शनिबारीय साहित्य : कबिता
***
समयको पर्खाइमा छु
एकदिन
म पनि
दुस्मनको
ढाडमा टेकेर
टाउकोमा हिर्काउने छु ।
+++
आलै होला शहिदको रगत
मुछिएको त्यो माटो
एकमुठी माटो उठाएर हेर त
रगतको गन्ध सुँघ त
कति छिट्टै बिर्सेको
दलाल पुजीवादी नोकरशाहरू
भुमाफिया, तस्कर, ज्यानमारा
भ्रष्टाचारी
बलात्कारी
कमिसनखोर
गुण्डा नाइकेहरू
नातावादी, कृपावादी, फरियावादी
बेसरम नक्कली कम्युनिस्टहरू
हो कति छिट्टै बिर्सेको
संसार बदल्न हिँडेका कसमहरू
संसार जित्न हिँडेका कदमहरू
+++
बिर्स्यौ , सब बिर्स्यौ – निरर्थक सपना जस्तो
भोकैभोकै कति दिन मैले झुपडीमा पालेको हुँ तिमिलाई
तिमीलाई बचाउन कति चोटि मैले छाती थापेको हुँ
कति सुत्केरीको स्याहार गरें
कति घायलहरूको उपचार गरें
कति न्यानो माया र सद्भाव हुन्थ्यो त्यहाँ
बिर्स्यौ, सब
राइफलको सिरानी हाली
सँगै सुतेका ओछ्यानहरू
लडाइका मोर्चाहरू
दुस्मनको किल्ला भत्काएका अविस्मरणीय क्षणहरू
हो ,
तिमी घाइते हुँदा
मैले नै त रात रात भर बोकेको धिएँ नि त
दह्रो गरी मिलाएका हातहरू
सँगसँगै हिँडेका पदचाप र पाइलाहरू
हो , आज सब बिर्यौ नि
बरु
तरखर छन् अहोरात्र तानाशाह बन्न
आममाफी बनाउन
बगरेहरू ।
+++
अब त झुपडीहरू गन्ध आउँछन्
लाग्दैन मीठो नींद गुन्द्रीमा
त्यो गाउँको गोरेटोमा पाइलाहरू बिझाउँछन्
आटोपीठो ढीडो छिर्दैन
त्यो मूलको पानी पनि पच्दैन
त्यो गाउँमा देख्दैनन् आफ्नो सुरक्षा
त्यहाँ बस्नेहरू त पाखे हुन् ।
+++
आजभोलि त
हजारौंको बलिदानीको भर्याङबाट माथि उक्लिएर
हजारौं सहिदको रगतको होली खेल्ने
बिदेशी ह्वीस्की र होली वाइनमा डुबी
सुन्दरीहरूसँग नाचेर मस्ती गर्दै
धर्म र संस्कृतिका मुल्य र मान्यतालाई सिध्याउने
देशको ढुकुटी रित्याउने
गरीव दुखीको पसिनाको अबमूल्यन गर्ने
चारैतिर पालेपहराले घेरिएको
आलिशान बङ्गलाको
भव्य बैठक
शयन कक्ष
राजर्शी पलङ
मुलायम डसना, तकिया र चादर
किचन रूम
दिनहुँजसो भोज र मोज
बिदेशी तालिम प्राप्त कुकुर
तर पनि निंद छैन नि कमरेड आँखामा
शान्ति छैन नि कमरेड आत्मामा
जुन शान्ति र विश्वास गरीवको झुपडीमा पाएका थियौ हिंजो
तिनै झुपडीका जनताको नाङ्गो ढाडमा
करैकरको गरुङ्गो भारी बोकाएर
टाउकोमा नाचिरहेछौ
बिदेशी बैंकमा अरबौं डलर थुपारेर
सर्वहारा हुँ भन्ने
अनि नाम मात्रको सम्पत्ति विवरण पेस गर्ने
र
खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने
वा ! फाँसीवादी नक्कली कमरेडहरू
सुविधासम्पन्न कुनै सम्भ्रान्त जस्तो
कुनै बादशाह जस्तो
वा ! कमरेड ! नयाँ प्रयोग!
+++
विज्ञ, सक्कली र इमान्दार कार्कर्तालाई पाखा लगाएर
झोले, नक्कली , चैते, भुसतिघ्रे हनुमानहरूलाई
अघिपछि लगाएर हिंडिरहेछन्
उनकै सुझाव लिन्छन्
र फेर्छन् शान्तिको स्वास
अनि
बिदेशी प्रभूका अगाडि लम्पसार परी
गरिरहेछन् सास्टाङ्ग डण्डवत प्रणाम
र
दिइरहेछन् हावा गफ
बजाइरहेछ्न् बाँसुरी
वा ! धन्य !
बुर्जुवा महान कमरेड!!
लाल सलाम!!!
+++
सम्झना छ कि छैन ?
यो पनि बिर्स्यौ कि ?
इन्काउन्टरमा मर्दैन आस्था
बम बारुदले जल्दैन आस्था
गर्जनले डर्दैन आस्था
भुकम्पले पनि ढल्दैन आस्थाको धरोहर
न त जेलनेलको पर्खालभित्र थुनिन्छ बिचार
हजारौं निर्दोशलाई निर्ममतापूर्वक हत्या गरी
अट्टहास गर्यौ
भोजभतेर गर्यौ
थुप्रै आमा दिदीबहिनीहरूलाई रुवायौ
सिउँदो पुछ्यौ
कैयौं बालबालिकालाई टुहुरा बनायौ
कैयौं अझैं बेपत्ता छन्
कैयौं अपाँङ्ग छन्
कति दर्दनाक र भयावह जीवन
अझैं सहिदको रगत आलै छ
अझैं बगिरहेछ आँशु गाउँहरूमा
हिम्मत भए
एक पटक पछाडि फर्केर हेर त
बस्, तिमी मुस्कुराइरहेछौ
गरीवको रगत, रगत होइन
आँशु, आँशु होइन
फगत पानी हो
शरीर , शरीर होइन
फगत, काठको मुढा हो
आफूलाई त मर्न डर लाग्दोरहेछ नि !
आफ्नो सन्तान मर्दा त पीडा हुँदोरहेछ नि !
मन थामिदोरहेनछ नि !
आँशु भल्भल्ती बग्दोरहेछ नि त !
कि कसो कमरेड!
वा ! कमरेड !!
+++
हो म पनि
समयको पर्खाइमा छु
एकदिन
म पनि
दुस्मनको
ढाडमा टेकेर
टाउकोमा हिर्काउने छु ।