मुक्तिको खोजीमा

मुक्तिको खोजीमा

 
जङ्गलबाट गाउँ
गाउँबाट सहर
बर्सौं हिंडिसक्दा पनि
भेटिएको छैन
सुरक्षित कुनै ठाउँ
बन्दुक भाला तरबार
हँसियाहथौडा बोकेरै
लडियो थुप्रैपटक युद्ध
फेरि पनि
हामी अर्थात् नारी
अनकन्टार बेसीमै खुम्चियौं
हाम्रो उचाइको शिखरमा
अर्कै पो झन्डा ठडियो
के पो गरिएन
मुक्ति सपना खातिर
अँध्यारो कालकोठरीमा
गुम्सिएन कि
थरीथरीका बर्बरता
भोगिएन कि
मानिस जस्ता मानिसबाट
हरेक युगमा
फरकफरक किसिमबाट
लुटिएन कि
आँखा नाक कान जिभ्रो
थुतिएन काटिएन कि
अझैसम्म
किसिम किसिमका
पुराना र नयाँ
किताब धर्मग्रन्थ उपदेश
ज्ञान विज्ञान डिजिटल
सबै सबैबाट भएको छ
आक्रमण अपहरण हत्या
खोजीमै छौं
मुक्ति निर्बन्धताका लागि
अहिले पनि
सोचिरहेछौं
कुनै यस जमानाको
विस्मयकारी हतियार