“अस्थायी संयुक्त सरकार”काे विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम (फाेटाेफिचर)

“अस्थायी संयुक्त सरकार”काे विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम (फाेटाेफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीको तात्कालिक कार्यनीतिकाे विषयमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ । जमलस्थित हाेटेल एल्लाे प्यागाेडा हाेटलमा आयाेजित अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष माेहन वैद्य किरणले “पार्टीको तात्कालिक कार्यनीतिक सरकारसम्बन्धी अवधारणा” प्रस्तुत गर्नु भएकाे छ ।
पार्टीका बरिष्ठ नेता सिपी गजुरेलकाे अध्यक्षता र पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला कञ्चनकाे सञ्चालनमा भएकाे अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य पार्टीका नेता रामसिंह श्रीसले गर्नु भएकाे थियाे ।


कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि नेकपाका अध्यक्षद्वय ऋषि कट्टेल, लाेकनारायण सुवेदी, नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढा, क्रान्तिकारी संयुक्त माेर्चाका पुष्कर गाैतम, नारायण शर्मा, नेकपा (राताेतारा)का संयाेजक लक्ष्मण उप्रेती, राजनीतिक संवाद थालनीका संगीतस्राेेता लगायतका नेताहरुले टिप्पणी राखेेका छन् ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल असारेकाका लगायतका नेताहरुकाे उपस्थिति रहेकाे छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव पारित गरेको थियाे । पार्टीले उक्त कार्यनीतिको आवश्यकता, औचित्य र महत्वबारे अन्तरक्रिया र छलफलका लागि अवधारण पत्रसमेत सार्वजनिक गरेको हाे । यस कार्यनीतिका पाँचवटा विशेषताहरू उल्लेख गरिएका छन् ।
अस्थायी संयुक्त सरकारका काम के हुन् त ? भनेर व्याख्या समेत गरिएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस सरकारले संघर्षका उपलब्धिहरूको रक्षा सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ।’
त्यस्तै उक्त कार्यनीतिको कार्यान्वयनका लागि सर्वप्रथम देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी राष्ट्रिय सम्मेलनको आयोजना र त्यसै सम्मेलनमार्फत क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणमा जोड दिइएको छ । यस्तो संयुक्त मोर्चा एकातिर त्यसप्रकारका राजनीतिक दल र अर्कोतिर जनवर्ग तथा समुदायका प्रतिनिधिहरूलाई सम्मिलित गरी बनाइने बताइएको छ ।
यसैगरी पार्टीको राजनीतिक प्रतिवेदनमा बताइए अनुसार सो संयुक्त मोर्चाका मूलतः दुईओटा काम हुनेछन् । संघर्षको साधनको रूपमा संयुक्त मोर्चा र सरकारका रूपमा संयुक्त मोर्चा । त्यसैले प्रारम्भमा संयुक्त मोर्चाले वर्तमान राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध संघर्ष गर्नेछ र संघर्षको सफलता पश्चात् त्यसै संयुक्त मोर्चाको सरकार निर्माण हुनेछ ।
यसमा पार्टीले संघर्षको स्वरूपको बारेमा पनि चर्चा गरेको छ । संयुक्त मोर्चा मार्फत गरिने त्यस प्रकारको संघर्ष प्रभावकारी जुझारु जनसंघर्ष र प्रतिरोध संघर्षमा आधारित हुनेछ । ’हामी सिद्धान्ततस् कुन कुरामा स्पष्ट छौँ भने क्रान्तिका लागि बल प्रयोगको भूमिका अनिवार्य हुन्छ । परन्तु, अहिल्यै हामीले त्यो कुरा उठाएका छैनौँ । र त्यसको निर्धारण संघर्षको विकासको प्रक्रिया तथा परिस्थितिमा निर्भर हुनेछ,’ अवधारणामा भनिएको छ ।
रणनीति र कार्यनीतिका बिच द्वन्द्वात्मक सम्बन्ध हुने बताउँदै कार्यनीतिको काम रणनीतिको सेवा गर्नु रहेको पनि त्यहाँ उल्लेख छ । त्यसैले राजनीतिक प्रतिवेदन भन्दछ, ‘यस प्रकारको कार्यनीति एकातिर आम जनताका तात्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ । पार्टीको कार्यनीति एकातिर जनताको तात्कालिक हित र अर्कोतिर दीर्घकालीन उद्देश्यमा आधारित हुनुपर्दछ । यहाँ ती दुवै पक्षलाई आवश्यक ध्यान दिइएको छ ।’
अब देश र जनताका लागि वर्तमान राज्यसत्ता, व्यवस्था र संसद्वादी राजनीतिक दलहरूको विरोधमा सशक्त, क्रान्तिकारी र अग्रगामी विकल्प चाहिएको पार्टीको ठहर छ । त्यस प्रकारको विकल्पबारे हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, कान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तात्कालिक राजनीतिक कार्यनीति हुनेछ ।’