नेपालमा कम्युनिस्ट पार्टीका मुख्य समस्याहरु

नेपालमा कम्युनिस्ट पार्टीका मुख्य समस्याहरु

नेकपाको स्थापना भएको ७५ बर्ष भएको छ । यसबीचमा जन अधिकारको स्थापनाका लागि निरन्तर जनआन्दोलन भए/भैरहेका छन् । झापा विद्रोह र जनयुद्धकाक्रममा नेपाली कम्युनिष्टहरुले केही समय हतियारबन्द संघर्षपनि गरे । जसबाट केही सुधारहरु पनि भए । मुख्य त देशका प्रतिक्रियावादी शासकहरुलाई खबरदारीगर्ने काम भैरहेको छ । तर नेपालको कम्युनिष्ट आन्दोलन आफैबीचमा संगठित हुन पनि सकेन र नेकपाको स्थापना कालका उद्देश्यहरु पूरा गर्न/गराउन पनि सकेन । कम्युनिस्ट पार्टीको स्थापनाकैबारेमा बिवाद छ । केहीले आगामी १५ सेप्टेम्बरमा पार्टी स्थापना दिवस मनाउने प्रतीक्षा गरिरहेका छन् । केहीले यही २२ अप्रिललाई केन्द्रित गरेर नेकपाको ७५ औं स्थापना दिवसका मनाए । त्यसक्रममा काठमाडौंमा तीन धारका कम्युनिस्ट पार्टीहरुबाट मुख्यत तीनवटा कार्यक्रमहरु भए । जसका अधिकांश बक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलनका समस्याकाबारेमा बढी केन्द्रित रहेर बोलेको देखियो । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको क्रान्तिकारी माओवादीलगायतका तीन पार्टीको कार्यक्रममा मुख्यत नेपालको कम्युनिस्ट आन्दोलनमा रहेको दक्षिणपन्थी अवसरवाद/संशोधनवादलाई मुख्य समस्याकारुपमा चित्रणगर्ने प्रयास गरेको देखिएको छ । क्रान्तिकारी माओवादीलगायतका तीन पार्टीले नेपाल अर्धसामन्ती र अर्ध नवऔपनिवेशिक अवस्थाबाट मुक्त नभएको ठहर गरेका छन् । नयाँ जनवादी क्रान्ति सम्पन्नगरी वैज्ञानिक समाजवाद र साम्यवादतर्फको मार्ग प्रशस्तगर्ने नेपाली जनताको सपना अधुरो रहेको उनीहरुको ठहर छ । उनीहरुले नेपालमा दलाल तथा नोकरशाही पूँजीवाद एवं सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडन झन भयावह बन्दैगएको भनेका छन् । त्यसैगरी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको आयोजनामा काठमाडौंको खुल्लामञ्चमा अर्को कार्यक्रम भएको थियो । जसमा मूलत भारत निकट मानिएका माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र एकीकृत समाजवादी लगायतका समूहहरुको बर्चश्व रहेको थियो । सो कार्यक्रममा बोल्ने बक्ताहरुले समेत वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गरेका थिए । कतिपयले अब जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पनि बताए । कतिपयले कम्युनिस्ट पार्टीहरुमा बैचारिक सांस्कृतिक समस्या बढ्दैगएको टिप्पणी गरे । कतिपयले कम्युनिष्ट पार्टीहरुकाबीचमा राष्ट्रिय स्वाधिनता र समाजवादकाबारेमा एक ठाउँमा बसेर बहसगर्न जरुरी रहेको बताए । उनीहरुको जोड समाजवादी मोर्चा बनाउनेमा केन्द्रित थियो ।
केहीले जनताको सहभागिता, जनताको भूमिका र जनताको अधिकार स्थापितगर्न नसकेको खण्डमा कम्युनिस्टहरुको कुनै औचित्य नहुने ठोकुवा पनि गरे । कतिपयले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको टिप्पणी पनि गरे । केहीले नेपालमा सामन्तवादको उन्मूलनगर्न, देशमा राष्ट्रिय स्वाधिनताको रक्षागर्न सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने दाबि पनि गरे । सिद्धान्तवाट च्युत हुनुभनेको जनतालाई धोका दिनु होभन्ने कुरालाई पनि स्मरण गरियो । त्यसैगरी सत्ता गठबन्धनभित्रैको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलको एक कार्यक्रममा कम्युनिस्ट भन्नेहरुबाटै कम्युनिस्ट आन्दोलन कमजोर हुनपुगेको स्वीकार गर्नुभएको थियो । लेनिनवादी संगठनात्मक पद्वति, कम्युनिष्ट पार्टीको बिचार र सिद्वान्त नमान्नेहरु कम्युनिष्ट हुननसक्ने उहाँको कथन थियो । अर्कातिर एमालेले पनि आफ्नो पार्टीको केन्द्रिय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गर्‍यो । जहाँ एमालेका एमालेका अध्यक्ष केपी ओलीले सबै पार्टीमा रहेका वामपन्थी बिचारधारा मान्नेहरुलाई एकतामा आउन आह्वान गरेको देखियो । ओलीले यसअघि दुईतिहाई नजिक पुगेको कम्युनिस्ट शक्तिलाई केहीले सस्तो मूल्यमा बेचेर ध्वस्त बनाएको आरोप लगाउनु भएको थियो । कम्युनिस्ट आन्दोलनका ठूला गफगर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्नखोज्ने जमातहरुलाई पराजितगर्दै अघिबढ्नुपर्ने ओलीको भनाइ थियो । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा स्पष्ट त तीन धार देखिएका छन् । एकथरी नाममात्रका कम्युनिस्टभएको र अर्कोथरी संसदवादतर्फको बाटो तयगर्दै गरेको देखिएको छ । तेश्रो क्रान्तिकारी धारले पनि आफ्नो सही बाटो तयगर्न नसकेको अवस्था छ । आफूलाई कम्युनिस्ट बताउने कतिपय समूहले कम्युनिस्ट पार्टीका विश्वब्यापि मूल्य, मान्यता र आदर्शकोमात्र नभई संसदीय ब्यवस्थाका सीमाहरुसमेत भत्काएर आफ्नो निशित स्वार्थ पूरा गर्ने/गराउने काम गरेका छन् । उनीहरुको ध्यान बिचार, राजनीति, देश, जनताप्रति नभएर सत्तामा केन्द्रित रहेको छभने उनीहरुले सत्ता प्राप्तिको माध्यम देशिय सामन्तवाद र अन्तराष्ट्रिय साम्राज्यवाद/बिस्तारवादसँगको सहकार्यलाई बनाएका छन् । ०४६ सालको राजनीतिक परिवर्तनबाट बहुदलीय संसदीय ब्यवस्थाको स्थापनापछि शुरुभएको नेपालका कतिपय कम्युनिस्टहरुको पतन ०६३ को परिवर्तनपछि घनिभूत भएको छ । ०४६ पछि एमालेले स्वदेशमा राजा र नेपाली कांग्रेस तथा अन्तराष्ट्रियरुपमा भारत निकट बन्दै आफ्नो पार्टीको निर्देशक सिद्धान्तबाट माओ बिचारधारालाई समेत घोषितरुपमै हटाउन पुगेको थियो ।
त्यसैगरी ०६३ को परिवर्तनपछि माओवादी केन्द्र पनि स्वदेशमा नेकां र विदेशमा भारत तथा अमेरिकाको पृष्ठपोषक बनेको छ र माओवादको सिद्धान्तलाई ०७५ जेठ तीनगतेनै परित्याग गरिसकेको अवस्था छ । अब उसको प्रयास पार्टीको नामबाट नेकपा र हँसिया हथौडा चिन्ह समेत हटाउनेमा केन्द्रित छ । कतिपय कथित कम्युनिस्ट नेताहरुले खुलेरै आफूलाई भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको चाटुकार बनाएका छन् । नेपालमा इन्डो पश्चिमा शक्तिको औपचारिक गठबन्धन बनेको छ र सो गठबन्धनमा सामेल कम्युनिष्ट र कांग्रेससहितका घटकहरु भारत र अमेरिका लगायतका पश्चिमा शक्तिको नेपाल नीतिअनुसार काम गरिरहेका छन् । ०६३ को परिवर्तनबाट कथित लोकतन्त्रको स्थापनापछि नेपालको संसदमा संशोधनवादी धारका कम्युनिस्टहरुको संख्या बढ्दैगएको छ । सरकारमै नगएकाहरुले पनि सत्ता गठबन्धनलाई समर्थन गरेर आफ्नो कित्ता स्पष्ट गरेका छन् । पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका कथित कम्युनिस्टहरुकै अगुवाईमा राष्ट्रघाती कामहरु भएका छन् र थप राष्ट्रघात हुने संभावना पनि देखापरेका छन् । माओवादी केन्द्रका अध्यक्षले खुलेयाम गत मंसिर चारको जनादेशको उल्लंघन गरेको अवस्था छ । जसको पहलमा ०७८ फागुन १५ गते व्याख्यात्मक टिप्पणीको रचना गरेर नेपालको संसदबाट एमसीसीजस्तो राष्ट्रघाती सम्झौता अत्यधिक मतले अनुमोदन भएको घोषणा गरिएको छ । जबकी सो अनुमोदन कुन पार्टीका कतिजना सांसदहरुले हस्ताक्षर गरेर पारित भएको होभन्ने कुरा हालसम्म कसैले पनि बताउन सकेका छैनन् ।
सत्तामा पुगेका माओवादी केन्द्रलगायतका केही कम्युनिस्ट नामधारी पार्टीहरुले हालसम्म नेपालमा भैरहेको विदेशी हस्तक्षेपको बिरोधगर्न सकेका छैनन् । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणप्रति समेत मौन रहेको अवस्था छ । पछिल्लो समयमा नेपाल क्रमश: पराधीन र पराश्रित बन्दैगएको छ । ०६३ को राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र नाममात्रको छभने उपलब्धी भनिएका अन्य कुराहरु देशलाई थप कमजोर र अलग थलग बनाउन सहायक भएका छन् । जसलेगर्दा ०६३ को परिवर्तन आफै काँचो पल्टिने अवस्थामा पुगेको छ । देशमा फेरी यो वा त्यो निरंकुशताले जरा गाड्नसक्ने संकेतहरु देखिनथालेका छन् । बेरोजगारी व्याप्त छ, महँगी आकाशिएको छ र आर्थिक तथा राजनीतिक संकट गम्भीर बन्दैगएको छ । विप्रेषण र आयात तथा उपभोक्ता करमा निर्भर नेपाली अर्थतन्त्र चालु खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्थामा पुगेको सरकारी तथ्यांकहरुले देखाएका छन् । पछिल्ला सबै तथ्यांक र घटनाक्रमहरुलाई केलाएर हेर्दा देशको स्थिति भयावह रहेको स्पष्ट हुन्छ । सही क्रान्तिकारीहरुले नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतीकारुपमा रहेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध सम्झौताहीन संघर्षगर्न सकेका छैनन् । त्यसैले नेपाली समाजमा को सही कम्युनिष्ट र को नाममात्रको नक्कली कम्युनिस्ट भन्नेबारेमा बिभिन्न किसिमका भ्रमहरु रहेका छन् । नेपालका कम्युनिस्ट पार्टीका लागि कतिपय कम्युनिस्ट पार्टी नै समस्याकारुपमा देखिएकाले जन अधिकार प्राप्तिको आन्दोलन सही ढंगले अगाडि बढ्न सकेको छैन । यहाँका कम्युनिस्ट पार्टीहरुले नेकपाको स्थापना सम्बन्धी बिवादको टुंगो लगाउँदै बिगतका ७४ बर्ष भित्रमा भए/गरेका गतिबिधिहरुको बिहंगम सिंहाबलोकनगरी नयाँ बाटो तयगर्न सक्नुपर्ने टड्कारो आबश्यकता देखिएको छ । नेकपाका आफैभित्रका मुख्य समस्याहरुलाई खुट्याएर त्यसको निराकरणगर्नु आजको प्रमुख कार्यभार भएको छ ।