नवलपरासी – अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीको आयोजनामा बुधवार साँझ बर्दघाटमा मसाल जुलुस निकालिएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटको शान्तिनगरचोकबाट नाराबाजी सहित मसाल जुलुस प्रर्दशन गरेको हो । शैक्षिक दलालहरु होसियार ! शिक्षा बिद्येयक खारेज गर ! दलाल संसदीय ब्यवस्था मुर्दावाद !! लगायत शैक्षिक ब्यापारीकरण एंव नीजिकरणमा बिरुद्ध चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुस चिसापानीको हाटबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले प्रस्तावित शिक्षा बिद्येयक पश्चगामी रहेको उल्लेख गर्नुभयो । उहाँले बिद्येयक खारेज गरेर सार्वजनिक शिक्षालाई निशुल्क, सर्बसुलभ एंव अनिवार्य बनाउने खालको बिद्येयक ल्याउन आवश्यक रहेको चर्चा गर्नुभयो । फरक प्रसंगमा संयोजक सापकोटाले सामुदायिक बिद्यालयलाई ध्वस्त पार्नमा लागि बर्दघाट नगरमा पनि चलखेल रहेको चर्चा गर्दै त्यस्ता हर्कतहरुका बिरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन छेड्दै आएको स्मरण गराउनुभयो । कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालयका सदस्य सुवास शर्मा, कार्यालय सदस्य तरुण श्रीस, जिल्ला सदस्य आनन्द ढकाललगायत उल्लेख्य मात्रामा बिद्यार्थीहरु सहभागी थिए । मसाललाई प्रहरीले निभाउने प्रयत्न गरेको थियो । यस अघि मंगलवार क्रान्तिकारीले बिद्येयक जलाएर बिरोध प्रर्दशन गरिएको थियो ।






























