साताको साहित्य : निबन्ध
प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमणपछि सामाजिक सन्जालमा रङ्विरङ्का तस्वीर र टिप्पणीहरू आए । मुलुकको सरकार प्रमुखको हैसियतले छिमेकी राष्ट्रसँगको भ्रमणमा कुटनैतिक सम्बन्धको सुधार र आपसी मित्रता सद्भाव छलफल र सन्धी सम्झौताको लेनदेन हुनु स्वाभविक हो, तर यो भ्रमणपछि प्रचण्डको एउटा कार्यक्रमको बारे निकै खरो आलोचना र टिप्पणीहरू सतहमा आएका छन् । प्रचण्ड एउटा देशको प्रधानमन्त्री मात्र होइनन् उनी समाज बदल्ने अभियानको मूल नेतृत्वमा स्थापित भएका पात्र हुन् । उनले जुन विचार र आस्था बोकेर आन्दोलनको नेतृत्व गरे केही प्राप्ती पनि भयो । उनले आत्मसात गरेको विचार, दर्शन र सिद्धान्त भौतिकवादी दर्शनमा आधारित थियो । यसपटकको भारत भ्रमणले उनीमाथी रहेको बिश्वास र आस्था आम भौतिकवादका समर्थकहरूले पत्यार मान्ने आधार भत्काइदिए । खासगरी माओवादी आन्दोलनमा जोडिएका सबै कार्यकर्ता र समर्थकहरूलाई उनको पहेँलो भोटो र पूजापाठको दृश्यले झस्काइ दियो । उनले दिने गरेका बिगतका प्रशिक्षणका बिरूद्ध पछिल्लो गतिबिधिले प्रश्न समेत उठाएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा केही पात्रहरूमा जीवनको उत्तरावस्थामा देखिने अवरोह प्रचण्डमा पनि देखिनु अनौठो त होइन तर कम्युनिस्ट पार्टीको अध्यक्षको दाबी गरिरहँदा यो भद्दा दृश्यले चाहिँ इतिहास र बर्तमानलाई भौतिकवादी आँखाले हेर्ने र बुझ्नेहरूमा नकारात्मक स्थिति देखिएको छ । मानव चेतनाभित्र वस्तुलाई बुझ्ने र लागुगर्ने एउटा मान्यता रहन्छ । वस्तुको बैज्ञानिकता वा परम्परित मान्यता मध्ये कुन चाहिँ ग्रहणयोग्य हो द्वन्द्वको आँखाले हेर्नुपर्ने पाठ पढाउँदै आएका प्रचण्डले आफैँ उभिएर अवस्तुवादी गतिबिधिमा सरिक हुनुले प्रचण्ड दोश्रो पुस्तामा रूपान्तरित भैसकेको ठोकुवा गर्न सकिन्छ । महाकालेश्वर मन्दिरमा पीत पहिरनमा रुद्राक्ष दान गर्नु र कुशपानी छोएर पण्डा बाबाहरूको संस्कृतको सङ्कल्प श्रवण गरेर ध्यानस्थ हुनुले उनीभित्रको भौतिक चेतना ढोङ हो कि यो गतिबिधिको अवस्थिती ढोङ हो भन्ने ब्यहोरा छुट्याउन कठिन भएको छ । मानव चेतनाभित्र उब्जिएको आस्था वा बिश्वास उसले ग्रहण गरेको सामाजिक, आर्थिक सम्बन्धले निर्धारण गर्छ । त्यो आस्था वा विचार उसले जीवनको हर दुःख कठिनाइमा पनि जोगाएर राख्दछ । त्यही नै उसको आदर्श हो । प्रचण्डलाई गुरु वा नेता मानेर पछि लागेका हजारौँ युवाहरू उनले दिएको बैज्ञानिक चिन्तनको गहिरो छाप बसेर नै हो तर आज के भैरहेछ प्रश्न जन्मियो ।
भारत भ्रमणको अवसरमा गरिएको यो धार्मिक वा आध्यात्मिक चित्रले दिएको सन्देश कम्युनिस्ट आदर्शलाई पच्छ्याउनेहरूका लागि उनको मुल्याङ्कन गर्ने बलियो आधार खडा गराएको छ । यो आकस्मिक देखावटी हो कि अन्तरमनदेखि उब्जिएको मान्यता हो भन्ने बिषयमा बहसको आवस्यकता आइपरेको छ । प्रचण्डको नेतृत्वमा सन्चालित महान् जनयुद्ध कालमा छिट्फुट रूपमा धार्मिक तथा सांस्कृतिक गतिबिधिलाई ध्वँश गरिएका घटना हेर्दा र यो अवस्थामा आउँदा के भन्नुपर्ने देखियो भने तात्कालिक ध्वँश वा निषेधका कार्यक्रम गलत थिए त ? होइन । प्रचण्डको पछिल्लो गतिबिधि गलत हो । नेपाली हिन्दू समाजमा सबैभन्दा रुढ चेतना कर्मकाण्डीय चिन्तन हो । सारमा भन्नुपर्दा यो संस्कार वा चिन्तन ब्राह्मणवादी चिन्तन नै हो । समतामुलक समाज निर्माण गर्ने उद्देश्यको पार्टी बताउने नेतृत्वले सांस्कारिक विचलनमा सरिक हुनु र त्यसबाट चोखिन अण्टसण्ट स्पष्टिकरण दिएर दुनिया ढाँट्नु झन् ठूलो पाखण्ड हो ।
भारतको भ्रमणबाट फर्किएपछि उनले आफू धर्मनिरपेक्षताको कट्टर पक्षपाती भएको बताइरहँदा र त्यो दृश्यलाई तुलना गर्दा अर्को महाझुठको पर्दा उघ्रिएको छ । धर्मनिरपेक्षता भनेको हिन्दूहरूको मन्दिर पुग्दा हिन्दू हुने र मुश्लिमहरूको मस्जिद पुगेर घुँडा धसेर अल्लाह पुकार्नु निरपेक्षता हो ? अथवा इशाइहरूको चर्च पुगेर आमेन गुहार्नु र बौद्ध गुम्बा पुगेर बुद्धमार्गी बन्ने धर्म निरपेक्षता हो ? जनता तथा कार्यकर्ता अन्योलमा छन् । प्रचण्डको पँहेलो पहिरनको भित्री रहस्यबारे धेरैले धेरै अड्कलबाजी गरेका छन् । ‘उनकी जीवन साथी सीताको स्वास्थ्य सुधारको लागि यसो गरियो’ केही मान्छेहरूको तर्क छ । यदि त्यही ध्येयले हो भने प्रचण्डमा त्यस खालको बिश्वास कसरी जाग्यो ? अर्काथरी मानिसहरूको तर्क छ ‘भारतीय समकक्षीलाई खुशी पार्न त्यसो गरियो’ के यो सामान्य तर्क हुनसक्छ ? कसैलाई खुशी पार्न आफ्नो आस्थाको बलिदान यो सैह्य हो ? त्यहाँ बाध्यात्मक अवस्था थियो यदि भने कुनै एउटा पात्र तयार पार्न पनि सकिन्थ्यो । हामीले देखिरहेका छौ राजा महाराजा वा शक्ति सम्पन्न ब्यक्तिहरूले खेतालो लगाएर धार्मिक÷सांस्कृतिक अनुष्ठान सम्पन्न गराएका छन् र प्रचण्डमा पनि त्यसो गर्न मिल्ने सम्भावना थियो । उनले त्यतातिर ध्यान दिएनन् । नेपालका प्रधानमन्त्रीहरूले धेरैले धेरैपटक भारत भ्रमण गरेका छन् र प्रत्येक भ्रमणपछि नेपालले आफ्नो स्वभिमान गुमाउँदै पनि आएको छ । बिगतमा भएका असमान सन्धीहरू (१९५०, गण्डक सम्झौता, कोशी सम्झौता, टनकपुर सम्झौता) ले नेपाल थिचिइरहेकै थियो र छ । त्यस्ता भ्रमणहरू राष्ट्रहितमा भएनन् । यसपटक भने सम्पदा बिक्री भन्दा ठूलो आस्था बिक्री भएको छ । प्रचण्डमा रहेको क्रान्तिकारी चेत पनि यो भ्रमणले समाप्त पारिदिएको छ । जनयुद्धकालमा भाइचाराको रूपमा व्यवहार र सरसहयोग लिनेदिने गरिएको भारतीय क्रान्तिकारी शक्तिका एक नेता गोपेलाई पक्राउ गरी भारतलाई सुपुर्दगी गरिनुले पनि शङ्का उब्जाएको थियो ।
वर्तमान भारत सरकारको नेतृत्व नेपाललाई हिन्दू राज्यको रूपमा देख्न र राख्न चाहन्छ । कम्युनिस्टहरू धर्ममा बिश्वास गर्दैनन् तर प्रचण्डले आफुलाई बताउने गरेका कम्युनिस्टको लोगो नक्कली रहेछ भनेर बुझ्न कुनै पुस्तक पल्टाउनु परेन । धर्मको बिषयमा मात्र होइन विचारको बिषयमा पनि प्रचण्डसित नेपाली जनताले उठाउनु पर्ने प्रश्नहरू थुप्रै ठाउँ छन् । जनयुद्धको प्राप्तिहरू एकपछि अर्को गुम्दै जाने खतरा कसको कारणले भएको छ ? सिँहावलोकन जरुरी छ । जनयुद्ध योजनामा नै भएको थियो भन्ने बिश्वास हराउँदै जाँदा कतै त्यो परिघटना भावनामा मात्र थिएन भन्ने प्रश्न जन्मनु स्वभाविक पनि हुन्छ ।
नेपाल सरकारको प्रमुखले भारत भ्रमण गर्ने तयारी गर्दै गरेको मौका छोपी बृहत् भारत भनिएको नक्सा सार्वजनिक ग¥यो । त्यसमा नेपाली भुभागलाई आफ्नो नक्सामा राखिएको थियो तर सरकार प्रमुखको हैसियतले त्यो बिषय उठ्नु पर्दथ्यो तर उठेन । प्रचण्डले यदाकदा आफुलाई आगोसित खेल्ने पात्रको रूपमा प्रस्तुत गर्दथे तर यसपटकको भारत भ्रमणले उनी भिरालोमा बग्ने पानी भएर देखिए ।
बिस्तृत शान्ती सम्झौतापछि सत्तालाई बुझ्ने र उपयोग गर्ने सवालमा प्रचण्डमा देखिएको पदलोलुपता वा सत्तामोह हजारौँ योद्धाहरूको बलिदानिमाथिको कुठराघात त हुँदै हो र यसपटक मोदीपथमा समाहित भएर मालेमाको आदर्शलाई तिलान्जली दिनुले अब प्रचण्डलाई शक्तिपीठहरूमा बसेका बाबाहरूको दाँजोमा बुझ्नु कुनै नौलो कुरा भएन ।
































