काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अहिले मुलुकमा धार्मिक र जातीय अतिवादी गतिविधि बढेर गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जोडदार माग गरेको छ । पार्टीका प्रवक्ताले जारी गरेको वक्तव्यमा उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वयत्तता तथा उत्पीडित जातीय पहिचान सहितको संघीय जनगणतन्त्र अनिवार्य रहेको समेत उल्लेख गरिएको छ । साथै वक्तव्यमा समाजको सह–अस्तित्व र सद्भावलाई खलल पार्ने गरी अभिव्यक्ति दिने भगवती पाण्डेलाई कडा कारवाही गरियोस् भन्ने माग समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीले नेपालको संविधानले (२०७२ साल) देशभित्र जुन संघीय संरचना निर्माण गरेकोछ, प्रदेशहरुको सीमांकन गरेको छ र सरकारले तिनको जसरी नामांकन गरेकोछ, त्यसबाट नेपालको वर्गीय तथा उत्पीडित जातिको पहिचानको समस्या हल हुन सक्तैन भनेर त्यसको निरन्तर विरोध गर्दै आएको जगजाहेर छ । यो समस्या हल गर्नका लागि उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वयत्तता तथा उत्पीडित जातीय पहिचान सहितको संघीय जनगणतंत्र अनिवार्य छ । यसै सैद्धान्तिक मान्यताको आधारमा प्रदेश नं. १ को सीमांकन र नामाकरणले त्यहाँको जातीय उत्पीडन र उत्पीडित जातिको पहिचानको समस्या हल हुन नसक्ने प्रष्ट नै छ ।
प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोशी’ नामाकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामै समयदेखि संघर्ष गर्दै आएका छन् । पहिचानको निम्ति संघर्ष गर्ने क्रममा आन्दोलनकारी जनतामाथि सरकारले गरेको प्रहरी बल प्रयोगबाट एक व्यक्तिले सहादत प्राप्त गरेको छ भने धेरैले कुटाइ खाएका छन् र घाइतेसमेत भएका छन् । हाम्रो पार्टी प्रदेश नं. १ का जनताले गरेको उक्त संघर्षलाई न्यायोचित ठान्दछ र समर्थन समेत गर्दछ । र प्रहरी ज्यादतीको घोर भत्र्सना गर्दछ । कथित लोकतान्त्रिक गणतन्त्र अन्तर्गत यो समस्याको हल नहुने कुरो व्यवहारतः पुष्टि भएको छ । तसर्थ यो समस्याको हल गर्न उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको संघीय जनगणतंत्रको पक्षमा संघर्षलाई अघि बढाउन हाम्रो पार्टी दृढ छ र न्याय तथा पहिचान पक्षधर सम्पूर्ण जनतालाई आह्वान् गर्दछ ।
बहुजातीय, बहुभाषी तथा विविध धर्म–संस्कृतिका अनुयायी जनताको बसोबास हुनु नेपालको विशेषता र सुन्दरता हो । हाम्रो पार्टी यो देशका सबै जाति, भाषा, धर्म–संस्कृतिले सह–अस्तित्व, समानता र सम्मानजनक हैसियत पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । धर्मनिरपेक्ष राज्यको मूल मर्म र भावनालाई दृढतापूर्वक पालना गर्ने सरकारको नीति र कानुन हुँदामात्र यी कुरा संम्भव हुनेछ । तर नेपालको विद्यमान संविधानले ‘धर्मनिरपेक्ष’लाई “प्रष्टीकरण” दिएर ‘सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण’को नाममा घुमाउरो पाराले हिन्दुराज्यको रक्षा गरेको छ र त्यसका लागि नेपाल सरकारले आजसम्म पनि पञ्चायती हिन्दु अधिराज्यको ऐन, कानूनलाई नै लागु गरेको स्थिति छ । राज्यले गरेको यस प्रकारको गलत नीति पक्रेर हिन्दु अतिवादीहरुले धार्मिक हिंसा, जातीय दंगा र छुवाछुतको नाममा अमानवीय कार्य गर्दै आएका छन् । यस्ता गतिविधिलाई विदेशी अतिवादी घुसपैठले ठुलो मद्दत पु¥याएको समाचार सार्वजनिक हुँदै आएको छ । यसैको परिणाम हो हालै धरानमा गोरु काटेको बहानामा हिन्दु अतिवादीहरुले आदिवासी जनजातिका विरुद्ध हतियार प्रदर्शन गर्नु । राज्यले यस प्रकारको धार्मिक–साम्प्रदायिक हर्कतलाई समयमै नियन्त्रण गर्न नसके परिणाम भयावह हुने निश्चित छ । हाम्रो पार्टी यस प्रकारको अतिवादी गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरोस् भन्ने माग गर्दछ ।
सरकारलाई धर्मनिरपेक्ष राज्य कायम गराउनका लागि आजसम्म लागु हुँदै आएको पञ्चायती हिन्दु अधिराज्यको ऐन कानुनलाई अविलम्ब खारेज गराउन र राज्यले सबै धर्मप्रति समान र समभावको व्यवहार गरिने ऐन कानुन निर्माण गरी लागु गराउन न्यायप्रेमी नेपाली जनतासँग हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।
केही समययता मगर, तामाङ लगायत सम्पूर्ण आदिवासी जनजातिहरु र मुस्लिम समुदाय संघर्षमा उत्रिएका छन् । त्यसको कारण के थियो भने एक जना वकिल भगवती पाण्डे ‘शितल’ले प्राइमटाइम टि.भि.मा अन्तर्वाता दिने क्रममा ‘तामाङ, मगर र मुस्लिम समाजमा दाजु–बहिनी विवाह गर्दछन् र तिनबाट जन्मिने सन्तानहरु अपराधी मनस्थितिका हुन्छन्’ भनेकी थिइन् । ती वकिल भगवती पाण्डे ‘शितल’लाई कानुनी कारवाहीको माग राखेर संघर्षमा उत्रिएका आदिवासी जनजातिहरुमाथि प्रहरीले लाठीचार्ज गरेको, धरपक्राउ गरेको र प्रहरी हिरासतमा पनि आन्दोलनकारी महिलाहरुमाथि अमानवीय ढंगले कुटपिट गरेको थियो । तर पनि संघर्ष जारी नै रहेको अवस्था छ ।
नेपालमा विविध धर्म–संस्कृति र परम्पराका अनुयायी जनता रहेका छन् । सबैले सबैको धर्म–संस्कृति र परम्पराहरुको सह–अस्तित्वलाई स्वीकार्नु पर्दछ र सम्मान गर्नु पर्दछ । साथै कसैमा कुनै कमिकमजोरी देखिए सकारात्मक आलोचना गर्न वा सुझाव दिन सकिन्छ । तर ती समाजमा हुँदै नभएको परम्परालाई अनावश्यक र अमर्यादित ढंगले उछालेर सामाजिक सद्भावलाई भड्काउने अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही नगरी न्याय माग्ने आदिवासी जनजातीहरुलाई कुटपिट गर्नु, थुनछेक गर्नु सामान्य मानव अधिकारको सिद्धान्तको विरुद्ध हो । हाम्रो पार्टी प्रहरी प्रशासनबाट गरिएको त्यस प्रकारको हरकतको घोर भत्र्सना गर्दछ । साथै समाजको सह–अस्तित्व र सद्भावलाई खलल पार्ने गरी अभिव्यक्ति दिने भगवती पाण्डेलाई कडा कारवाही गरियोस् भन्ने माग गर्दछ ।”





























