१३ श्रावण चितवन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुश प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ ।
नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौंको संख्यामा रहेका कार्यकर्ताहरुले जुलुशसहित नाराबाजी गरेका थिए । देशमा महंगी, एयरपोर्टमा घटेको सुनकाण्डको भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मल बिउ बजार समस्या, व्यापारीले भोगेका बैंकिङ्ग ब्याजको मार लगायत एमसीसी खारेजी , राष्ट्रियता जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चितवन जिल्ला संयोजक घननाथ सापकोटा विकासले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज भिम बहादुर खड्का ध्रुवले सरकार जनताको अधिकार र राष्ट्रियता जनतन्त्रको लागि गम्भीर नबनेको र नागरिकता विधयेक लगायतका जनघाती राष्ट्रघाती सम्झौता खारेज नगरे जनता विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए ।

कार्यक्रमको सञ्चालन जिल्ला सह संयोजक दुर्गा सुवेदीले गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वाग्मती प्रदेश सदस्य हरिकृष्ण खनाल, अखिल नेपाल प्रगतिशील प्राध्यापक संघका केन्द्रीय सदस्य मदन फुँयाल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम प्रसाद कडेल, जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य नारायण शर्मा विपिन लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




























