लज्जाको व्यापार

लज्जाको व्यापार

साताको  साहित्य : कविता 

तीनसय पैँसठ्ठी दिनमा
दसमिनेट झिकेर
फरियाको फेरमा
सुरुवालको तुनामा
लज्जा बेचिरहेका बिधायकहरू
दृश्यचित्रको होड थापेर सुचना बेचिरहेका
उनका हनुमानहरू
बुझ्दैनन् माटोको मर्म ।

दुई सरा धानको बीउ औलाले च्याप्न
नजानेका बिधायिकाका खलनायकहरू
आफ्ना खुट्टाले दह्रोसित हिलोमा उभिन नसक्नेहरू
घाँटीमा एक डोको बीउ झुन्ड्याएर
महानायकको असली स्वरुप देखाएर
जब गिज्याउछन् समयलाई
मुख छोपेर मुर्छन्नामा छ
मेरो माटोको कृषि उत्पादन
जहाँ बग्रेल्ती सम्भावनाका चाङ छन्
पिठ फर्काएर जन चासोमा
व्यापार गर्न उद्दत छन् लज्जाका ब्यापारिहरू ।