क्रान्तिको कार्यभार पूरा गर्न हामीले पार्टी एकता गरेका हौं : कञ्चन

क्रान्तिको कार्यभार पूरा गर्न हामीले पार्टी एकता गरेका हौं : कञ्चन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले क्रान्तिको कार्यभार पूरा गर्न पार्टी एकता गरेको बताउनु भएको छ । राजनीतिक बन्दी सानुराज बज्राचार्य (श्याम) रिहा भएपछि पार्टी कार्यालय कुपण्डोलमा उहाँलाई स्वागत तथा बधाई ज्ञापन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।


उहाँले दलाल पुँजीवादी व्यवस्था आफैमा भ्रष्टाचारी व्यवस्था भएको चर्चा गर्दै यो व्यवस्थालाई फालेर अग्रगामी राजनीति विकल्प व्यवस्था स्थापनाका लागि क्रान्ति अहिलेको ज्वलन्त आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।


उहाँले अहिलेको संसदीय व्यवस्था, संसदवादी पार्टीहरुभित्र संकट चुलिएको र उनीहरु यथास्थितिमा चल्नै नसक्ने अवस्थामा पुगेको विश्लेषण गर्दै क्रान्तिको लागि वस्तुगत अवस्था परिपक्व बनेको दाबी गर्नुभयो । उहाँले यो मान्छे बेचीखाने व्यवस्थाको विकल्प भनेको नै नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद भएको पनि स्पष्ट पार्नुभयो ।


उहाँले पार्टी एकता प्रक्रिया केन्द्रदेखि स्थानीय तहसम्मै टुंगिने प्रक्रिया रहेकोले अब संगठन विस्तार र संघर्षका कार्यक्रममा सिंगो पार्टी आक्रामक रुपमा अगाडि बढ्ने पनि बताउनु भयो ।


कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले पनि महत्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो ।

पार्टीका कार्यालय सदस्य तथा प्रदेशका संयोजक अटलको अध्यक्षता र प्रदेश सहसंयोजक प्रवेशको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु पवनमान श्रेष्ठ, दिपक, आजाद, निर्मल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ३७ महिना लामो जेल जीवन विताएर जेलमुक्त हुनुभएका सानुराज बज्राचार्य (श्याम)लाई अबीर र खादा लगाएर पार्टीमा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमलाई बोल्दै श्यामले क्रान्तिका लागि आफू जेल परेकोमा कुनै पश्चाताप होइन, गर्व महसुस भएको र क्रान्तिका लागि फेरि जेल जान तयार रहेको बताउनु भयो । उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूरा गर्दै आगामी दिनमा पार्टी र क्रान्तिका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।