साताको साहित्य ः निबन्ध
जेठको अन्तिम दिनहरू घामको तातोले उखुम बनाएको छ । यस्तो दिनमा म पुरानो काल सम्झन्छु र घोत्लिन्छु । हाम्रा बाले भैँसी किनेर ल्याउनु भएको थियो । सायद म छ बर्षको थिएँ । घरमा नयाँ भैँसी आएपछि दूधभात खान पाइने कल्पनाले हामी फुरुक्क भयौँ । कान्छो भाइ सानै भएकोले के सोच्यो कुन्नी ठुलोदाइ र म भने खुसिले नाच्यौँ । थैले कचौँडो तर कचौँडामा तीनवटा मात्र थुन रहेछ । यस्तो भैँसीलाई खमाइ भैँसी भन्दारहेछन्् । चैतको याम थियो, डोको र हँसिया लिएर दाइ र म खरबारीमा भर्खर पलाएको सालिमे खर काटेर घर ल्यायौँ । साँझ पर्न लागेको थियो बाले त्यो घाँस हालेर दुहुन बस्नु भो । स्यार ! स्यार !! घ्वार ! तिनमाने गौवाको घाँटी घाँटी दूध लिएर बा भित्र जानू भो । अहा ! सम्झन्छु अहिले पनि कति मीठो थियो त्यो भैँसीको दूध । महङ्गो पनि उ जमानाको बाह्रबीस मोलमा किन्नु भएको थियो । भैँसी साह्रै गुनि थियो । हामी केटाकेटी नजिकै गएर झ्याम्मिन्थ्यौँ । घरमा अर्को भैँसी ब्याएपछि बाले त्यो भैँसी बेच्ने निर्णय गर्नु भो । आफ्नो गोठको भैँसी अरूले लैजाँदा कम्ती नरमाइलो भएन । किसानी परिवारमा भैँसीको किनबेच भैराख्थ्यो । त्यसरी बाले कति भैँसी किन्नु भयो केही महिना पालेपछि बेच्नु भयो । पछि पछि मैले पनि गृहस्थमा भैँसीको किनबेच गरेँ । मैले मात्र होइन गाउँमा भैँसी खेलो नगर्ने किसानहरू सायद थिएनन् । भैँसी खरीद बिक्रिले घाटा ब्यहोरेर घर खेत भएका किसानहरू पनि गाउँमा थिए । अहिले पनि गाउँघरतिर भैँसीपालक किसानहरू छन् । गाउँका भैँसीहरू केही नयाँ नश्लिय छन् भने अझै केही घरमा पुरानै जातका भैँसी देख्न पाइन्छ ।
गोरस छ भने भान्सा उज्यालो हुन्छ भन्ने मान्यता गाउँघरमा थियो र अझै पनि छ । गोरसबाट पाइने पौष्टिक तत्व अरू पदार्थबाट पाउन सकिँदैन । कृषि उत्पादनमा भैँसीको मलमुत्र बाली सपार्नका लागि पनि मुल्यवान मानिन्छ । किसानी परिवारमा छतौरा पाडी खरीद गर्ने र लैनो बनाएर बेच्ने चलन थियो । थारा पाडी खरीद गर्नेले ‘कि गोबर कि दोबर’ भनेर जम्मा गरेर खेलो गर्दथे । त्यो चलन अहिले भने हराउँदै गएको छ । युगले फड्का मारे पनि भान्सामा दूधको मोह भने चालु नै छ । ग्रामिण किसानहरू गाई पाल्नुको सट्टा भैँसीको चाह बढी गर्छन् । भैँसीको दूध बाक्लो र स्वादिलोको साथै चिल्लो पदार्थको मात्रा बढी हुन्छ । गाई थारियो भने पाल्न झन्झट हुन्छ तर भैँसी न ब्याउने भयो भने कटुवामा पनि सजिलै बेच्न सकिन्छ । नेपाली समुदाय अहिले यान्त्रिक बन्दै गएको छ । डेरि वा पसलमा पोकोमा पाइने दूध किन्यो र जिब्रो फट्कार्यो । डेरिमा पनि गाईको भन्दा भैँसीकै दूधको माग बढी हुन्छ तर अप्राप्य हुँदै आएको छ । हामीले परम्परित मान्यतालाई अस्वीकार गर्दै आएका छौँ तर खाने पिउनेमा भने दूध दहिको प्रचलन बिर्सिएका छैनौँ ।
म कहिलेकाहीँ घरभन्दा केही परको बजार जान्छु । बजारमा केही दूधजन्य बस्तुको बिक्री बितरणको पसल छ । त्यस पसलमा चिया समेत पाइने हुँदा उपभोक्ताहरूको भिड भैरहन्छ । अक्सर दिनभर त्यहाँ देशको राजनीतिको चर्चा हुन्छ । केही दिनदेखि पसलमा भैँसी बहस चलेको छ ।
‘अब मःम र सुकुटिको भाउ घट्ने भयो ।’ चियाको कप समातेको एउटा गफाडी बोल्छ ।
‘भन्सार कटेर त्यो आउँदैन, प्रचण्डले उतै बेचिसक्यो’ अर्को गफाडिले छिर्के हान्छ ।
‘प्रधानमन्त्रीको भ्रमण रे भैँसी चढेर आउँछ, हा ! हा !!’ स्थानीय नेता उफ्रन्छ ।
‘सुकुटी बनाउन त रबिले दिँदैन’ अर्को बुज्रुक आफ्नो तर्क पेश गर्छ ।
‘राजस्थानी तातेको भैँसी नेपालमा बाली जाँदैन, ब्याउँदैन ।’ पसलमा आ आफ्ना डम्फु बजाउनेले बजाउँछन् । तर्कहरू सुनेर हाँसो उठ्छ । मन परेको नेता भगवान र नपरेको शत्रु मान्ने रोगले ग्रस्त छौँ हामीहरू । पसलमा लघु बहस हुन्छ उता बानेश्वरमा बृहत् बहस चलेको छ ।
सामाजिक सन्जालका अभिब्यक्तिहरू पढ्छु भैँसी बहसमा केन्द्रित छन् । यतिबेला भारतले दिएको अनुदान नेपालीहरूका लागि विषको पोको हो जस्तो देखिन्छ । कथाकार रमेश विकलले लेखेको लाहुरी भैँसीको कथा सम्झन्छु । बिचरो किसानले ल्याएको एउटा सामान्य भैँसीमाथि अर्को शामन्तले गिद्दे आँखा गाड्दै नाना फतुर दोष लगाएरै भए पनि भैँसी आफ्नो गोठमा सार्यो । तर अहिलेको बहस भैँसी राम्रो नराम्रो छ भन्नेमा नभई प्रचण्डले किन ल्याए भन्नेमा सुनिन्छ देखिन्छ ।
वास्तवमा भैँसी किसानको भरपर्दो साथी र आम्दानिको श्रोत हो । बैदेशिक रोजगारीले अहिले नेपालीहरूको खेत बाँझिएका छन् गोठ रित्तिएका छन् । उन्नत नाश्लिय राँगा वा भैँसी स्वदेश भित्र्याएर दूध उत्पादन बढाउन खोज्नु नराम्रो बिषय होइन तर यसको सदुपयोग कसरी हुन्छ भन्नेमा चिन्ता र चासो सबैको हुनुपर्दछ ।
एक जमाना यस्तो थियो पहाडी ग्रामिण क्षेत्रमा पुस लागेपछि काठमाडांै कांठतिरका व्यापारीहरू गाउँगाउँमा भैँसी खरीदका लागि दौडन्थे । गाउँमा बाली नलागेका थारा, ठेट्ना ,बूढा भैँसीहरू उनीहरू खरीद गर्दथे । त्यस्ता ब्यापारीलाई गाउँलेहरू खेदुवा वा काँठे भन्ने गर्दथे । अहिलेको जमानामा खेदुवाहरू गाउँमा जाँदैनन् । यातायातको सहजताले भारतीय राँगा र भैँसीहरू दिनहुँ उपत्यकामा भित्रिइरहेका छन् । काठमाडौंका गल्ली गल्ली र चोकमा कचिला छोयला मःम र सुकुटी बिक्री भएकै छ । कयौँ रोगी र बाटोमै मरेका भैँसीहरू साबिकको मुल्यमा बेचिएकाछन् त्यो बहसको बिषय बन्दैन । तर अनुदानमा आएको भैँसीबारे किन सदन र सडकमा बहस हुन्छ ? भारतबाट अनुदानमा आएको मल बीउ लिनका लागी हामी होड गरेर ठेलम्ठेल गर्छौँ तर अनुदानमा आएको भैँसीमा भने किन तात्तिन्छौँ ? अझै पनि मधेशका वस्तिहरूमा भारतीय हाट बजारबाट दुधालु भैँसीहरू खरीद भैरहेका छन् । हामी हाम्रा खेत बाँझो राखेर भारतीय चामल, दाल, तरकारिमा निर्भर छौँ तर यस बिषयमा हामी मौन छौँ । भलै उपहारमा आएका राँगा वा भैँसी जे हुन भए दोबर नभए गोबर त अवस्य हुन्छ ।
प्रचण्डको भारत भ्रमणमा कुटनैतिक रूपमा उनी कहाँ चुके, सैध्दान्तिक चिन्तनमा कहाँ कहाँ विचलित भए बहस छलफल र आलोचनाको बिषय त्यो हुन सक्छ । सरकार प्रमुखको हैसियतमा छिमेकी मित्रराष्ट्रको भ्रमणमा उठाउनु पर्ने सीमाका समस्या, बिगतमा भएका असमान सन्धी, सम्झौता, खुल्ला सीमाका कारण भएका लुटपाटजस्ता बिषयहरू ओझेलमा पारेर किन भैँसी बहस भैरहेछ । आस्थालाई धरापमा राखेर गरिएका कृत्यबारे किन सरोकारवाला मौन रहन्छन् । खोइ बिषयहरूको चुरोमाथिको दृष्टि ? फराकिलो र दूर दृष्टि दिएर बहसको थालनी गरौँ ।































