अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे”माथि दाङमा विमर्श

अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे”माथि दाङमा विमर्श

दाङ, भाद्र २०
साहित्यकार, कवि घनश्याम अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता हुनुहुन्थ्यो ।
कृतिका विषयमा विचार राख्ने शिलशिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुन्छन् । यो कृतिले साहित्यिक धर्म निर्वाह गरेको छ बताउँदै कृति भित्रका रचनाहरुले “चिहानमाथि महल बनाइरहेको मान्छे”लाई आलोचनात्मक यथार्थवादको जगमा उभ्याएको बताउनुभएको थियो । त्यसैगरी अर्का वक्ता साहित्यकार डाँगीले यो कृतिमा संग्रहित कविताहरुले प्रतिक र विम्बको प्रयोग नवीन ढंगले गरेको विचार व्यक्त गर्नुभयो । फुटकर कविताहरु पढेको स्मरण गर्दै पुस्तक यो स्तरको होला भन्ने लागेको थिएन तर यसको स्तरीयताबाट म आफू प्रभावित भए भन्ने कुरा बताउनुभयो ।

त्यसैगरी साहित्यकार देवकोटाले कृति विद्रोहात्मक चेतले भरिभराउ भएको र नेपाली समाजको यथार्थ चित्रण गरेको बताउनुभयो । सहजकर्ता अभिलाषीले राखेका जिज्ञासाहरु मेटाउने शिलशिलामा वक्ताहरुले थप लामालामा प्रतिक्रियाहरु दिएका थिए । सहजकर्ताले उठाएका जिज्ञासाहरुलाई कृतिकार अस्तित्वले काव्यात्मक शैलीमा जवाफ दिनुभएको थियोे र उहाँले कृतिभित्रका दुइ कविताहरु वाचन गरेर सुनाउनु भएको थियो । त्यसका साथसाथै उपस्थित चन्द्रराज पन्त, नवीन श्रेष्ठ, पदम पोख्रेल लगायतले आआफ्ना जिज्ञासाहरु राख्नुभएको थियो भने वाम विश्लेषकहरु शुशील गौतम, शशिधर भण्डारी, राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टिकाराम उदासीले कृति र कृतिकारका सम्बन्धमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
विमर्शमा सहभागि वक्ताहरुलाई उदाहरण समूहका अभियन्ता एवं साहित्यकार खेमराज गाउँलेले मायाको चिनो उपहार स्वरुप प्रदान गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार तथा पत्रकारहरुको घनिभूत उपस्थिति थियो ।