दार्शनिक फाँटमा द्वन्द्वात्मक भौतिकवादको जिम्मेवारी

दार्शनिक फाँटमा द्वन्द्वात्मक भौतिकवादको जिम्मेवारी

 

 

“ मार्क्सको दर्शन भौतिकवादी दर्शनको पुरै परिमार्जित रुप हो , जसले मानव जातिलाई विशेषत: मजदुर वर्गलाई ज्ञानको शक्तिशाली साधन प्रदान गर्छ ।“
– भी. आई. लेनिन : मार्क्स – एंगेल्स – लेनिन : द्वन्द्वात्मक भौतिकवाद , पृष१४७ , प्रगति प्रकाशन , मास्को , दोस्रो संस्कर, १९८५ ।

द्वन्द्वात्मक र।भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ । अर्थात् द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ । विश्वब्रह्माण्डका हरेक चीजहरु दुई परस्पर विरोधी तत्व वा कुरा मिलेर बनेको हुन्छ र संसारमा जहाँपनि विरोधी कुराहरु संगसंगै गाँसिएका हुन्छन् । यस रुपमा विश्व सञ्चालित छ भनि सावित गर्ने वैज्ञानिक सिध्ददान्तलाई द्वन्द्ववाद भनिन्छ ।
हरेक वस्तु भित्र आपसी द्वन्द्व ( संघर्ष ) वा टक्कर चलिरहन्छ । यसै द्वन्द्वले नै हरेक कुराको जीवन ( अस्तित्व ) बनेको छ , हरेक कुरा गतिशील र परिवर्तनशील छन् । स्थिर होइन , अस्थिर छन् भन्ने सिध्दान्तलाई द्वन्द्ववाद भनिन्छ ।
भौतिक तत्व पदार्थलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्ने सिध्दान्तलाई भौतिकवाद भनिन् । भौतिकवादले प्रारम्भदेखि अहिलेसम्म अग्रगामी वर्गको सेवा गर्दै आएको छ ।
दार्शनिक फाँटमा नयाँ भौतिकवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित रहेको छ । भौतिकवादले पदार्थलाई विश्वको प्राथमिक तत्वको रुपमा अध्ययन गर्दछ । द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ ।यी दुबै वैज्ञानिक अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवादमा हुन्छ ।
यसलाई अझै स्पष्ट पार्न सकिन्छ कि द्वन्द्ववादले पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ । भौतिकवादले गतिशील पदार्थलाई विश्वको आदिकरण वा प्राथमिक तत्व मान्दछ । गति र पदार्थ एक अर्कोबाट कहिल्यै पनि अलगिँदैनन् । जब गति र पदार्थ एक अर्कोबाट अलगिँदैनन् भने त्यो स्थितिमा पदार्थमा विद्यमान गतिको अध्ययन गर्ने द्वन्द्ववाद र गतिशील पदार्थलाई प्राथमिक स्थानमा राख्ने बीच भौतिकवाद कुनै पनि हालतमा अलगिन सक्तैनन् । जब द्वनणद्ववाद र भौतिकवाद बीच मिलन हुन्छ त्यसपछि दर्शनको नाम द्वन्द्वात्मक भौतिकवाद बन्न पुग्छ ।
दर्शनको इतिहासमा एक अर्कोबाट अलगिएको द्वन्द्ववाद र भौतिकवादलाई एउटै ठाउँमा मिलाउने काम कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) ले गर्नुभएको हो । द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी दर्शन । साथै द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
द्वन्द्वात्मक भौतिकवादको मुख्य जिम्मेवारी के हो ? भन्नेबारेमा जान्न जरुरी हुन्छ । द्वन्द्वात्मक भौतिकवाद आलोचनात्मक र क्रान्तिकारी दुबै छ । साथै द्वन्द्वात्मक भौतिकवाद जुझारु पनि छ र मानव समुदायका सामु धेरै जिम्मेवारी हुँदाहुँदै पनि दुई प्रमुख ऐतिहासिक कार्यभार ( दायित्व ) सुम्पेको छ । ती हुन् :

दुनियाँ बुझ्ने र दुनियाँ बदल्ने
दुनियाँलाई बुझ्ने र दुनियाँलाई बदल्ने भन्ने कुरा दर्शन सम्बन्धि कुरा हो । त्यसैले हामीले दुनियाँलाई बुझ्ने भन्नुको अर्थ हाम्रो चारैतर्फको प्रकृति , वस्तु र हाम्रै वरिपरिको समाज , तिनको गुण , चरित्र र स्वरुपलाई र तिनका नियमहरुलाई र वस्तु तथा समाजमा विद्यमान तमाम नियमअनुरुप वस्तु वा समाजमा विद्यमान अन्तर्विरोधको हल गर्नु र आमूल परिवर्तन गर्नु नै मुख्य दायित्व हो । यी उल्लेखित दुई जिम्मेवारीलाई जब सही ढंगले हल गरिन्छ , अनि तमाम संशोधनवादी र साम्राज्यवादी युगका भीषण वर्गसंघर्षका अनुभवहरुको सार खिच्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनिया कम्युनिस्ट पार्टीका नेता , नयाँ जनवादी क्रान्तिका सिध्दान्तकार र प्रयोगकर्ता तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिका सिध्दान्तकार एवं प्रयोगकर्ता कमरेड माओ त्सेतुङले भन्नुभएको छ , “ केवल बन्दुकद्वारा मात्रै सम्पूर्ण दुनियाँ बदल्न सकिन्छ ।“ – माओ त्सेतुङ : संकलित रचना हिन्दी – पृष्ठ ५२१ । यसको अर्थ वस्तु र समाजमा विद्यमान अन्तर्विरोधहरुलाई गहिराइका साथ राम्ररी ठम्याउनु हो भन्ने बुझ्नुपर्छ ।
( क) दुनियाँ बुझ्ने कसरी ?
माथि पनि उल्लेख गरिएको छ कि दुनियाँलाई कसरी बुझ्ने भन्ने कुरा दर्शन तथा दार्शनिक फाँटमा पर्ने भएकोले यसलाई द्वन्द्वात्मक भौतिकवादी दर्शन कै आधारमा बुझ्ने कुरा हो । जस्तो कि दुनियाँ बुझ्नका लागि हामी क्रान्तिकारी कम्युनिस्टहरुले मार्क्सवाद – लेनिनवाद – माओवादको दार्शनिक आलोकमा उभिएर सिंगो संसार र आ– आफ्नै देशको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा सामाजिक , आर्थिक व्यवस्था र वर्गसंघर्षबारे गहिरो अध्ययन गर्नुपर्छ । समाजको वर्गीय विश्लेषण ठोस गर्नुपर्छ । नयाँ जनवादी क्रान्ति तथा वैज्ञानिक समाजवादी क्रान्तिका ठोस र वस्तुगत नियमहरुलाई गहिराइमा पुगेर क्रान्तिका कार्यदिशा ठोस गर्न सिपालु हुनुपर्छ । अर्थात् क्रान्तिबारे राम्रो ज्ञान प्राप्त गर्नुपर्ने हुन्छ । यसका साथै क्रान्तिको व्यवहारमा पस्नै पर्छ । र जनता र जनताको शक्तिका बारेमा पनि पढ्नैपर्ने र जनता र मुलुकको समस्याहरु भोग्नैपर्ने हुन्छ ।
अहिले हामीले जुन नेपाली नयाँ जनवादी क्रान्तिका नियम पत्ता त लगायतका छौ , सशस्त्र जनविद्रोहको कार्यदिशा ठोस गर्दै आएका छौ यत्तिकैले पुग्दैन । वस्तुगत र आत्मगत परिस्थिति अनुसार आवश्यक तयारी गर्दै क्रान्तिका नियमहरुलाई राम्ररी प्रयोग गर्न कठिबध्द हुन जरुरी हुन्छ । किनभने आज हामी महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीतिक कार्यदिशा र कार्यक्रमका साथ अगाडि बढिरहेका छौ ।
यी विषयहरु उल्लेख गरिरहेको बेला के कुरा बुझ्न के जरुरी हुन्छ भने कतिपय मानिसहरु ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसकि , वस्तुमा विद्यमान जीवन शैली र मरणशील पक्षबीचको अन्तर्विरोध ठम्याउन नसकि , खास स्थितिमा ती एकअर्कोमा बदलिन सक्छन् भन्ने कुरा नबुझी दुश्मन बलियो र जनताको कम्जोर स्थिति देखेर अथवा कतिपय देशमा जनताको हार वा प्रतिक्रान्ति भएको देखेर निस्क्रिय तथा निराश हुन्छन् र “जता बलियो उतै ढलियो “ गर्न पुग्छन् ।
इतिहासको धाराप्रवाहमा शोषक वर्ग विनाश र शोषित वर्ग विकासको प्रक्रियामा लगातार अगाडि बढ्दै गएका छन् । हामीलाई थाहा छ , सर्वहारावर्गको क्रान्तिको भविष्य उज्ज्वल छ । क्रान्तिको लामो यात्राप्रवाहमा दबिनु वा हार्नु परे पनि अन्तमा जनताको जीत अवश्यम्भावी छ । यसरी नै हामीले दुनियाँलाई बुझ्नु पर्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनका दुनियाँ बदल्ने कुरा हामीले यसरी नै दुनियाँलाई बुझ्नुपर्छ ।
( ख) दुनियाँ बदल्ने कसरी ?
यो दुनियाँ बदल्ने भन्ने कुरा पनि द्वन्द्वात्मक भौतिकवादी दार्शनिक आधारले बुझ्नुपर्छ । किनभने द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो , जसको आधारमा उसलाई दुनियाँ बुझ्ने र बदल्ने ज्ञान प्राप्त गर्दछ।
अब हाम्रो सामु प्रश्न खडा हुन्छ कि दुनियाँ बदल्ने कसरी ? यस प्रश्नको उत्तर के हो भने दुनियाँ बुझ्ने क्रममा जुन नियम पत्ता लगाइन्छ वा जुन ज्ञान सिकिन्छ , त्यसको प्रयोग दुनियाँ बदल्नका गर्गु पर्दछ । कतिपयले दुनियाँ अर्थात् समाज वस्तुगतरुपले स्वत: बदलिँदै जान्छ र त्यसमा सचेत वा संगठित प्रयत्न आवश्यक छै भन्दछन् । हामीले यस प्रकारको स्वत: स्फूर्ततावादको दृढ विरोध गर्नु पर्छ र दुनियाँ बदल्नका लागि सचेत एवं संगठित प्रयास गर्नु पर्छ । त्यस्तै कतिपयले समाज बदल्नका लागि साँस्कृतिक आन चलाउनुपर्छ भन्दै वर्गसंघर्षको राजनीतिक पक्षको निषेध गर्दछन् ।
समाज र व्यक्तिलाई नयाँ दृष्टिकोणले समृद्ध पार्न वा बदल्नका लागि विचारधारात्मक साँस्कृतिक आन्दोलनको महत्त्व स्वतसिध्द छ र त्यसमा हामीले जोड दिनैपर्छ । तर त्यो काम कोरा साँस्कृतिक आन्दोलन वा नैतिक उपदेशद्वारा मात्र सम्भव छैन , त्यसका लागि भीषण वर्गसंघर्षको भट्टिमा झोकिनुपर्छ । वर्गसंघर्ष भन्नाले विचारधारात्मक , आर्थिक र राजनीतिक संघर्षलाई बुझ्नु पर्छ र ती मध्य राजनीतिक संघर्षकै भूमिका प्रधान हुन्छ । यसैगरी कतिपयले समाजलाई शान्तिपूर्ण तरिकाले “ प्रजातान्त्रिक “ आजकल नेपालका संशोधनवादी नामधारी कम्युनिस्टहरुले तथाकथित “ समाजवादी मोर्चा “ द्वारा समाजवाद निर्माण गर्ने भन्नेहरु समेत “ तरिकाले , चुनावी तरिकाले बदल्न सकिन्छ भन्ने कुरामा जोड दिने गर्दछन् । त्यसरी समाज बदलिएको उदाहरण प्रयाश: इतिहासमा कतै पाइएको छैन र त्यसका लागि बलप्रयोगको भूमिका आवश्यक पर्छछ । जस्तै रुस , चीन , भियतनाम , कोरिया , क्वुवा लगायतका देशहरूमा बलप्रयोगकै भूमिकाबाट ती देशहरूमा आमूल परिवर्तन भएको थियो ।
राज्यसत्तासम्बन्धि साम्राज्यवादी युगका वर्गसंघर्षका अनुभवहरुको सार खिच्दै कमरेड माओ त्सेतुङले “ केवल बन्दुकद्वारा मात्रै सम्पूर्ण दुनियाँ बदल्न सकिन्छ “ भन्नुभएको हो । यसलाई गहिराईका साथ लिन जरुरी छ । जसका आधारमा दुनियाँ बदल्ने ज्ञान प्राप्त गर्न सकिन्छ ।
दुनियाँ बदल्ने कुरा गरिरँदा सर्वहारा वर्गको संगठित अग्रदस्ताले पहिलो नम्बरमा आफैमा विद्यमान सामन्ती , पुँजीवादी , निम्नपुँजीवादी तथा अवसरवादी चिन्तन र संस्कारका विरुद्ध लड्दै सर्वहारा वर्गीय मूल्यमान्यता र दृष्टिकोणले समृद्ध बन्दै जानुपर्छ । व्यक्तिगत स्वार्थ , महत्वाकांक्षा , ऐस – आराम , सुविधाभोगी प्रवृत्ति आदिलाई त्यागेर साँगठनिक अनुशासनमा आबद्ध भई , त्याग , आत्मबलिदान र जस्तोसुकै कठिन घडीमा पनि क्रान्तिप्रति समर्पित हुने भावनाद्वारा प्रेरित बन्नुपर्छ । यसरी सोच्न र तयार हुन सकेमा नै क्रान्तिकारीहरुले आफूलाई दुनियाँ बदल्ने शक्ति , साहस र क्षमताको निर्माण तथा विकास गर्न सकिन्छ ।
अनि मात्र तमाम प्रतिक्रियावादी ध्वस्त पारी नयाँ जनवादी ,, वैज्ञानिक समाजवादी र साम्यवादी व्यवस्थाको निर्माण गर्न सकिन्छ ।अनि मात्र मानव – जतिले प्रकृतिका नियमहरुको अझै अध्ययन र विकास गरी प्रकृति कै चेहरा फेर्न सकिन्छ । क्रान्ति पछि रुस , चीन लगायतका समाजवादी देशहरुले प्रकृति विज्ञानका क्षेत्रमा ठूलो परिवर्तन ल्याएका उदाहरणहरु विश्व मानव समाजमा सामु अहिलेसम्म पनि देख्न सकिन्छ ।
निष्कर्ष :
द्वन्द्वात्मक भौतिकवाद विज्ञान दर्शन हो । द्वन्द्वात्मक भौतिकवादले हरेक व्यक्तिलाई विश्वमा घटित भइरहेका घटनाहरुलाई बुझ्न मार्गदर्शन गर्दछ ।
द्वन्द्वात्मक भौतिकवाद प्राचीन दर्शन हुन् ।आधुनिक युगमा द्वन्द्ववादलाई विकसित गर्न जर्मन दार्शनिक हेगेल र भौतिकवादलाई विकास गर्न फायरवाखको ठूलो योगदान रहेको छ । मार्क्स र एंगेल्सले हेगेलको द्वन्द्ववादबाट आदर्शवादी आवरण हटाएर जुन फरक मात्र होइन ,विपरीत पनि छ ।फायरवाखको भौतिकवादको आदर्शवादी , धार्मिक र नैतिक आवरणलाई पन्छाएर वैज्ञानिक भौतिकवाद विकसित गरे , जसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ ।
लेनिनको फिलोसोफिकल नोट्समा द्वन्द्वात्मक भौतिकवादबारे विस्तृत चर्चा गरिएको छ । स्टालिनले द्वन्द्वात्मक भौतिकवादबाट “ प्राकृतिक घटनालाई जाँच्ने , परिक्षण गर्ने , पहिचाहन गर्ने धारणा “ भनेका छन् ।
द्वन्द्वात्मक भौतिकवाद प्रकृति , वस्तु र समाजमा विद्यमान अन्तर्विरोधलाई ठम्याउन र तिनको समाधान गर्ने ज्ञान प्राप्त गर्ने वैज्ञानिक सैध्दान्तिक अस्त्र हो । र , सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
अन्त्यमा द्वन्द्वात्मक भौतिकवादको दुनियाँ बुझ्ने र दुनियाँ बदल्ने जिम्मेवारी अन्तर्गत ऐतिहासिक कार्यभार भनेको महान् लेनिनकै शब्दमा : “आधुनिक मजदुर वर्गलाई ज्ञानको शक्तिशाली साधन प्रदान गर्नु “ रहेको छ ।