साताको साहित्य : निबन्ध
हामी धेरै भुइँमान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न सार्वजनिक सवारी साधान प्रयोग गर्न वाध्य हुन्छौँ । धेरै सवारी साधनहरू यात्रु मैत्री हुँदैन । राज्यले तोकेका मानदण्ड यी साधनले लागू गरेका हुँदैनन् । तोकिएको सिट सङ्ख्या भन्दा बढी यात्रु नबोकेका साधनहरू पाउन मुस्किल पर्दछ । ठूला शहरमा छोटो दुरीमा चल्ने साधनहरूमा यात्रु कोचाकोच हुनु आम संस्कृति जस्तै बनेको छ । शहरमा यसरी सकस खाँदै हरदिन बाध्य हुनुपर्नेमा कलेजका विद्यार्थी साना र निजी क्षेत्रमा रोजगार गर्ने मजदुरहरू पर्दछन् । लामो दुरीको सवारी पनि यस्तै सकस खप्नुपर्ने धेरै सर्वसाधारण पर्दछन् । एकातिर भाडादरमा एकरूपता नहुनु, समयमा नगुड्नु र अर्कोतिर महङ्गो भाडा चुक्ता गर्दा पनि आरामदायी यात्रा नहुनु ठूलो दुर्दशा हो । भोग्नेहरू यस्तो पीडा भोगेर चुपचाप सहन्छौँ । यस्तो यात्रामा महिला, वृद्ध, अपाङ्ग तथा रोगीहरूले धेरै सास्ती भोगेका हुन्छन् । लामो दुरीमा चल्ने सवारीधनिसँग बिचौलियाहरूले समेत कमिशन खाने र यात्रुहरू ठगिने आम प्रचलन छ । आफैँ ठगिएर सास्ती भोगेका र अन्य यात्रुले भोगेका केही प्रतिनिधि घटनाहरूले हरेक पटक झस्काउँछ ।
केही बर्ष अघि जितपुर बाराबाट म चितवन आउदै थिएँ । बिरगन्जदेखि आएको बस चोकमा रोकियो । म बस नजिक पुगेँ । नजिकै रहेको काउण्टरको प्रतिनिधिले बिना टिकट बस नचड्न उर्दि दिए । बस खचाखच थियो । मैले यो बसमा उभिएर यात्रा गर्न नसक्ने बरू अर्कोमा जाने कुरा राखेँ । काउण्टरको प्रतिनिधिले म तपाइँलाई सिट मिलाउछु टिकट लिनुस् भन्दै कर गरे । म सिटमा बसेपछि पैसा दिन्छु भनेर अडिएँ । बस गुड्नेबेला सहचालक भाइ आएर भने टिकट लिएर चढ्नुस् म सिट मिलाउँछु । सहचालकले नै वचन दिएपछि म टिकट लिएर बस चढेँ । बस गुड्यो । मैले सहचालकलाई सिट मिलाउन भनेँ । उनी भिड छिचोल्दै केही पछि सरेर मलाई भने ओ बूढा बा आउनुस् तपाइँको सिटमा । म कोचिदै पछाडि पुगेँ, तर नजिकै पुग्दा एकजना मधेसी मुलका युवाले भने ‘ना हट ओकर पहाडिया खडा होकर जाएगा ।’ त्यतिबेला तराइमा पहाडे र मधेसीबिच छिट्फुट झडप पनि भएका थिए । सायद जो बोल्दैछन् उनी पहाडी मुलका मानिससँग असन्तुष्ट छन् । म चुपचाप चेपिइरहेँ । बसमा रहेका केही मानिस अमलेखगन्ज झरे ती मधेसी बन्धुहरू पनि झरे तर मलाई देखाइएको सिटमा मझैँ उभिने अर्का मधेसीमुलका ब्यक्तिलाई बसाइयो । म चेपिदै अगाडि आएर उभिएँ । ती सहचालक भाइले मलाइ हेरे मात्र । बस हेटौडा आएर रोकियो । चढ्ने र ओर्लने उत्तिकै यात्रु छन् । हेटौडाबाट म अगाडिको इन्जिनमाथि कुचुक्क बसेर चितवन आएँ । त्यो यात्रा अबधिभर मलाई अपमानबोध पनि भयो ।
नयाँ ठाउँको यात्रा उत्साहप्रद हुन्छ, तर एउटा यात्राको सास्ती भने सम्झनामा घरीघरी आइरहन्छ । २०७७ साल बैशाखमा कान्छी छोरीको ससुरा बाको निधन भयो । हाम्रो सांस्कृतिक मान्यता अनुसार असौच बस्नुभएका छोरी ज्वाँइ भेट्न म दोलाखा जानुपर्ने भयो । काठमाडौंदेखि दोलखाको झुलेसम्म सुमो चल्ने रहेछ । एउटा सुमोमा १२÷१४ सिट हुन्छ तर त्यो पटक १८ जना कोचिएर यात्रा गर्नुपर्ने भयो । यात्रुहरू सबै उही घरमा जानुपर्ने हुँदा त्यति जना अनिवार्य बस्नु प¥यो । म चालकसँगै अगाडि छु र अरू दुई जना यात्रु छन् । अगाडि पनि सामानको कोचाकोचले खुट्टा टेक्नेसम्म ठाउँ रहेन । एकै दिन काठमाडौं झुले र झुले काठमाडौं आइजाइ गर्दा जिन्दगिमा त्यो यात्रा जति सकस कहिल्यै भएन । नयाँ भुगोल प्रकृति कुनै पनि दृश्यले मन छुन सकेन । कतिबेला यो यात्राबाट मुक्ति पाइन्छ भन्ने मात्र रह्यो । एकातिर शोकमा थलिएका ज्वाइँ छोरीको परिवार अर्कोतिर कच्ची र त्रासपुर्ण बाटो र गाडिभित्रको कष्ट साँच्चैको झ्यालखाना भयो ।
हिउँदको कुनै एकदिन एकजोडी दम्पत्ती काखे बच्चा च्यापेर चितवन नारायणगढको पुलचोकमा उभिएका छन् । श्रीमतीको काखमा काखे बच्चा छ । दुईवटा माइक्रोको सहचालक उनीहरूलाई आफ्नोमा लैजान होड चलेको छ । एउटा माइक्रोवालाले आमाछोरा तानेर आफ्नो माइक्रोमा लग्यो, अर्कोले केटोलाई र झोला तान्दै आफ्नोमा लग्यो । ती युवाले प्रतिबाद गर्न खोजे तर यात्रु चुसेर दाम कमाउनेहरूको समूह उल्टै युवामाथि जाइलागे । यो दृश्यले चोकमा उभिने अन्य यात्रुलाई बस ब्यबसायीको व्यवहार स्पष्ट चिनायो ।
सवारी साधनमा यात्रा गरिरहेका बेला यात्रुहरूलाई सरुवा गराएर उनीहरूका सामन अलपत्र पारिएका कयौँ घटनाहरू छन् । भाडा असुल्दा ठूला नोट लिएर फिर्ता दिन आलटाल गरेर ठगिएका यात्रुहरूको हिसाब किताब लेखिसाध्य पनि हुँदैन ।
अहिले ग्रामिण सडकको नाउँमा ट्¥याक मात्रै खोलिएका धेरै पहाडि बस्तिहरू छन् । त्यस्ता धुले सडकमा पनि ब्यबसायीहरूको आँखा पुगेको हुन्छ । उनीहरू जनतालाई सेवा सुबिधा दिने निहुँमा आफू नाफाको जाल फैलाएर पुराना साधनहरू सन्चालनमा ल्याएका हुन्छन् र त्यहाँ दुर्घटनाको प्रवल सम्भावना रहेको हुन्छ । एकातिर भाडादरमा ब्यबसायीहरूले आफू खुशिमा असुलेका हुन्छन् भने अर्कोतिर जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
व्यक्तिका निजी सकसको अतिरिक्त यो क्षेत्र राज्यको पनि सकसको मुद्दा हो । बिकाशको पुर्वाधार मानेर गाउँगाउँमा कच्ची बाटाहरू खनिएका हुन्छन् । बिना कुनै प्राबिधिक अध्ययन जथाभावी जमिन धसाउँदा भू–क्षयको सम्भावना भयावह छ भने राष्ट्रिय पुँजी पलायन पनि उत्तिकै छ । जमिन भत्काउने साधनको खरिदीदेखि इन्धन र अन्य पार्टपुर्जा परनिर्भर हुनु हाम्रो बाध्यता हो । मुलुकमा अर्को उत्पादन निर्बाध रूपमा भित्रिनु र आफ्नो मुलुकको उत्पादन शून्य हुनु राष्ट्रिय पुँजी पलायन हुनु हो । यस्तो बिकाश सङ्गतीपुर्ण हो कि असङ्गत चासोको विषय बन्नु पर्दछ । छोटो दूरी कच्ची सडकमा मात्र होइन लामो दूरीको यात्रा पनि उस्तै कष्टपुर्ण छन् । राजमार्गलाई दुहुनो गाई बनाएर ब्यबसाय सन्चालन गरेका ब्यबसायीहरूको होटल रेष्टुरेण्टमा मगङ्गी र असुरक्षित खाद्य तथा पेय बस्तुको बिना अनुगमन बिक्रि हुनु र ग्राहक ठगिनु सामान्य जस्तै छ ।
हाम्रो शासनसत्ताको केन्द्र कुरामुखी मात्र छ, परिणाममैत्री बन्न सकेको छैन । पाइलो देख्दैमा जन्तु चिनिएपछि त्यसैको पछि लाग्नु मुर्खता सिवाय केही होइन । सवारी साधनको यात्रा मात्र सकस र जोखिमको होइन मुलुकले लिएको यात्रा झन् जोखिमको छ । आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरणको सट्टा दिनदिनै ओरालो लाग्नु अशुभ सङ्केत मात्र होइन खतराको पराकाष्ठा हो । दिनहुँ ओरालो झर्दै गरेको हाम्रो राजनैतिक यात्राले मुलुकको स्वभिमान बिसर्जनको सङ्घारमा छ । यसको समाधानतर्फ आम जनताले चासो राख्नु पर्दछ ।
रत्ननगर– ३, चितवन