साताको कविता
—
सूर्योदयसँगै जब तिमी
पूर्वी दिशा फर्किएर
सूर्य नमस्कार गर्न सुरु गर्छौ
हो, त्यही सूर्यको पहिलो झुल्को
यो देशको किरात-लिम्बू सभ्यतालाई
प्रथम चुम्बन गर्दै
तिमीसम्म आइपुगेको हो ।
बाँचुन्जेल बर्षेनी
छिमेकी मन्दिर र धामहरू धाएर
बिहान-बिहान उतैका
नदीनालाका नामहरू गाएर
मुक्ति खोज्ने तिम्रो मुख
किन भन्दैन स्वर्ग नेपालमै छ ?
यहाँका नदीको स्वच्छ पानीमा
पहाडी झरनाका मस्त जवानीमा
मृत्युपछि पनि विश्वास नगर्ने ,
त्रिस्थलीमै आदि र अन्त्य हुने
तिम्रो संस्कार र सभ्यता चाहिँ
कसरी नेपाली भयो ?
देश सबैको साझा हो भने
भेष सबैको समान हो भने
धार्मिक – साँस्कृतिक आभा र
भाषिक सुनगाभा मगमगाउँदा
नेपाल सुभाषित हुन्छ भने
अरुको पहिचानमाथि धावा बोल्ने
अधिकार तिमीलाई कसले दियो ?
यो देश सुन्दर फूलबारी हो
प्रत्येक फूलले फुल्न पाउनुपर्छ !
मार्सी , वासमती र कनक जिरा
वयली खेल्ने खेतबारीमा
कोदो र फापर झुल्न पाउनुपर्छ !
लालीगुराँसलाई शिरमा सजाएर
लालुपाते र बुकी कुल्चदै हिँड्ने
तिमी को हौ ?
पूर्वीय क्षितिजमा देखिएको
नयाँ नेपालको अरुणोदयलाई
ग्रहण लागेको देख्ने तिमीले
सिङ्गो ह्वाइटहाउसलाई
एम् सी सीमा चडाएर
त्रिभुवन विमानस्थलमा
ओरालेदेखि नै हो
तिम्रो खुट्टाले जमिन भुलेको
याद गरेस् राजन !
वादलमाथि पुगेर गिद्धले
एक दर्को पानी छले पनि
दाना खान त आखिर
यही धर्तीमा ओर्लनैपर्छ ।
यो सप्तरङ्गी देशको सौन्दर्य
खोक्पा राष्ट्रवादको जण्डिसले
पहेँलो हुँदै जाँदै छ !
ब्रह्माण्ड नाप्यो दुनियाँले
तिमीले देश नाप्न नसकेर
नदीनाला बेची खायौ ।
गर्विलो सभ्यताको जगमा उभिएर
अपहरित पहिचानको माग गर्ने
निहत्था जनता घरभित्रै मरिरहँदा
पहाडका चट्टानी आँखा निचोरिएर
आँसु होइन आलो रगत झरिरहँदा
संवेदनाहीन तिम्रो जिब्रो
हतियारसम्पन्न सिपाहीहरूले
टुँडिखेलमा कवाज खेलेझैँ
उही पुरातन सुर-तालमा
किन मनुस्मृति भट्ट्याउँदै छ ?
सुन झुलाएर मोती फुलाउने
यो देशका कर्मठ पाखुरासँग
सिगौरी खेल्नु पुरुषार्थ होइन
युगीन मौनता भङ्ग भएको
ऐतिहासिक दुर्लभ समयमा
आफ्नै छायादेखि तर्सिएर
निमुखा आवाजहरूलाई
आतंककारी घोषणा गर्ने
तिम्रो हैसियत के हो ?
समाप्त
२०८०/१/१८