‘नेपाली क्रान्तिको जित अवश्यम्भावी छ’ भन्दै स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टीले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई पठायो यस्तो सन्देश

‘नेपाली क्रान्तिको जित अवश्यम्भावी छ’ भन्दै स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टीले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई पठायो यस्तो सन्देश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीचमा एकता भएर नेपाली मजदुर वर्गको एउटै पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएकोमा स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टी, स्वीट्जरल्याण्डले अत्यन्तै खुसी व्यक्त गरेको छ ।

उसले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एक सन्देश पठाउँदै भनेको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पठाइएको सन्देशमा भनिएको छ, “पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिक्रान्तिकारी, संशोधनवादी गुटले क्रान्तिलाई धोका दिनुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा नेपाली सर्वहारा वर्ग र जनता – विश्वको दोस्रो “गरीब” देश अर्थात् विश्वको दोस्रो सबैभन्दा शोषित देशका सर्वहारा वर्ग र जनताको संघर्षको गौरवशाली इतिहास छ ।

सन् २००६ मा जनयुद्ध चरम उत्कर्षतिर पुगेको बेला लगभग सिङ्गो नेपाल साम्राज्यवादको अनैतिक शोषणबाट मुक्त भइसकेको थियो, सामन्ती जमिन्दारहरूको मध्ययुगीन शासन समाप्त भइसकेको थियो र विदेशी एकाधिकार पुँजीपतिका भ्रष्ट उप–ठेकेदारहरू राजधानी काठमाडौतर्फ फर्किसकेका थिए — तपाइँहरुको देशको इतिहासमा पहिलो पटक मजदुर, किसान तथा अन्य श्रमिक जनताले सत्ता आफ्नो हातमा लिएका थिए ।

जनयुद्धको विजय भएको स्थितिमा निरंकुश राजतन्त्रको पतनको फाइदा उठाएर नेपालमा भारतीय विस्तारवादले आफ्नो बुट बजार्ने सोचेर गद्दार पुष्पकमल दाहाल र उसको गुटले नेपाली जनतालाई धोका दियो । उनीहरूले जनसत्ताको विघटन गरे, जनमुक्ति सेनाका लडाकुहरूलाई संयुक्त राष्ट्र सङ्घद्वारा सञ्चालित यातना शिविरमा थन्क्याए र जनताका बन्दुकहरू शत्रुको हातमा सुम्पिए – यसरी “प्रचण्डपथ” कुन दिशातिर जाँदै छ भन्ने कुरा सारा विश्वलाई देखाइदिए । पुष्पकमल दाहाल अहिले नेपालको प्रधानमन्त्री बनेका छन्, उनको आत्मसमर्पणबाट जनताले के पाए ? संशोधनवादीहरू, नक्कली कम्युनिस्टहरू अन्ततः एकै छिनमा क्रान्तिलाई धोका दिने अहंकारी पाखण्डीहरु बाहेक अरू केही होइनन् भन्ने शिक्षा पाए ।

यो पाठद्वारा सशस्त्र बनेका नेपाली जनताले तपाइँको पार्टीको नेतृत्वमा सही र उपयुक्त आम कार्यदिशामा अडिग रहेर सशस्त्र सङ्घर्षलाई पुनः अघि बढाउने छन् र त्यो पहिलेको जस्तै ठुलो उचाइमा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं । यसले माक्र्स, लेनिन र माओले हामीलाई निरन्तर सिकाउनु भए जस्तै क्रान्तिकारी सङ्घर्षका रणनीतिक सिद्धान्तहरूलाई उल्लङ्घन नगरी वर्ग सङ्घर्षको तरलताका बीचबाट सिर्जनात्मक ढङ्गले कार्यनीतिको परिचालन गर्ने कुराको माग गर्दछ । यसरी तपाइँहरुले क्रान्तिको वर्तमान चरणमा अवश्य जित हासिल गर्नुहुनेछ, त्यसमा नरोकिइकन समाजवादी क्रान्तिमा अगाडि बढ्नु हुनेछ र साम्यवादी समाजको निर्माणमा संसारभरिका उत्पीडित जनतासँग हातेमालो गर्नु हुनेछ ।”

९ मई २०१३ मा नै पठाइएको सन्देशमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल — जिन्दावाद !, संशोधनवाद — मुर्दावाद !, माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’ उल्लेख गरिएको छ ।