काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठन, नेपालले १३१ औं माओ जयन्तीको अवसर पारेर काठमाडौंमा युवाहरुको विशाल लालमार्च प्रदर्शन गरेको छ । लालमार्चको नेतृत्व स्वयम् मोहन वैद्य किरणले गर्नुभएको थियो । लालमार्चमा दलाल राज्यव्यवस्था र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

 

खुल्लामञ्चबाट निकालिएको लालमार्च जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, वीरअस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत भएको थियो ।

अध्यक्ष किरणले मशाल बालेर र झण्डा उत्तोलन गरेर माओदिवस समारोहको उद्घाटन गर्नुभएको थियो । क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिश भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष किरणले विशेष सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा युवा नेता उदयबहादुर चलाउने दिपक, अखिल (क्रान्तिकारी)का संयोजक मिलन राई लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

समारोह चलिरहेको बेला प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्ने प्रयास गरेको थियो । युवाहरुले त्यसको संयमतापूर्वक सशक्त प्रतिरोध गरेपछि स्थिति साम्य भएको थियो र कार्यक्रम सुचारु रुपमा अगाडि बढेको थियो ।
कार्यक्रमको बीच बीचमा सामना साँस्कृतिक परिवारले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर