साताको साहित्य : निबन्ध
शहरको भीडभाड र प्रदुषण भन्दा अलि पर रहेर जीवन गुजार्ने दैनिकीमा आफू र आफ्नो समुदायप्रती आँखा पुग्दो रहेछ ।बालबयका दिनहरु छिचोलेर युवा जोश पारगरेपछी भोग्नु परेको सामाजिक विधि ब्यबहारले कुनैबेला उद्गिन बनाउछ । आफू बाँचेको समाजले भोग्दै आएको रिति संगाती र दुख कष्टको अनिवार्य हिस्सेदार बन्नु नागरिकको कर्तब्य हो र समाजले खप्दै र ब्यहोर्दै आएका अस्वीकृतिको अन्त्य गर्न लागि पर्नु पनि उसको दायित्व हो ।
यो युग सुचना र प्रविधिको युग भएकोले कतिपय बिषयले मन छुने हुदा अक्षरहरुको माध्यमबाट निवारणको प्रयत्न गरिनु पनि नागरिक दायित्व हुने रहेछ । अहिलेको युगमा ब्याप्त सुचनाले समाजमा भैरहेका गतिबिधिलाई तुरुन्तै जनसामु पुर्याउछ । कुनै बस्तु वा घटनाबारे तत्काल चासो राख्नु पर्ने पनि हुन्छ । सामाजिक सन्जालमा समाचार हरु आएका छन ” अमुक जातको मकैमा दाना लागेन ।” केही बर्ष अघि यस्तै समचार आएको थियो ” गौरी जातको धानमा दाना लागेन ।” समाचारहरु मिथ्या होइनन । र यो अवस्था भोग्न बाध्य हाम्रै दाजुभाइ हुन । यसो किन हुन्छ यसबारे बहस छलफल गर्न ढिला भैसकेको छ । लोभले लाभ लाभले विलाप हामी नेपालीहरुको मुखमा झुण्डिएको लोकप्रिय उखान यी घटनाहरुले पुष्टि गरेका छन । स्थान विशेष वा बर्ष विशेष मात्र होइन नेपाली माटोमा वर्णशङ्कर उत्पादनको मोहले यो स्थिती पैदा गरेको हो र अर्को खतरनाक योजना शक्ति सम्पन्न राष्ट्रहरुले साना राष्ट्रमा आफ्नो कब्जा जमाउन उत्पादनमा शून्य बनाउनु हो ।
हामी कृषि प्रधान देशका बासिन्दा हौँ तर हाम्रो उत्पादनले आत्मनिर्भर हुन नसकोकोले बाह्य उत्पादनमा भरपर्नु पर्ने अवस्था आएको छ । हाम्रो परम्परित उत्पादन र बिउबिजन भण्डारण बिज्ञान सम्मत भएन भनेर हामिले आफ्नो बिउबिजनको मान्यतालाई भत्काउन थाल्यौँ र उन्नत जातको नाउँमा बिना परिक्षण बाहिरी मुलुकहरुले बिज्ञापन गरेकै भरमा त्यतै दौडियौँ । यसले गर्दा हाम्रा खेतबारी बाँझिने खतरा पैदा भएको छ । एकातिर सिँचाइ योग्य समथर जमिनमा आवासको परिकल्पनामा क्रङ्किट रोपिँदै छ भने अर्कोतिर श्रमशक्तिको अभवमा बाँकी रहेका उत्पादनशील जमिन पनि बाँझो जग्गामा परिणत हुँदै छ । हामिले हाम्रो रैथाने अन्न बालिलाई उचित संरक्षण गर्न सकेनौँ । यिनीहरुको बैज्ञानिक तरिकाले खेती गरि चिरस्थायी बनाउनु पर्नेमा अर्कै बाटो फड्कने दुस्सहास गर्यौँ र घातक परिणाम ब्यहोर्नुपर्ने अवस्थामा पुग्यौँ ।
अन्नबाली मानव जीवनको प्राण हो । मानव चेतना अरु प्राणिहरुको तुलनामा उन्नत चेतना हो हाम्रा पुर्खाहरुले लामो समय खोज अनुसन्धान गरि खाद्यान्नको शृङ्खला बसालेका हुन । हामी माटोको गुण र वातावरणिय परिस्थितिसङ्ग मेल खाने किसिमका खाद्य बालिको खेती गर्ने गर्दथ्यौँ । मौसमी उत्पादनलाई साँस्कृतिकरण गरेर पुस्तान्तरित हुँदै यहाँसम्म आइपुग्दा माटो पानी र वातावरण प्रतिकुल बिउबिजनको प्रयोगले परम्परित मान्यता नराम्रोसित भत्कियो । पुरानो भत्किनु नराम्रो होइन तर नयाँ नसप्रिनु नराम्रो अवस्य हो । पुरानो उत्पादनलाई परिमार्जन र बैज्ञानिकिकरण गर्दै लैजानु पर्नेमा बाहिर आएका समाचारहरुले निषेधिकरण उन्मुख हुन उद्दत देखिन्छ । हामी जुन अवस्थामा रहे पनी हाम्रालागी खाद्यान्न नभै नहुने भएकोले बाह्य उत्पादनमा निर्भर हुन बाध्य हुनुपर्ने अवस्था न आउला भन्न सकिँदैन । बढी उत्पादन लिने नाममा हामिले भुइँको टिप्दा पोल्टोको खेर फालिरहेछौँ ।
हाम्रा रैथाने अन्न पोषण तत्वले पुर्ण छन भनेर जान्दा जान्दै पनि हामी निर्धक्क खेती गर्न हिच्किचाउछौँ । हाम्रा खेत बारीमा उत्पादन भएका रैथाने जातका अन्नको भण्डारणलाई बैज्ञानिकी बिधिले संरक्षण गरियो भने हाम्रो अर्थतन्त्र पनि मजबुत बन्दछ भन्ने हामीलाई थाहा छ तर हामी माउ गए घमाउदै पाडा गए रमाउदै भने झैँ देखासिकिमा रमाउछौँ ।
अहिले विश्वबजारमा बहुराष्ट्रिय कम्पनिले खाद्य पेय मात्र नभै बिउबिजनको समेत उत्पादन गरेर बजारमा एकाधिकार कायमको कसरत गरिरहेको छ । अर्ध बिकशित मुलुकहरु उसको चङ्गुलमा फँसिसकेकाछन भने अब बिकाशशील मुलुक मध्येको बासिन्दा हामी पनि त्यो भुमरीमा पर्नु पुर्व सचेत हुन जरुरी छ ।
केहिबर्ष अघिदेखी हाम्रो मुलुकको सरकार अस्थिर छ । यस्तो सरकारले किशान र अन्य उपभोक्ताको हित बारे सोचदैन उसले आफ्नो पार्टी र गुटकोबारे मात्र चिन्ता गरेको चरित्र हामी सामु छर्लङ्ग छ ।
बाहिरी मुलुक वा अनधिकृत बीउ बिजन उत्पादन कम्पनिको बीउ न उम्रिएको समस्या मात्र होइन बाहिरबाट आयतित तरकारी फलफूल पनि बिषादी प्रयोगले स्वास्थ्यका लागि उपयोग्य छैन तर काग कराउदै गर्छ पिना सुक्दै गर्छको उखान सदाबहार लागू भएको छ । नेपालि बजारमा स्वदेशी उत्पादनले स्थान नपाउनु र बिदेशी उत्पादन भरमार चल्नुको पछि सरकारी वा सरोकार वालाहरुको मिलिमतो हो भन्न हिच्किचाउनु हुदैन । स्वच्छ हावापानीमा उत्पादन गरिएका तरकारी फलफूलको खरिद बिक्रीमा अनावस्यक झमेला निकाल्ने तर बिदेशका निर्यातकर्तालाई बेरोकटोक प्रवेश दिनु देश र जनताप्रतिको ठूलो गद्दारी हो । यस्तो गम्भिर बिषयमा किसानहरु मात्र होइन आम उपभोक्ता सजग हुनु आवस्यक छ । यो सवाल मुख्यत जनजीविकाको सवाल हो । हामी खबर पढेर बेखबर हुने होइन सिङ्गो मुलुकमाथी उत्पन्न हुन लागेको सङ्कटको बिरुध्द बेलैमा जागा रहनु पनि हो ।