मेरो चित्रकारिता

मेरो चित्रकारिता

साताको साहित्य : संस्मरण 

……… …………

भाडगाउँमा अहिले जुन घर खडा छ, त्यो घर हाम्रा बा-आमाले बनाएको घर होइन । कान्छाबाले बा-आमालाई बिक्री गरेर सल्लेरी पन्डितहरूको खालमा बस्न गएपछि हात लागेको घर हो । म आसाम बस्दा नै कान्छाबाको यो घर बाले किनेछन् र उतै मसँगै बस्ने भाइले पुरानो घर तोडेर अहिलेको तालेगोठ बनाएछ र कान्छा बासँग किनेको घरमा टिनको छानो लगाएछ ।
जस्तोसुकै पो किन नहोस् जन्मघर बहुतै प्यारो लाग्दो रहेछ । पुगनपुग ६ वर्ष प्रदेश बसेर पहिलोपटक घर आउँदासम्म पुरानै घर सहिसलामत थियो । चिटिक्कको आगन, आगनमा एकडेढ हाते पर्खाल, त्यसमाथि बिछ्याइका छपनी, पालीसितको ससानो घर, उत्तर र पुर्व दिशामा दुईतिर ढोका, सङ्घार र पिँढिको बिचमा दलान, ढोकामा हमेसा रहिरने नागबेलीको लहरो, उत्तरतर्फको पालीमा सँधैजसो राखिने खाट, त्यही खाटमा बा-आमाको काख छोड्ने उमेर नहुँदासम्मको बाको शरीरको न्यानो ! अहो ! यादहरू बेजोड हुँदारहेछन् । कहिल्यै फर्केर नआउने दिन सम्झेर कहिलेकाहीँ म जड्वत हुन्छु ।

कास ! त्यो बायाँहाते भर्‍याङ उक्लेर आँटीमा जान पाए, आँटीमा थन्क्याएर राखेको पुरानो जमानाको मधुस खोल्न पाए, त्यस मधुसको कुनाकाप्चा खोतलेर आमैले लुकाएर राखेको रुप्पे मोहरको ढ्याक चोरेर तम्घास बजारमा बस्ने चस्मेबूढीको पसलमा पुगी पिपलगेडी किनेर खान पाए ! जीवन कस्तो हुँदो हो ? केही हुने थिएन । सँगै स्कुल पढेकी चस्मेबूढीकी नातिनी जयकली त बूढी भइसकि होलिन् ? नानातिनाले अम्रिकाबाट पठाएको टच मोबाइलमा च्याटिङ्ग गर्दै होलिन्, मभने राउटेहरूले बनाएको मधुसको कहानी जुराएर पिपलगेडीको स्वाद लिइरहेको छु ।

घर सानो थियो । आगनलाई छोएर बनाइएको उरिम थियो । उरिम तल ढिकी थियो । मकैको सिजनमा त्यो उरिम भरिभराउ हुन्थ्यो । पछि म बाको काख छोड्ने भएपछि त्यसैलाई काठका फल्याकले बारेर ससानो कोठाको रुप दिएको थिएँ । मेरो राखनधरान पढाइलेखाइ त्यही आधा उरिममा हुन्थ्यो ।

घर मुलबाटोको नजिकै थियो र बेहोरेतिरका गाउँलेहरू, दमाईटोलका मामामाइजूहरू, आफ्नै टोलका दाजुभाइहरूको पनेल(पदेँल) पोखरा हुँदै चारैचौरास जाने बाटो त्यही थियो र आज पनि छ ।

बाटोमाथि जेठीआमाको घर थियो । जेठाबालाई देखिन मैले । एउटी दिदी हुन् । उनी आज रातामाटामा छिन् । भान्जाभान्जी चारैचौरास फिजिएका छन् ।  हाम्रो घर केही रिपियानमा भएकाले छिट्टै घाम लाग्दैन थियो । उदाउँदो बिहानको घाम ताप्न जेठीआँको बारीमै जानुपर्थ्यो मलाई । म त्यही बारीमा रङ्ग, पेन्सिल र कागज बोकेर जान्थेँ र हिमालको चित्रमा कलर भर्थें ।

एकपटकको दसैंमा मलाई आफ्नो कला सबैलाई देखाउन मनलाग्यो । भयो के भने, दसैंमा जहिल्यै घर लिपपोत हुने । रातोमाटो लिन दिदी र बहिनी राङदाल भन्ने ठाउँमा पुग्थे । कमेरो तम्घास जाने बाटोबाट ल्याइन्थ्यो । सायद त्यसको जिम्मा मेरो थियो । बाले अलकत्रा ल्याइदिन्थे, त्यो अलकत्रा खाबो, ढोका, संघार आदिमा दल्ने जिम्मा मेरो हुन्थ्यो ।

एउटा दसैंमा सबैतिर पोतेर पनि अलकत्रा बच्यो । बचेको त्यो अलकत्रालाई के गर्ने ? मेरो अल्पबुद्धि फेरि सल्बलायो र बुद्धत्व प्राप्त भइछाड्यो । बाँयाहाते भित्तामै मलाई आफ्नो कलाकारिता प्रदर्शन गर्ने झोक चल्यो । त्यति बुद्धि फिरेपछि के चाहियो ? डोको ढोप्टाएँ । घोप्टेको डोकोमा चढेर कोट सुरुवालमा सजिएर नमस्कार गर्दै गरेको मान्छेको चित्र बनाएँ र क्याप्सन धस्काएँ- मेरो नमस्कार छ है ।

आजको प्रचलित भाष्यको भाइरल चित्र थियो त्यो । बटुवाहरू जो हाम्रो घरहुँदै हिँड्थे, घरमा  कसैलाई नदेखे पनि – हाम्रो पनि नमस्कार छ है भन्दै बाटो काट्थे । मानिसहरूको त्यस्तो किसिमको प्रतिक्रिया सुनेर म मख्ख हुन्थे ।

बेलाबखत मित्र बाबुराम मरासिनीका आदरणीय दाजु परमानन्दसँग भेटहुँदा कुरो कोट्याउनु हुन्छ र भन्नुहुन्छ – तँ त चित्रकार पनि होस् ठुला ।

आज पनि सपनामा म त्यही जन्मघरमा पुगेको हुन्छु, त्यही उरिममा बसेको हुन्छु, पालीमा बसेर हिमाल हेरिरहेको हुन्छु । किन देख्दिन सपनामा मैले पोखरालाई, जहाँ मैले जीवनका महत्वपूर्ण ८ वर्ष बिताएँ, १२ वर्ष बिताएको आसामको उमरङ्सो त झन् कहिल्यै सपनामा आउँदैन र ३० वर्षदेखि निरन्तर बसेर उखर्माउलो गरिरहेको बुटवललाई पनि कहिल्यै देख्दिन । खै किन देख्दिन ? सोध्नु कसलाई ? सपनाका ब्याख्याता सिग्मन्ड फ्रायडको मृत्यु भएको पनि चारबीस पार भइसक्यो । बुढासँग जुनदिन भेट होला, त्यही दिन सोधिमागम्ला । आजलाई यत्ति ।