चार किसान संगठनहरुको संयुक्त माग

चार किसान संगठनहरुको संयुक्त माग

काठमाडौं, २५ फागुन । बिभिन्न कम्युनिस्ट पार्टी सम्बद्ध चार किसान संगठनहरुले सहकारी, लघुवित्त र मिटरब्याज पीडित किसानका समस्या तत्कालै समाधानगर्न सरकारसँग मागगरेका छन् । हिजो एक संयुक्त प्रेसवक्तव्य जारीगर्दै उनीहरुले यस्तो माग गरेका हुन् । वक्तव्यमा उनीहरुले दुध र उखुकिसानका बक्यौता हर्जाना र ब्याजसहित भुक्तान गर्नुपर्ने, कृषिआयात बन्द गर्नुपर्ने, भूमि बैंक रोक्नुपर्नेलगायतका माग राखेका छन् ।
अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षरमा जारी गरिएको प्रेसवक्तव्यमा नेपाली कृषि र किसानका वर्षौंदेखि थातीरहेका र दिनप्रतिदिन चर्किंदै आएका गम्भीर समस्या हल गरेर कृषिलाई सही दिशा दिने राष्ट्रिय पूँजीको विकास र प्रवद्र्धनगर्दै रोजगारी पैदागर्ने, कृषिआयात प्रतिस्थापनगर्ने, युवाको पलायन रोक्ने र राष्ट्रलाई समुन्नत दिशातर्फ अग्रसर गराउने र यसरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधार सबल तुल्याउन कृषि क्षेत्रमा राष्ट्रिय महत्वमा आधारभूत र अपरिहार्य कदम चाल्नुको सट्टा किसानका बिभिन्न तह र तप्काले उठाएका जायज माग र आन्दोलनलाई अल्मल्याउने, समस्याको सही समाधान नखोज्ने बरु उल्टै दबाउने जुन गतिविधि अहिले सम्मका सरकारले गर्दैआएका छन्, त्यसप्रति चार किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि छवटा किसान संगठनहरुले समस्या समाधानका लागि पटक,पटक प्रस्तुत गरेका ६५ सूत्रीय मागलाई पनि वर्षौंदेखि झुलाउँदै बेवास्ता गरेको र हाल किसानको उठिवास गराउने किसानमारा मिटरब्याजे, लघुवित्त र भ्रष्ट सहकारीको तीव्र शोषण तथा उखु किसान र दुधकिसानले समयमा पाउनुपर्ने रकम पनि महिनौँमहिनासम्म किसानलाई उपलब्ध नगराएर बिचौलिया, सुदखोर र दलाललाई पोस्ने तथा किसान र उपभोक्तालाई निरन्तर मारमापार्ने जनविरोधी नीतिको हामी जोडदार विरोध गर्दछौँ भनिएको छ ।