काठमाडौँ । सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजना अनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क गरेको हो ।
त्यसरी रातो लेन मार्क गरिएको सो सडकमा बुधबारदेखि द्रूत बस सेवा सुरू गरिएको छ । शान्तिबाटिकामा आयोजित एक समारोहका बीच बधुबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका द्रूत बस सेवाको शुभारम्भ गरेका छन् । अब रत्नपार्क–सूर्यविनायक सडक खण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन गरिनेछ ।
सो खण्डमा प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यतिसम्म कि ती बसहरू सडक बत्तीमा समेत रोक्नुपर्नेछैन ।
काठमाडौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दुरी १३ किमि छ । तर अहिले सो खण्डमा सार्वजनिक यातायातबाट यात्रा गर्न दुई घण्टासम्म लाग्छ । द्रूत बस सेवा सञ्चालन भएपछि भने यो सडक पार गर्न ४५ मिनेटमात्रै लाग्नेछ ।
मन्त्री ज्वालाले सार्वजनिक यातायातको साधन चढेर पनि समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने धारणाको विकास गराउन र उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो सेवा प्रारम्भ गरिएको बताए । ‘रत्नपार्कदेखि सूर्यविनायकको दुरी १३ किमिमात्रै हो । तर अहिले यहाँ दुई घण्टा समय लाग्दो रहेछ,’ उनले भने, तर द्रूत बस सेवामा तत्काल यो समयलाई ४५ मिनेटमा झार्न सकिएला । सबै व्यवस्थित भएपछि यसलाई आधा घण्टामा ल्याउन सकिन्छ भन्ने लागेको छ ।
मन्त्री ज्वालाले सरकारले अहिले यो सडक खण्डमा नमुनाका रुपमा यस्तो सेवा सुरु गरेको र यसलाई उपत्यकाका अन्य सडकहरूमा पनि विस्तार गरिने बताए । ‘यो सेवा यतिमै सीमित हुँदैन, यसलाई उपत्यकाका अन्य सडकहरूमा पनि विस्तार गरिनेछ,’ उनले भने, ‘जुन उत्साहले यो कार्यक्रमको थालनी भएको छ, यसको निरन्तरतामा पनि हामी सबैको ध्यान पुग्नुपर्ने आवश्यक छ ।
सो सडक खण्डमा बुधबार संविधान दिवसको अवसर पारेर सेवा शुभारम्भका लागि दुईवटा बसहरू सञ्चालन गरिएको छ । तर बिहीबारदेखि भने नियमित सेवा प्रारम्भ हुने यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले बताए । ‘द्रूत सेवामा सञ्चालन हुने बसले जहाँ चाह्यो त्यही बस रोक्न पाउँदैनन् । तोकिएका ठाउँहरूमा मात्रै बस रोक्न, यात्रुलाई चढाउन र ओराल्न पाइनेछ,’ उनले भने, ‘सार्वजनिक यातायातका साधनप्रतिको विश्वास बढाएर भविष्यमा राजधानीका सडकमा ठूला बसहरू सञ्चालन गर्ने र निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्ने हाम्रो उद्देश्य हो ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण बन्दै गएकोमा त्यसलाई सहजीकरण गर्न द्रूत बस सेवा सहयोगी हुने अपेक्षा गरिएको बताए । ‘उपत्यकामा ट्राफिक व्यवस्थापन दिनानुदिन असहज बनिरहेको छ । त्यसैले हामीले मास ट्रान्सपोर्टेसनको अवधारणामा काम गर्नैपर्छ । यो त्यसैको सुरुआत हो,’ उनले भने, यसले कम्तीमा सबैलाई अबको आवश्यकता र प्राथमिकता भनेको मास ट्रान्सपोर्टेसन नै हो भन्ने सन्देश प्रवाह होस् भन्ने हाम्रो चाहना हो । तर यो बस र्यापिड ट्रान्जिट (बीआरटी) सेवा भने होइन ।
सेवा शुभारम्भका अवसरमा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकमा सवारीको कोलाहललाई शान्त पार्ने सरकारको प्रयास उदाहरणीय भएको बताए । ‘देशमा भएका सवारी साधनमध्ये आधाभन्दा धेरै त काठमाडौंमै छन् । काठमाडौं खाल्डोमा सवारीसाधनको कोलाहल छ । यस्तोमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको अर्को उपाय नै छैन,’ उनले भने, ‘यो विषय हामीले विगतदेखि निरन्तर उठाउदै आएको विषय पनि हो ।