मजदुरहरुको विकसित स्वरुप र हाम्रो सांगठनिक कार्यभार

मजदुरहरुको विकसित स्वरुप र हाम्रो सांगठनिक कार्यभार

नयाँ, उदियमान र क्रान्तिकारीवर्गको रुपमा मजदुरवर्ग नेपाली समाजको सबैभन्दा ठुलो शक्ति बनेर अगाडि बढिरहेको छ । विक्रम सम्वत् १९९३ मा विराटनगरको जुट मिल स्थापना गरेर औद्योगिक श्रम बजारको सुरुवात भएको ८६ बर्षमा झण्डै ६० लाख नेपाली श्रम शक्ति परिचालन भैरहेको अनुमान गरिन्छ । संसारमा जस्तै नेपालमा पनि मजदुरहरू परम्परागत औद्योगिक शाखाहरुमा मात्रै होइन उत्पादन र बितरणका नयाँ नयाँ शाखाहरुमा केन्द्रित भैरहेका छन । विज्ञानमा भएको नयाँ नयाँ खोज र प्रगतिको परिणामस्वरूप आधुनिक उन्नत प्रबिधिका कारण उत्पादनमा भएको तिब्रतासँगै खासगरी सेवाका क्षेत्रमा मजदुर हरुको सघन उपस्थिति आजको श्रम बजारको विशेषता छ । यस्तै विशेषताका कारण नेपालमा पनि श्रम क्षेत्रका विविध शाखाहरुमा मुख्यतः सेवा क्षेत्रमा श्रमिकहरुको प्रवेशको दर अत्यधिक बढ्दो छ । परम्परागत उत्पादन पद्धति र साधनहरुले उत्पादनमा भुमिका खेल्दा मजदुरहरुको जे जसरी वर्गिकरण गरिने अवस्था थियो आजको विश्वमा बिकसित भैरहेका उत्पादनका साधन, औजार अथवा प्रविधिहरुले मजदुरहरुको कसरी परिभाषित गर्ने भन्ने प्रश्न उठिरहेको पनि छ यद्यपि यो कुनै नयाँ प्रश्न नभएर समय समयमा चर्चा परिचर्चा हुदै आएको प्रश्न हो । श्रम बिभाजन र श्रम बजारको चरीत्रले गर्दा कस्ता प्रकृतिको काम गर्ने मानिसलाई मजदुर भन्ने कस्तोलाई मजदुर नभन्ने भनेर समेत प्रश्न उठिरहेको छ । यस्ता प्रश्नको समेत जवाफ दिदै जानुपर्ने हुन्छ । परम्परागत औद्योगिक शाखाहरुको स्थान नयाँ नयाँ आधुनिक शाखाहरु बिकशित हुने क्रम तीब्र छ । विद्युतिय प्रबिधि, जैविक र रासायनिक उद्योग मात्रै होइन सेवामुलक श्रम र वस्तु सेवाका क्षेत्रको बिकास र बिस्तारले मजदुरको स्वरुप समेत परिवर्तन हुँदै गरेको प्रष्ट देख्न सकिन्छ । श्रम बजारमा मानसिक र शारीरिक श्रमका नयाँ नयाँ क्षेत्रहरु विस्तारित हुँदै छन । श्रमिकहरुको वर्गीकरण उत्पादन मुलक, निर्माण मुलक, सेवा मुलक भनेर गरेपनि खासगरी प्रविधिको बिकासले पैदा गरेका आधुनिक मानसिक वा वौद्धिक श्रममा संलग्न मानिसहरुको वृद्धिले बिगतमा पहिरन आधारित सेता र निला बस्त्र मात्रै होइन खैरो, रातो, सुन्तला जस्ता विविध रंगमा परिभाषित र परिचीत गराउँने प्रचलन समेत भैसकेको छ । विज्ञानका जतिजति शाखाहरुको वृद्धि हुदै जान्छ मजदुरहरुको स्वरुपमा पनि त्यही अनुसार परिवर्तन हुनु चाहिँ श्रम बजारको चरित्र हो । जीव विज्ञानका, भौतिक विज्ञानका, रासायनिक विज्ञानका जस्तै इन्जिनियरिङ क्षेत्रमा समेत दर्जनौं शाखाहरुको विकासले सो क्षेत्रमा तिब्र गतिमा दक्ष र उच्च–दक्ष श्रमिकहरु पैदा भइरहनु आजको श्रम बजारको विशेषता हो । मुख्य कुरा श्रमशक्तिको क्रय–बिक्रयमा उसको भुमिका के हो भन्ने प्रश्नले त्यसको फैसला गर्दछ । उत्पादनका साधनमाथि कब्जा गरेर बसेको वर्ग बाहेक श्रमशक्तिको बिक्रि गरेर बाँचिरहेका वर्ग सबै मजदुर वर्ग हुन् भनेर परिभाषित गर्नु सहि हुन्छ ।


देशको आधा श्रम शक्ति अर्थात झण्डै ६० लाख नेपाली मजदुरहरू विश्वका ११० देशका श्रम बजारमा फैलिएका छन यद्यपि त्यसको ठूलो हिस्सा भारत लगायत मध्यपुर्व, मलेसिया र कोरिया जस्ता मुलुकमा रहेका छन् । देशीय श्रम बजारको संकुचन र पारिश्रमिकको न्युनताले बढ्दो आवश्यकता र आकांक्षा पूर्र्ति हुने संभावना छैन परिणामतः नेपाल लगायतका श्रमिक आप्रवासन तेस्रो बिश्वका मुलुकका श्रमिकको प्रवृत्ति नै रहेको छ । यद्यपि दोश्रो विश्वका मुलुकहरूबाट विकसित मुलुकहरू आप्रवासी हुने प्रवृत्ति पनि छ । रोजगारी र अबसरको खोजिमा विकसित मुलुकहरूमा दक्ष श्रमिकहरुको स्थायी रुपमा हुने आप्रवासनका साथै धेरै ठुलो संख्यामा रोजगारी खोजी तथा तुलनात्मक रूपमा राम्रो तलब सुबिधाको अपेक्षाले शारीरिक श्रमको निम्ति बिदेशिने लहर झन पछि झन बढ्दैछ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरूमा स्थायी आप्रवासन सम्बन्धित देशका श्रमिकहरुले नरुचाएको श्रम बजारको खाचो पुर्ति गर्न तुलनात्मक सुविधाजनक कामको खोजी गर्ने युवा शक्तिका लागि गन्तव्य समेत बनिरहेको छ । आजको पुँजीवादको चरीत्र एकाधिकारि र बिश्वब्यापी छ । यो देशिय सिमाहरु छिचोल्दै नाफाको निम्ति भुमण्डलिकृत बनेको छ । उत्पादनका साधनहरुको तिब्रतर विकासले पुराना औद्योगिक प्रणालीको ठाउँ नयाँ प्रणालीले लिदै छ । पुराना औजार तथा प्रविधिको ठाउँ नयाँ प्रविधिले लिने क्रम तीव्र र उच्चतम अवस्थामा छ । कयौं क्षेत्रमा श्रम–सीपका दक्षताको स्थान नयाँ नयाँ दक्षताको आवस्यकताले लिदै गएको छ । शारीरिक श्रमको शोषण झन बढ्दैछ । श्रम बिभाजनको प्रक्रिया र मजदुरहरुको वर्गिकरण बिस्तारित हुँदै छ । उच्च–दक्ष, दक्ष र कम दक्ष श्रमिकहरुको खाडल मात्रै बढेको छैन नयाँ–नयाँ प्रविधिको छिटो छिटो विकासको रफ्तारले उच्च–दक्ष भनिएका श्रमिकहरुमा समेत बेरोजगारी वृद्धि दर बढ्दैछ परिणामतः बौद्धिक तथा मानसिक श्रमको शोषण पनि बढीरहेको छ । प्रविधियुक्त उत्पादन पद्धतिले भुमण्डलीकृत चरित्र ग्रहण गर्दै छ । भर्चुअल उत्पादन पद्धति र त्यस्ता कार्यप्रणालीमा जोडिने श्रमिकहरुको संख्या बढ्दै छ । यसले मानसिक श्रमको बजारलाई बिश्वब्यापी समेत बनाइदिएको छ । कतिपय मानिसहरू यस प्रकारको कार्यप्रणाली र उत्पादन सम्बन्ध बुझ्न र शोषणको सुक्ष्म रूप देख्न सकिरहेका छैनन् । खासगरी मानसिक श्रमको क्रय–बिक्रय र शोषणको चरित्रलाई बुझ्न सकिएन भने आजको मजदुर आन्दोलनलाई नव– उपनिवेशवादी वैचारिक भ्रमबाट मुक्त गर्न सकिँदैन । मानसिक श्रम र भर्चुअल उत्पादन पद्धतिमा बौद्धिक श्रमिकहरुको शोषण र त्यसमाथि खडा भएका एकाधिकारी पुँजीपती, विकसित मुलुकहरु र सिमित मानिसहरुको नियन्त्रणमा उत्पादनका साधन जसमा प्रविधिको भूमिका महत्वपूर्ण छ सङ्केन्द्रीत छ । यो अन्तर्विरोधलाई बुझेर मात्रै आजको मजदुर आन्दोलनलाई नेतृत्व गर्न सकिन्छ ।

उत्पादन प्रणाली अनुसार मजदुरहरुको स्वरुपमा परिवर्तन आउने गर्दछ । मेशिनहरुको आधुनिकीकरणसँगै श्रम विभाजनका नयाँ–नयाँ स्वरुप देख पर्दछन् । नाफाको निम्ति पुँजीपतिवर्गले उत्पादन साधन वा औजारहरुलाई उन्नत र परिष्कृत गर्दै लैजानुपर्ने हुन्छ । यद्यपि मानवीय श्रम बिस्थापन गर्न सम्भव छैन । उत्पादन प्रणालीमा हुने परिवर्तनले हज्जारौं मजदुरहरु एउटै औद्योगिक प्रतिष्ठानमा केन्द्रीकरण हुने अवस्थालाई रोक्न सम्भव भएपनि विकेन्द्रीत उत्पादन प्रणाली मार्फत मानवीय श्रमशक्ति श्रम बजारमा छरिएर रहेको हुन्छ । विज्ञानको क्षेत्रमा भएका नयाँ–नयाँ खोजहरुले उत्पादनका साधनहरुको परिष्कार भएर बनेका आधुनिक प्रविधिले उच्च–दक्ष, दक्ष श्रमिक तयार गरेपनि मानसिक र शारीरिक दुवै श्रमिकहरुमाथि शोषण गर्ने चरित्र फेरिने छैन बरु यसका रूपहरु जटिल, सूक्ष्म र गुप्त हुने गर्दछ । आजको युग प्रविधिको युग हो । अब विगतमा जस्तो श्रमशोषणको पुंजीवादी चरित्र छैन भने र गरिने बहस यस्तै रूपहरुलाई बुझ्नु नचहानुको परिणाम हो । आजको उत्पादन र वितरक, श्रमिक र पुंजीपतिबिचमा रहने अनेकौं संरचना र समयन्त्रका कारण शोषणको पिरामिड देख्न, बुझ्न र व्याख्या गर्न जटिल भएपनि यो असमधेय छैन । मानसिक श्रम र शारीरिक श्रमका बिचमा बिरोध सिर्जना गरेर मजदुर आन्दोलनलाई विभाजन र कमजोर बनाउन तथा पुँजीपतिवर्गले मजदुर आन्दोलनमा लगानी गरेर अभिजातवर्ग पैदा गराउने प्रयत्न भैरहेका छन । त्यसका बाबजुद श्रम र पुँजीका बिच चर्कदै जाने विरोधले विश्वब्यापी समाजवादी विचार र संगठनहरुको विकासको सम्भावनाको ढोका खोल्ने छ । पुँजीको विश्वव्यापी परिभ्रमण सँगसँगै मजदुरहरुको पनि बिश्वब्यापीकरण हुँदै गएको छ । यसले श्रम शोषणको बिश्वब्यापी चरित्र बुझ्न र मजदुरहरुका बिचमा अन्तर्राष्ट्रिय एकता र भाइचारासम्बन्धको विकास गर्नुपर्ने आवश्यकतालाई समेत बोध गराउँदै लगेको छ । यस्तो परिस्थिति र संभावनाका बिच हामीले संसारमा भएका मजदुर संगठनका बिचमा सम्बन्ध र सहकार्यको विकास कसरी गर्न सकिन्छ त्यसमा प्रयत्नशील रहनु पर्दछ । नव–औपनिवेशिकतावादको भण्डाफोर पर–आश्रित अर्थतन्त्र र अपमानित कमारो अर्थतन्त्रको विरोध तथा स्वाधिन अर्थतन्त्र निर्माणको नेपाली आकाङ्क्षा प्रवल बन्दै जाने छन् । यस परिस्थितिमा संसारभर छरिएररहेका नेपाली मजदुरहरुको संगठन निर्माण गर्ने र नेपाली जनवादी–समाजवादी क्रान्तिको निम्ति विश्वव्यापी मोर्चा खोल्ने पहल लिन मेहनत गर्नु पर्दछ ।