
ब्यङ्ग्यबाण
बिहान कलेज जाँदै थिएँ। लठुवाका श्रीमान श्रीमती हस्याङ्फस्याङ गर्दै बाटो काटेर आए। मैले मनमनै सोचेँ, “मलाई देखेछन् क्यार अनि बाटो काटेर मतिर आए होलान्।” तैपनि औपचारिकता निभाउन सोधेँ, “अनि हस्याङ र फस्याङ गर्दै बाटो काटेर यता आयौ त ? मलाई नै देखेर आका हौ त ?”

लठुवाले मुसुक्क हाँस्दै भन्यो, “हजुरलाई त हामीले देखेकै थिएन ; यता आएपछि झ्वाट्ट भेट भाको मात्रै हो। खासमा चैँ हाम्रो अगाडितिरबाट एक जना बहालवाला सचिव र एक जना भूतपूर्व मन्त्री मर्निङवाकमा आउँदै रछन्, हजुर! अनि फेरि हामी श्रीमान श्रीमती दुबै जना सङ्गै पनि भाको बेला थियो। कतै हामीलाई पनि नक्कली श्रीमान श्रीमती बनाइदिने पो हुन् कि भन्ने डरले हस्याङ्फस्याङ गर्दै बाटो काटेर तर्किन खोजेको ; हजुरसङ्ग भेट भयो राम्रो भयो। कति मरिहत्ते गरेर बा र काकाहरूलाई माग्न पठाएर अग्नि साक्षी राखेर हजुरकी लठुवीलाई झ्याइँ झ्याइँ पारेर बिहा गरेर ल्याको होइन र मैले? जन्ती त हजुर पनि गैस्या हो नि! अनि अहिले यो बुढेसकालमा नक्कली श्रीमान श्रीमती बन्नु पर्यो भने हाम्रो के गति हुन्छ? सचिब र मन्त्री अनि बिचौलिया मिलेपछि हाम्रो देशमा त जे पनि हुने रछ, हजुर।”
फेरि थप्यो लठुवाले, “अब मेरै घरतिर पसौँ, हजुर! लठुवीले मीठो कफि बनार खुवाउँछिन् हजुरलाई।”
जे जस्तो भए पनि लठुवाको बोलीचाली र लठुवीले बनाको कफि सार्है नै मीठो लाग्ने भन्या ।