पछिल्लो राजनीतिक परिस्थितिबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको धारणा

पछिल्लो राजनीतिक परिस्थितिबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको धारणा

प्रिय कमरेडहरु,
क्रान्तिकारी अभिवादन !


पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत)का बीच पार्टी एकता गरी संयुक्त राष्ट्रिय अधिवेशन मार्फत् महाधिवेशन आयोजक समिति निर्माण गरे पश्चात् केन्द्रीय सचिवालयको प्रथम बैठक सम्पन्न हुन गइरहेको छ । यस बैठकमा सर्वप्रथम नेपाली जनआन्दोलन, दश वर्षीय महान् जनयुद्ध र विश्व क्रान्तिको प्रक्रियामा प्राणको आहुति दिने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ! राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरुमा विशेष सम्मान ! घाइते अपाङ्ग योद्धाहरुप्रति पनि हार्दिक सम्मान !

१. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी एकताको प्रक्रिया तथा आधार र आगामी कामका विषयमा हालै सम्पन्न संयुक्त राष्ट्रिय अधिवेशनमा पारित राजनीतिक प्रतिवेदनमा आवश्यक रुपमा उल्लेख भइसकेको छ र यहाँ ती विषयबारे पुनः उल्लेख गरिरहन आवश्यक देखिँदैन । परन्तु त्यस यता विकसित कतिपय सन्दर्भबारे छोटो चर्चा गर्नु उपयुक्त नै देखिन्छ ।

२. हालै नेपालका प्रधानमन्त्रीको औपचारिक रुपमा भारत भ्रमण सकिएको छ । त्यस प्रक्रियामा जे जस्ता घटना घटेका छन् ती स्वाभिमानी नेपालीका लागि अत्यन्तै लज्जास्पद र नेपालको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताका लागि निकै खतराजन्य देखिएका छन् । प्र.म. प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा भारतको नवनिर्मित संसद भवनमा नेपालका कपिलवस्तु लगायतका क्षेत्रहरु समावेश गरी साम्राज्यवादी÷विस्तारवादी अखण्ड भारतको नक्साङ्कन गरिएको छ । एकातिर छलफलको विधि तथा प्रक्रिया नै नपुु¥याई राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरिएको छ भने अर्कोतिर नागरिकता प्रदान गरिनुपर्ने वास्तविक नेपालीहरुलाई समावेश नगरी अन्य पक्षलाई विशेष महत्व दिइएकोले यो विधेयक अन्तर्वस्तुका दृष्टिले गलत रहेको छ । भारतमा दुई पक्षका बीच जुन सातबुुँदे सम्झौता भएको छ, त्यो नेपाल होइन भारतीय शासकवर्गकै हितमा रहेको छ । प्रायशः सम्झौताहरु जलविद्युत क्षेत्रसित सम्बन्धित रहेका छन् । कर्णाली–फुुकोट र अरुण १ सुम्पेर भारतसित आत्मसमर्पण गरिएको छ । कालापानी, सुुस्ता लगायतका नेपाली भूभागमा गरिएको सीमा अतिक्रमणको विषयलाई गम्भीरतापूर्वक उठाइएको छैन र त्यसलाई कूटनीतिक वार्ता मार्फत् हल गर्ने भनी झारा टार्ने हिसाबले पुरानै सचिवस्तरीय संयन्त्रलाई नै जिम्मा दिइएको छ । इपीजीको प्रतिवेदनबारे कुरा उठाउँदा वातावरण बिग्रने देखेरे त्यसलाई पन्छाइएको तर्क दिइएको छ । यति हुँदा हुँदै पनि थप राष्ट्रघात तथा राष्ट्रिय आत्मसमर्पणवादमा आधारित यो भ्रमणलाई विश्वासको वातावरण बनाउन मद्दत पु¥याएको र परिणाममुखी भएको भनेर प्र.म.द्वारा महिमामण्डित गरिएको छ ।

३. प्र.म.को भारत भ्रमणको ठीक अघि १७ खर्व ५१ अर्व ३८ करोडको आकारमा बजेट पेश गरिएको छ । यो बजेट सारतः पहिलेकै सरकारहरुद्वारा पेश गरिने परम्परा र शैलीमा आधारित छ । यस बजेटबारे प्रतिपक्षद्वारा विरोध र सत्तापक्षद्वारा समर्थनमा बोल्नै पर्ने कर्मकाण्डी प्रचलनको हास्यास्पद रुपमा पुनरावृत्ति भएकै छ । तर, यो बजेट नवउदारवादी साम्राज्यवाद÷विस्तारवादको निजीकरण र स्वार्थमा आधारित रहेको तथ्यलाई उजागर गर्ने हिम्मत कसैले पनि गरेको देखिंदैन । यो एकदमै विडम्बनाको विषय हो । हिजोको जस्तै आयातबाट प्राप्त राजस्व तथा विप्रेषणबाट प्राप्त विदेशी मुद्रामा धानिन खोजेको यो बजेट नेपाली जनताको हितमा छैन र यसले आसन्न सङ्कट वा महामन्दीको सामना गर्ने सामथ्र्य पनि राख्दैन ।

४. अहिले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको भ्रष्टाचार र राष्ट्रिय अपराध अत्यन्तै नग्न रुपमा उजागर भएको छ । यस परिघटनाले एकातिर केही कम्युनिस्ट नामधारी तत्व र अर्कोतिर आफूलाई संसदीय लोकतन्त्रको मसिहा बताउँदै आएका कतिपय यथास्थितिवादीहरुको आसन डगमगाइ दिएको छ । उपल्लो तहमा अनुसन्धानको काम गरिएको छैन । यसबाट संसदवादी यथास्थितिवादी तत्वहरुद्वारा संस्थागत रुपमा भ्रष्टाचारलाई मौलाउन दिइरहेका छन् र यो संसदीय व्यवस्थाको विशेषता नै हो भन्ने स्पष्ट हुन्छ ।

५. यो स्थितिमा एकातिर पुनरुत्थानवादी शक्तिहरु संसदीय गणतन्त्र तथा धर्मनिरपेक्षताको विकल्पमा राजतन्त्र तथा हिन्दुधर्मको जोडदार रुपमा वकालत गर्न गइरहेका छन् भने अर्कोतिर साम्राज्यवादका नयाँ दलालहरु आपूmलाई संसदवादी राजनीतिक दलहरुको विकल्प र संसदीय लोकतन्त्रको असली पक्षधरका रुपमा पेश गर्न निर्लज्ज कसरत गर्न थालेका छन् ।

६. एक नं. प्रदेशमा कोशी नामाकरणको विरोध र पहिचानका आधारमा नामाकरण हुनुपर्ने विषयलाई लिएर लामो समयदेखि आन्दोलन चल्दै आएको छ । हामीले त्यस आन्दोलनको समर्थन गर्नु पर्दछ ।

७. आज देशमा प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था र तिनको प्रतिनिधित्व एवम् संरक्षण गर्दै आएका संसदवादी राजनीतिक दलहरु गम्भीर सङ्कटको भुमरीमा फस्दै गएका छन् र ती सबैप्रति जनतामा वितृष्णा पैदा हुँदै आएको छ । नेपाली जनता वास्तविक परिवर्तन र अग्रगामी विकल्पको खोजीमा छन् । परन्तु, साम्राज्यवाद÷विस्तारवादले एकातिर पुराना दलाल राजनीतिक शक्तिहरुलाई अझ बढी आत्मसमर्पणवादी तथा अन्धभक्त बनाएर र अर्कोतिर अझै भरपर्दा नयाँ दलालहरु तयार पारेर प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाको संरक्षण गरी क्रान्तिकारी तथा अग्रगामी शक्तिलाई टाउकै उठाउन नदिने षडयन्त्र गरिरहेका छन् । यस स्थितिमा तमाम चुनौतीहरुको सामना र विकसित हुँदै गएका नयाँ संभावनाहरुको सदुपयोग गरी वैकल्पिक शक्ति तथा सत्ताको संवाहकका रुपमा प्रस्तुत हुनका लागि हाम्रो पार्टीले विशेष तयारी तथा पहल गर्न आवश्यक छ ।

८. पार्टी कामको आवश्यकता माथि दृष्टि दिंदै सचिवालयको यस बैठकको एउटा प्रमुख कार्यसूची राष्ट्रिय महाधिवेशनको केन्द्रीय आयोजक समिति, सचिवालय सदस्य र कार्यालय सदस्यहरुको कार्य विभाजन गर्ने रहेको छ । यस सन्दर्भमा बेग्लै प्रस्ताव तयार पारिएको छ र त्यसलाई यसै वैठकमा प्रस्तुत गरिने छ ।

९. राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित आधारभूत तथा ज्वलन्त समस्याहरु अर्थात् कालापानी, सुस्ता लगायतका नेपाली भूभागहरुमा हुँदै आएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरमरुपमा मौलाएको भ्रष्टाचार, मल्यवृद्धि तथा अतिशय महङ्गी, मजदुर, किसान, सुकुम्वासी लगायत विपन्न वर्गका जनजीविकाका समस्या, झुट्टो मुद्दामा पसाइएका राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइ, बैङ्कहरुको संरक्षणमा हुँदै आएका चरम सुदखोरी, मिटरब्याजी शोषण लगायतका विषयहरुलाई लिएर सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै जानुपर्दछ । यस सन्दर्भमा तत्काल निम्न अनुसार कार्यक्रम बनाउन आवश्यक छ ः

(क) उक्त विषयहरुलाई लिएर देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन तथा विभिन्न ढङ्गका सभाहरुको आयोजना गर्ने ।
(ख) उक्त कार्यका लागि आवश्यकता अनुसार सङ्घर्ष सञ्चालनका संयन्त्रहरुको निर्माण गर्ने ।
(ग) स्थानीय रुपमा स्थानीय समस्या समेतलाई उठाई जनपरिचालन अभियानहरु चलाउने ।
(घ) स्थिति र आवश्यकता अनुसार प्रतिरोध सङ्घर्षहरु सञ्चालन गर्ने ।

१०. पार्टीको आर्थिक समस्या समाधान गर्न मूर्त योजना निर्माण गरेर त्यसको कार्यान्वयन गर्ने ।
११. यो बैठक लगत्तै हामीले प्रदेश सङ्गठन समितिदेखि लिएर स्थानीय तहसम्म र सबै मोर्चाहरुको माथिदेखि तलसम्म एकीकरणको प्रक्रियालाई सम्पन्न गर्नु पर्नेछ । यस निम्ति सर्वप्रथम प्रदेश सङ्गठन समितिहरुका बैठक बस्ने र ती बैठकहरुमा राजनीतिक प्रशिक्षणको व्यवस्था पनि गरिने छ । यस प्रकारका प्रशिक्षणहरुमा जवस मोर्चाहरुमा कार्यरत कमरेडहरुलाई पनि समावेश गरिने छ । हामीले स्थानीय रुपमा संगठन विस्तारका काममा विशेष जोड दिनु पर्नेछ ।
१२. उक्त कार्य सम्पन्न गरे पश्चात् विचारधारात्मक, राजनीतिक तथा साङ्गठनिक विषयमा स्कूलिङ् सञ्चालनको व्यवस्था गरिने छ र त्यसलार्य केन्द्रीय कार्यालयद्वारा मूर्तिकृत गरिने छ ।

१३. साङ्गठनिक क्षेत्रमा सबै तहमा तलदेखि माथिसम्म कामको रिपोर्टिङ् गर्ने र माथिदेखि तलसम्म निरीक्षण तथा अनुगमन गर्ने प्रणालीलाई अवलम्बन गरिने छ ।

१४. सङ्गठन तथा सङ्घर्ष सम्बन्धी कामका क्षेत्रमा क्रियाशीलता, कार्यक्षमता, सैद्धान्तिक तथा राजनीतिक स्पष्टता, जिम्मेवारी पुुरागर्ने तत्परता जस्ता विषयलाई मापदण्ड बनाई नेता तथा कार्यकर्ताहरुको मूल्याङ्कन गर्ने पद्धतिलाई स्थापित गरिने छ ।

१५. पार्टी एकीकरणको प्रक्रियामा कतिपय नेता कायकर्ताहरुको साङ्गठनिक व्यवस्थापन तथा कार्यविभाजनको क्षेत्रमा हाम्रा कमी, कमजोरी तथा सीमाहरु रहेका छन् । हामी तिनलाई सच्याउँदै अगाडि बढ्ने छौं । माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको आवश्यकता अनुसार पार्टी एकतालाई मूर्त रुप दिएर हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान् कामको प्रक्रियालाई अगाडि बढाएका छौं । अव यो एकतालाई विचारधारात्मक, साङ्गठनिक तथा भावनात्मक रुपमा पनि सुदृढ तुल्याउँदै एकता–सङ्घर्ष–रुपान्तरणका आधारमा एक पछि अर्को अग्रगामी छलाङ् हान्दै जान आवश्यक छ ।