काठमाडौं । मंगलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चागुनारायण नगर एकता अधिवेशन सम्पन्न भएकोछ । केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सरुको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला संयोजक बिश्वास र त्यसैगरि केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला सहसंयोजक बिवेकको आतिथ्यता रहेको थियो ।
पार्टीका प्रदेश कमिटि सदस्य तथा चागुनारायण नगरपालिका सङ्गठन समितिका इन्चार्ज बिकासको अध्यक्षता, जिल्ला सदस्य तथा चागुनारायण नगर सङ्गठन समितिको संयोजक बुद्धको सन्चालनमा सम्पन्न अधिवेशनले जिल्ला सदस्य बुद्धको संयोजकत्वमा ९ सदस्यीय नगर संगठन समिति गठन गरेको छ ।
अधिवेशनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै जिल्ला इन्चार्ज सरुले शिक्षाका माफियाहरुको विरुद्ध बिद्यार्थी सङ्गठनको नेतृत्वमा पार्टीले संघर्ष अगाडि बढाएको बताउदै सबै पार्टी सङ्गठन र सदस्यहरुले उच्चमनोबलका साथ जनताको संघर्षमा भाग लिनु पर्ने बताउनु भएको थियो ।
उहाँले क्रान्तिकारी शक्तिलाई कमजोर पार्न र आफ्नो लुट्को स्वर्ग बचाउन पश्चगामी, यथास्थितिवादी र प्रतिक्रियावादी शक्ति लागिरहेको चर्चा गर्दै उहाँले यी तीनै थरि शक्तिका बिरुद्ध क्रान्तिकारी शक्तिहरु एकताबद्द भएर लड्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो । यसको निम्ति पार्टी सङ्गठन बलियो, सङ्गठित र एकतबद्ध हुनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै जिल्ला संयोजक बिश्वासले राजनैतिक बैचारिक र सैद्धान्तिक पक्षमा समान धारणा राख्ने सबै क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाएर अघिबढे मात्र हाम्रो गन्तब्य हाँसिल गर्न सकिने बताउनु भयो । उहाँले पार्टीको कार्यदिशा। कार्यनीति र कार्यक्रमको बारेमा बुझाइमा एकरुपता र पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म राजनैतिक, बैचारिक, सैद्धान्तिक र साङ्गाठानिकरुपमा बिधि, पद्धति, प्रक्रियाको चेन अफ कमाण्डमा रहेर एकस्वरमा वर्गवैरीका विरुद्ध हमला बोल्नसक्ने स्प्रिट पैदा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूलाई लिएर जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्ष उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का अतिथि जिल्ला सहसंयोजक बिवेकले समग्र देशको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको मुक्ति नै क्रान्तिको लक्ष्य उद्देश्य रहेको भन्दै यो दलाल पुँजीवादी व्यवस्थाको विकल्प नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रदेश सङ्गठन समिति सदस्य बिकासले पार्टीले दिएको जिम्मेवारी दृढता पुर्वक पुरा गर्ने र चागुनारायण नगर सङ्गठन समिति लागी पर्ने बताउदै अधिवशेनको समापन गर्नु भयो ।