर्कट्टाहरु मध्यरातमा आउँछ भन्छन् तर यहाँ एकाबिहानै आयो , त्यो पनि सेनाको भेषमा । कवि अनिल श्रेष्ठले लेखेका छन्
मुर्कट्टाका विशेष मुद्राहरु
देखिएका छन् शहरको मध्यभागमा
र एकाएक शहर
मुर्कट्टाहरुको क्रिडास्थल
बनेको छ–मध्यरातमा मुर्कट्टा 

फागुनको महिना घामको उज्यालो डाडाको कापबाट सडकमा आइ पुगेकै थिएन । झिसमिसे समय थियोे । जुगेडिकै खेमबहादुर गुरुङ र बिराज गुरुङ बिराजकै घर अगाडि आगो बालेर मुढा सल्काउदै थिए । यी युवाहरू शिवरात्रीको रमाइलोको तयारीमा थिए ।
मुग्लिङ नारायणगढ सडकको जुगेडिमा बिराजहरुको घर नेर युवा केटाकेटी भेला हुन थाली सकेका थिए । सडकमा गाडी वा मान्छे रोकेर टीका प्रसाद लगाईदिने र पैसा माग्ने एउटा नराम्रो चलन समाजमा चल्दै आइरहेको छ । यो चलनको कुनै धार्मिक र सांस्कृतिक महत्त्व र मान्यता पनि छैन । तरपनी फागु , शिवरात्री , सरस्वती पुजा जस्ता पर्वहरुमा यस्तो कुचलन भने झन्झन् बढ्दो छ । त्यस दिन पनि उनिहरु त्यसरीनै साथी भाइ जम्मा भएर रमाइलो गर्ने र पैसा उठाउने तयारीमा रहेछन् ।
उनिहरुले सडकको वारपार हुनेगरी बाँसको ढाट पनि बनाए । सडकको वारिपारी भएर उनिहरु पनि उभिए ।

कबिलासका माओवादी नेता सन्तोष श्रेष्ठ त्यो घटना सम्झदै भन्छन ‘ मास्तिर गाउँमा सेना पुलिसले ‘सर्च‘’गरि रहने हुनाले मान्छेहरु पनि सतर्क बस्थे । तलका ९बजारका० मानिसहरुले सेनाले हामीलाई केही पनि गर्दैन भनेर निस्फिक्री बस्नको कारण त्यत्रो ठूलो नरसंहार मच्चिएको हुनसक्छ । ‘ बजार वरपरका मान्छेहरुले सेना पुलिसको ओहोरदोहोर मात्रै देखेका थिए , चरित्र देखे भोगेका थिएनन् ।

तिर्किलाई गोलि लागेर ढली सकेपछि पनि त्यहाँ भएका युवाहरूले के भएको हो भन्ने थाहा नपाएकाले तत्कालै भागेनन । उनिहरुको कुनै दोष थिएन । सेनाले माओवादी भनेर गोलि हानेको भएपनी उनिहरु माओवादी थिएनन् , त्यसैले उनिहरुले भाग्ने कुरा सोच्दै सोचेनन् । सेना पुलिसले युद्धमा भएका माओवादीहरुलाई मात्रै मार्छ , अरुको त सुरक्षा पो गर्छ भन्ने एकोहोरो बुझाईले गर्दा उनिहरु भागेनन ।

सेनाले अगाडि बढेर फाइरिङ गर्न थाल्यो । बिराज गुरुङलाई गोलि लाग्यो , उनी त्यहीँ ढले । त्यसपछि भागाभाग भयो । बिराजकै भाइ सुनिल पनि गोलि लागेर ढले ।

शिवरात्रीको बिहानै सेनाको ताण्डव शुरु भयो । ताण्डव , हत्याको नांगो नाच । शिवरात्री कालरात्रीमा फेरियो ।

बिराज र सुनिल दुई दाजुभाइ थिए । इन्द्रबहादुर र लालश्री गुरुङका तीन भाइ छोरा मध्ये बिराज जेठा र सुनिल माइला थिए । बिराजको जन्म २०४२,साउन ५ गते भएको थियो । सुनिल बिराज भन्दा पाँच वर्ष कान्छा थिए । उनको जन्म २०४७ , असोज ९ गते भएको थियो । उनिहरु दुवै जना कविलास मावी पढेका थिए ।

कबिलास बेलडाडाका पुण्टे चेपाङ र सानुमाया चेपाङकि छोरी तिर्की चेपाङ इन्द्रबहादुर गुरुङको घरमा काम गर्न बसेकी थिइन् । उनको जन्म २०४३ चैत ६ गते भएको थियो । बाआमाका धेरै छोराछोरी त्यसमाथि गरिबिले उनलाई बालखैमा अर्काको घरमा काम गर्न बाध्य पार्यो । एउटा सहज जीवनको आशमा रहेकी उनको जीवन सत्ताको सनकको बलि चड्यो ।

‘बिराज, सुनिल र तिर्की कोहि पनि माओवादी थिएनन । तर सेनाले जनतालाई माओवादी भनेर हत्या गरेको कारण उनिहरुलाई सहिदको सुचिमा युद्धकालमै राखिएको ‘ गणेश लामिछाने भन्छन् ।

जुगेडिकै सपनी लामा भन्छिन् ‘ म त्यस्तै बाह्र तेर वर्षको थिएँ हुँला । एकाबिहानै गोलि चलेको सुनियो । हाम्रो घरपनि त्यँहि नजिकै हो । नजिकै एकोहोरो गोलि चलेपछि बेस्सरी डर लाग्यो । शान्त भएपछि थाहा पाएको बिराज, सुनिल र तिर्कीलाई सेनाले मारी सकेको रैछ । ‘ बाल्यकालको त्यो घटना अहिलेसम्म पनि उनको सम्झनामा उत्तिकै ताजै छ ।

घटना पछी खेम र अञ्जुलाई अस्पताल लगियो । अञ्जुको कोखा छेडेर गोलि गएको थियो । उनको आन्द्रा काटिएको थियो ।

‘ धन्न सिक्सरको सानो गोलि भएर मात्र उनिहरु चैं बाँचे । अरु ठुलो गोलि भएको भए यिनिहरु पनि बाच्ने सम्भावना हुन्नथ्यो होला ।’ सन्तोष श्रेष्ठको आफ्नै विश्लेषण छ ।

‘साह्रै दुख पो पायो त अञ्जुले । उसलाई बच्चा पाउन पनि खतरा छ भनेको थियो अरे डाक्टरले । अहिले दमौली हो कि आँबुखैरेनी कता बिहे गरेको छ । एउटा छोरा पनि पाएको छ ।’ आफ्ना साथी दौंतरीहरुले खाएको चोटको डाम सपनी लामाको मनमा अझैसम्म मेटिएको छैन ।

अञ्जु गुरुङ दुई महिना बढी भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गरे पछी अहिले घाइते जिन्दगी बाँची रहेकी छन् । त्यो घटनाको एक वर्ष पछी एउटा राम्रो केटा खोजेर परिवारले उनको विवाह गर्दियो । उनी भन्छिन ‘ बाहिर फेरको काम गर्न सक्दिनँ । शरिरले चिसो सहन पनि सक्दैन । जाडो बढेपछि त शरीर चस्किने हुन्छ । धेरै गाह्रो छ । ‘

अञ्जुकै साखै दाजु भुपाल पनि त्यो दिन त्यहीँ थिए , उनले भागेर ज्यान जोगाए । ‘अरु पन्द्र बीस जना मान्छे थियो होला । अरु चाहिँ कोहि घर भित्र पसेर बाँच्यो , कोहि तलतिर भागेर बाँच्यो । नभागेको भए सबैलाई भुट्ने रहेछ ‘ अञ्जुलाई त्यो दिन सम्झँदा पनि डर लागेर आउँछ ।

सेना आयो भने भाग्नु हुँदैन । भाग्यो भने माओवादी भनेर मार्छ भन्ने सुनेका थिए खेमहरुले । त्यसैले गर्दा उनिहरु भागेनन् ।

जुगेडिमा त्यसपछि गाइगुँइ हल्ला चल्यो , एउटा तेलको ट्यांकरले आँपटारिमा रहेको सेनालाई जुगेडिमा माओवादीले पैसा उठाउँदै छन भनेर खबर गरेकोले सेनाले त्यस्तो गर्यो , भनेर । यदि त्यस्तो हो भने पनि आएको सुचनालाई एकपटक पनि ‘भेरिफाई’ गरेन सेनाले । यदि माओवादी हुन्थे भने उनिहरु सेन्ट्री बसेका हुन्थे । नभएपनि यताबाट गोलि चलेपछि उताबाट जवाफी फाइरिङ हुन्थ्यो । माओवादी कार्यकर्ता हुन्थे भने सेनाको वा अरु कुनै गाडी आएर त्यसरी रोकिँदा या त पोजिसन लिएर बस्थे नत्र भागी सक्थे । त्यसरी ‘इनोसेन्ट्ली‘ उल्टै सेनालाई टीका लगाइदिन जाने थिएनन् ।

एक दुई फायर पछी केही नभएपछि त सेनाले गोलि चलाउनु पर्ने कुनै कारण थिएन । तर कसैलाई इन्काउण्टर गरेर प्रमोसन पाइने भएपछी अर्काको ज्यान भन्दा फुलि नै प्यारो हुँदोरहेछ ।

‘ यता गोलि चल्न थालेपछि हामी त चितुवा टाप ठोकेर जंगल पुगि सकेको थियौं ‘ जुगेडी भन्दा माथी डाडाको भार्लाङ्गका बासिन्दा सन्तोष श्रेष्ठ भन्छन् ।

खेम गुरुङ त्यही बीस वर्ष हाराहारीका थिए होलान । आज त्यो घटना घटेको पनि बीस वर्ष पूरा हुँदै छ तर आफुहरु माथी किन सेनाले गोलि चलायो भनेर खेमले अहिलेसम्म बुझ्न सकेका छैनन् । देशकै रक्षा गर्ने भनिएको सेनाले आफ्ना साथीहरूको हत्या किन गर्यो उनको मनमा प्रश्न उठ्छ र त्यसै सेलाउँछ ।

शाही सेनाको बर्बरताको सिकार यस्ता युवाहरु भए , जो कहिले पनि माओवादी समर्थक थिएनन् । माओवादी पार्टीसंग तिनका परिवारका कोहिपनि संलग्न थिएनन् तर पनि राज्यले उनीहरुको हत्या गर्यो । उनिहरु सबै निस्शस्त्र थिए । सेनालाई यिनिहरु माओवादी हुन कि भनेर शंकै लागेको भए पनि गिरफ्तार गरेर सोधपुछ गर्न सक्थ्यो । तर विवेक ( विचार )  ले नियन्त्रण नगरेको बन्दुकलाई अरु कुनै कुराले नियन्त्रण नगर्ने रहेछ । जनयुद्धका क्रममा माओवादीका पक्षबाट भएका कतिपय घटना र दुर्घटनाको एउटा पाटो उप्काएर माओवादीलाई अपराधि सावित गराउन खोज्ने कथित मानव अधिकारवादीहरु यो घटना प्रति पुरै चुपचाप छन् । बिच ’राजमार्ग‘ मा छ्यांछ्याङ्ग्ती देखिने गरि राज्य नियन्त्रीत सेनाले मच्चाएको हत्याकाण्ड बारे कसैले पनि छानबिन गरेन ।
एकाबिहानै आफ्ना दुइछोरा र लालश्री गुरुङको कानको जाली फाट्ला जस्तो भयो । कसैले कसरी खप्नु सक्छ र रु आँखै अगाडि आफ्ना मुटुका टुक्रा गोलि लागेर छट्पटीएको , त्यो चिच्याहट अनि आफू परै बसेर चियाएर हेरिरहन बाध्य आमाबुबाको स्थिति कस्तो भयो होला । उफ १ त्यो भन्दा बीभत्स र कारुणिक दृश्य के होला र ।
के कुनैदिन यस्ता अपराधको पनि हिसाब होला र रु क्रान्तिको आगो निभेको बेलामा यस्ता प्रश्नले चिमोटी रहन्छ ।