अदृश्य हात

अदृश्य हात

साताको साहित्य : कविता

————–
भर्खरै एउटा मालिक
मजदुरको एक जोडा हात
आफ्नो बैंक खातामा डिपोजिट गरेर निस्किएको छ ।

एउटा सरकारी तस्कर
किबोर्डमा कुदिरहेका पत्रकारका हात झोलामा हालेर
दौडिरहेको छ भन्सारतिर ।

भान्सामा सुसेधन्दा गरिरहेकी गृहणीको हात बोकेर
एउटा पुरुष
यौन उपन्यास पढिरहेको छ ।

आफ्नै हातले स्टेथेस्कोप चलाएको डाक्टर
मल्टिनेसनल कम्पनीका हातले लेखिरहेको छ
बहुमूल्य प्रेस्किप्सन ।

आफ्ना हात मेनपावर व्यवसायीको टेबलमा बन्धकी राखेर
खाडीको भिसा हानेको मजदुर
विमानस्थलको ढोकाबाट अलप हुनुअघि हल्लाइरहेछ साहुकारले थमाएका हात ।

केही जोडा अदृश्य हातहरु छन् बजारमा
जो समय फर्काउँदैछन्
दासयुगको साँघुरो ओढारमा ।
अथवा, औद्योगिक युगको श्रमजालमा ।

एउटै कारखानाबाट सप्लाई भइरहेको छ
किसानले चलाइरहेका हात
आकाशे पुलमा माग्न बसेकाले फैलाइरहेका हात
समाजसेवीहरूले झुण्डाइरहेका हात
पुलिसले लठ्ठी घुमाइरहेका हात
न्यायाधीशले फैसला ठेलिरहेका हात
र कविले कविता लेखिरहेका हात 
मलाई सन्देह छ मेरै हातमाथि ।

यति नै बेला

चिहानबाट खोतलेर कार्ल मार्क्सको हात
अमेरिका लेख्दैछ
साम्राज्यवादी दस्तावेज ।

संग्रहालयमा सुतिरहेको माओका हात छिनालेर
चीन कोर्दैछ
सांस्कृतिक क्रान्तिको पुँजीवादी बाटो ।

महात्मा गान्धीका हात उधिनेर
भारत लेख्दैछ
राष्ट्रवादको नयाँ आतंक ।

खुलाबजारमा
हातहरुको अन्तर्राष्ट्रिय व्यापार छ ।
जहाँ स्थानीय हातहरु हत्कडीसँगै छन् ।

हात गुमाएको मजदुर
कुन हात हल्लाएर हिँड्दैछ ?
कुन हातको आवाज आइरहेछ भान्साबाट ?
कसले लेख्दैछ आजको समाचार ?
कसले पानी दिँदैछ कार्ल मार्क्सको चिहानमा ?
माओलाई लालसलाम गर्ने हात कसको हो ?

मलाई शंका छ जुलुसमा ठडिएका हातहरुमाथि
चिहानबाट उठेर एडम स्मिथ
देखाउँदैछन् एक जोडा अदृश्य हात…
(हामीलाई पढ्न दिइएको छैन स्मिथको अदृश्य हातको सिद्धान्त)

यति बेला
हाम्रै गोजीमा घुस्रिरहेका हातसमेत हाम्रा होइनन् ।
हाम्रा हातहरु
शरीरबाट छुट्टिएर
टाढा मालिकका खल्तितिर छन् । झोलातिर छन् ।
कारखानातिर छन् । खेत खलियानतिर छन् ।
कतै खाडीमा छन् । कतै झाडीमा छन् ।

शरीरबाट छुट्टिएपछि
आफैँसँग भएर पनि
हातहरु हाम्रा भएनन् ।
हाम्रा हातहरु स्वतन्त्र बजारमा लिलामीमा छन् ।

नाेट : प्रस्तुत कविता कविकै फेसबुक वालबाट लिइएको हाे ।