जाम् हिँड

जाम् हिँड

शनिबारीय साहित्य : कविता
***

सहर पसेपछि नै भुलेकाहुन् बाहरूले
सहर पस्नुको उद्देश्य !
बाहरू सहर पसेपछि
सँगसँगै सति गएको हो गाउँको इमान
पट्यारलाग्दो गरि कुरी बस्यो
उद्देश्यले गाउँमैे
अँह,सम्झेनन् बाहरूले ।

यसको बिचल्ली भयो
पुर्याएर फर्किन्छु,भन्दै
बस चढाएथे दाइले
दाइकै साथमा गएकी हो दिदी पनि
आफूहरू मात्रै ओर्लिएछन् सहरमा
हुईंक्याएछ बसले
अन्योल दिशातिर उसलाई

सहर पसेपछि नै भुलेका हुन्
दाइ दिदीले गाउँको दु:ख
दु:खसँगै भुलेका हुन्
गाउँ फर्किन
उनीहरू नआए पनि
आउथ्यो खबर कहिलेकाहीँ
दु:खको बीउ मास्ने कसम बोकेर

पछिसम्म आइरहेथ्यो
कहिले कथाका पानाहरूमा
कहिले कविताका लयहरूमा
दाइ दिदी उतै ब्यस्त भए हुन्
आफ्नै सुख थप्न
अहिले त कसमले पनि भुलेछ बाटो
वर्षौँ भयो छैन देखभेट

बाहरूले टुहुरो बनाएपछि उद्देश्यलाई
दाइ दिदीले भुलेपछि कसम
भेटिन्नन् गाउँमा गाउँहरू
बाटो लाग्छ अचेल
खुट्टा लाग्ने बित्तिकै
फर्केका छैनन् अहिलेसम्म
कुनै छोराछोरी
गाउँ बोकेर

दशैँ आयो,गाउँ आएन
तिहार आयो,गाउँ आएन
आए चाडवाडसँगै
केही परदेशी
लोभ्याए रहेलपहेल गाउँलाई
तर लोभलाग्दो बनाउन
कोही आएन

जति जान्छन् आँफै बद्लिन्छन्
जे लैजान्छन् त्यै हराउँछन्
हाम्रा लागि सदैव प्रतिकूल
गाउँ खाने सहर
जाम् हिड् साने !
सदाका लागि बन्द गराइदिम्
गाउँ उडाउने उद्योग
भत्काइदिम्
उद्देश्यलाई लापत्ता बनाउने थिएटर
अति भयो,जाम् सानी
भएन यसरी
जाम् हिड् !