काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा शुक्रबार पार्टी कार्यालय कुपण्डोलमा विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ की संयोजक अनु निरौलाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरु पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, पार्टीकी केन्द्रीय सल्लाहकार सरला रेग्मी, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनकी केन्द्रीय संयोजक इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी)की केन्द्रीय सहसंयोजक तथा छात्रा विभागकी संयोजक रुपा बुढा, अखिल नेपाल जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्य तथा प्रदेश ३ की संयोजक गौरी देवकोटा लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वको विषयमा प्रकाश पार्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा किसान नेता सीताराम तामाङ, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, अखिल नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली लगायत नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा क्रान्तिकारी महिला संगठनका केन्द्रीय सदस्यहरु विष्णु न्यौपाने, मधु श्रेष्ठ, सुस्मा वैद्यले गीत तथा कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पार्टी तथा संगठनका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।