पुरुष दशैं

पुरुष दशैं

शनिबारीय साहित्य : कविता 

***

हरेक बर्ष जब आउँछ
घर घरमा दशैं
टोल टोलमा पुजिन्छन्
माटोको दुर्गा
घरघरमा पढिन्छन्
कागजकी दुर्गा
खान्छिन निर्जीव दुर्गाले
एउटा जीवको रगत
नुहाउँछिन् महिषासुरको रगतमा ।

म पढ्छु मिथिकिय दशैं
म हेर्छु नाटकिय दशैं
म सुन्छु रेडियोका स्वरहरु
पढ्छु अखबारका हरफहरु
महिषासुरका नङ्ग्राले
टोल बस्तिमा घाइतेछन्
जीवित देवीहरु
चिथोरिएकी, कोपरिएकी,
कुटिएकी, काटिएकी,
रगतमा लतपतिएकी
महिषासुरको पुरुष दशैं
संस्कारको विपठन गरेर
बहादुर बन्छ पुरुष
निर्जीव दुर्गाको
स्तुति गर्ने पुरुष
निर्जीव दुर्गाको
मुर्ति कुँद्ने पुरुष
जिवित दुर्गाको
रगत चुस्ने पुरुष
थुक्क पुरुष !