माक्र्सवादमाथि लेनिनको थप योगदानवारे

माक्र्सवादमाथि लेनिनको थप योगदानवारे

लेनिनको नेतृत्वमा २५ अक्टोबर (७ नोमेम्बर) १९१७ मा रुसमा सम्पन्न अक्टोबर क्रान्तिको विशेष ऐतिहासिक महत्व छ । त्यो क्रान्ति महान् सर्वहारा समाजवादी क्रान्ति थियो । अक्टुक्रान्तिले नयाँ विश्व क्रान्तिको थालनी गरेको थियो र त्यो मानवजातिको इतिहासमा नयाँ युगको द्योतक थियो । यसले विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढाउनका लागि नयाँ अध्यायको ढोका खोलिदिएको थियो ।
अक्टोबर क्रान्ति र लेनिनवादका बीच घनिष्ट सम्बन्ध छ । अक्टोबर क्रान्ति लेनिनवादको आधारशिला हो भने लेनिनवादले अक्टोबर क्रान्तिलाई जन्म दियो । अक्टोबर क्रान्ति र लेनिनवाद सर्वहारा क्रान्तिको ऐतिहासिक प्रक्रियाका उपज र अभिव्यक्ति हु्न् । प्रस्तुत लेखमा अक्टोबर क्रान्ति र लेनिनवाद र लेनिनले माक्र्सवादमाथि गर्नु भएको योगदान प्रकास पार्ने प्रयास गरिएको छ ।
माक्र्सवादको विकासमा लेनिनले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा जुन योगदान गर्नु भयो, त्यो विशेष स्मरणीय रहेको छ । तसर्थ, यी तीन ओटै क्षेत्रमा लेनिनद्वारा गरिएको योगदानबारे संक्षिप्तमा आवश्यक प्रकाश पार्न जरुरी छ ।
दर्शनको क्षेत्र
दर्शनको क्षेत्रमा लेनिनका योगदान निकै महत्वपूर्ण छन् । लेनिनले माक्र्सवादी दर्शनलाई आत्मसात् गरी विकसित तुल्याउनु भयो । वहाँले यस क्षेत्रमा तमाम खाले आदर्शवाद, अधिभूतवाद र यान्त्रिक भौतिकवादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलाउनु भयो । लेनिनले प्रकृतिविज्ञान र समाजविज्ञानमा हुँदै आएको विकासमाथि पनि आवश्यक ध्यान दिनुभयो ।
माक्र्सवादी दर्शन द्वन्द्वात्मक, भौतिकवादी दर्शन हो । यसले पदार्थलाई पहिलो र चेतनालाई दोस्रो दर्जामा राख्तछ । यसले मानिसको मनभन्दा बाहिर पदार्थको स्वतन्त्र अस्तित्व स्वीकार गर्दछ । द्वन्द्वात्मक भौतिकवादले यो संसारलाई बोधगम्य र त्यसैले परिवर्तनयोग्य मान्दछ । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र त्यसमा विद्यमान गतिलाई अविनाशी मान्दै, तिनका बिचका सम्बन्धलाई अविच्छेद बताउँदै र तिनलाई एकअर्कोमा रूपान्तरण हुने कुरा स्वीकार्दै आएको छ । माक्र्सवादी दर्शनको सारतत्वभनेको दुनियाँ बुझ्नु र मुख्यत: बदल्नु हो । यो सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
द्वन्द्वात्मक भौतिकवादमाथि विभिन्न कोणबाट हुँदै आएको प्रहार र त्यसलाई तोडमरोड गर्ने चिन्तनका विरुद्ध लेनिनले कडा संघर्ष चलाउनु भयो । दार्शनिक फाँटमा वहाँले संशोधनवादको विरोध गर्नु भयो ।
दार्शनिक क्षेत्रमा सर्वप्रथम लेनिनले बर्नस्टाइन लगायतका संशोधनवादीहरूमा पाइने नवकाण्टवाद, अज्ञेयवाद, आदर्शवाद, द्वैतवाद र अधिभूतवादको विरोध गर्नु भयो । वहाँले बर्नस्टाइन र उनका चेलाहरूको गैरमाक्र्सवादी चिन्तनमाथि कडा प्रहार गर्नुभयो ।
१९०५ मा क्रान्ति असफल बने पश्चात् रुसको दार्शनिक फाँटमा नवकान्टवाद, नवप्रत्ययवाद लगायतका प्रवृत्तिका रूपमा आदर्शवादले जबर्जस्त रूपमा टाउको उठायो । त्यो बेला प्रकृतिविज्ञानमा भएका खोजहरूलाई नकारात्मक रूपमा पेश गर्दै आदर्शवादीहरू पदार्थको लोप भयो, भौतिकवाद अस्तित्वविहीन बन्यो, पदार्थ र गति एकअर्काबाट अलग्गिए भन्दै चिच्याउन थाले । उनीहरूले भौतिक विज्ञानमा भएको इलेक्ट्रोनको खोजलाई बङ्ग्याउने काम गरे । त्यस स्थितिमा लेनिनले ‘भौतिकवाद तथा अनुभवसिद्ध आलोचना’ जस्तो अत्यन्तै महत्वपूर्ण रचना लेख्नु भयो । परमाणुलाई अविभाज्य मानिदै आएको स्थितिमा इलेक्ट्रोनको खोजले भौतिकवादमा आधारित परमाणुको मान्यतामाथि गम्भीर प्रकारको आशंका पैदा भयो । त्यस स्थितिमा लेनिनले भन्नुभयो–“जहाँ हिजोसम्म यसज्ञानको गहनताको सिमा परमाणुभन्दा अगाडि पुगेको थिएन र आज त्यो इलेक्ट्रोन, इथरभन्दा अगाडि पुगेको थिएन र आज त्यो इलेक्ट्रोन, इथरभन्दा अगाडि पुगको छैन, त्यहाँ द्वन्द्वात्मक भौतिकवादले मानिसद्वारा प्रगति गरिदै आएको विज्ञानबाटहासिल गरिएका ज्ञानका यी तमाम युगान्तकारी खोजका अस्थायी, सापेक्ष, सन्निकटस्वरूपमाथि जोड दिन्छ । इलेक्ट्रोन त्यसरी नै अक्षय छ जसरी नै परमाणु प्रकृति अनन्त छ ।” ८ यस प्रक्रमा लेनिनले ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको विशदरूपमा विवेचना गर्नु भयो । वहाँले ज्ञानको स्रोत तथा त्यसको वस्तुपरकता, सत्यको सापेक्षता तथा निरपेक्षता, सत्यको कसौटी लगायतका विषयमा द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तलाई नयाँ उँचाइ प्रदान गर्नु भयो । यसरी नै लेनिनले दार्शनिक फाँटमा आदर्शवाद तथा भौतिकवादका बिचको पक्षधरताको मान्यतालाई पनि विकसित तुल्याउनु भयो र तमाम प्रकारका द्वैतवाद तथा तटस्थतावादको धज्जी उडाउनु भयो ।
लेनिनले भौतिकवादी द्वन्द्ववादबारे पनि विशद अध्ययन गर्नु भयो । यस सन्दर्भमा वहाँको “दार्शनिक नोटबुक” विशेष उल्लेखनीय छ । सो कृतिमा वहाँले एकातिर हेगेलिय तर्कशास्त्र तथा द्वन्द्ववादको गहिरो समीक्षा गर्नु भयो भने अर्कोतिर द्वन्द्ववादका मूल मान्यता एवम्विपरीतहरूको एकत्वको नियमलाई नयाँ ढंगले विकसित गर्नु भयो । वहाँले भन्नुभयो – “संक्षेपमा द्वन्द्ववादलाई विपरीतहरूको एकताको सिद्धान्तका रूपमा परिभाषित गर्न सकिन्छ । यसमा द्वन्द्ववादको सर मूर्त छ, परन्तु यसले व्याख्या र विश्लेषणको अपेक्षा गर्दछ ।”९
साथै, लेनिनले आफ्नो प्रसिद्ध– “दार्शनिक नोटबुक”मा दर्शनशास्त्रको इतिहासको विवेचना पनि गर्नु भएको छ । यो इतिहासमा दर्शनका विविध धारा र प्रवृत्तिलाई अध्ययन गर्ने गहन, वैज्ञानिक र सारगर्भित सामग्री हो ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा
लेनिनले राजीतिक अर्थशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ । जनताका मित्र के हुन्, आर्थिक स्वच्छन्दतावाद– जस्ता कृतिहरूमा माक्र्सवादलाई तोडमोड गर्ने प्रवृत्तिका विरुद्ध राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सवादको रक्ष ागर्ने काम भएको छ । वहाँले ‘रुसमा पुँजीवादको विकास’ शीर्षक कृतिमा एकातिर रुसमा पुँजीवादको विकास भएको र अर्कोतिर विशाल जनसंख्या सामन्ती भूस्वामित्वको चपेटामा परेको कुरा बताउनु भएको छ ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रका लेनिनको युगान्तकारी योगदान भनेको साम्राज्यवादको विश्लेषण हो । लेनिनले पुँजीवादको साम्राज्यवादमा भएको विकासलाई विश्लेषण गर्दै के कुरा बताउनु भयो भने साम्राज्यवाद भनेको एकाधिकार पुँजीवाद हो । वहाँले साम्राज्यवादलाई पुँजीवादको उच्चतम चरणमात्र होइन, ह्रासशील र मरणोन्मुख पनि बताउनु भयो । साम्राज्यवादबारे स्पष्ट पार्दै लेनिन भन्नुहुन्छ“साम्राज्यवाद पुँजीवादको विकासको त्यो अवस्था हो जहाँ पुगेर एकाधिकारीहरू तथा वित्त पुँजीको प्रभुत्व दृढरूपले स्थापित भइसकेको हुन्छ, जसमा पुँजीको निर्यातले अत्यधिक महत्व ग्रहण गरेको हुन्छ, जसमा अन्तर्राष्ट्रिय टूस्टहरूका बीच दुनियाँको विभाजन आरम्भ भएको छ, जसमा सबैभन्दा ठुला पुँजीवादी शक्तिहरूका बिच पृथ्वीका सबै क्षेत्रहरूको विभाजन पुरा भएको छ ।” १०
साम्राज्यवादको विश्लेषण गर्ने क्रममा लेनिनले तीन पक्षमाथि विशेष जोडदिनु भएको छ । ती हुन् – पहिलो, साम्राज्यवाद र युद्धका स्रोतका रूपमा प्रस्तुत गर्नु भएको छ र जबसम्म साम्राज्यवाद रहन्छ तवसम्म युद्ध अनिवर्य रूपमा रहने कुरा बताउनु भएको छ । उहाँले साम्राज्यवादी युद्धका विरुद्ध सर्वहारा वर्गले गृहयुद्धको संचालन गर्नुपर्ने कुरामा जोड दिनु भएको छ । दोस्रो, साम्राज्याद र अवसरवादका बिचको सम्बन्ध । लेनिनले साम्राज्यवादको जन्म विकाससित मजदुर वर्गको पार्टीभित्र अभिजात वर्ग पैदा हुने, बुर्जुवा रंगमा रंगिएका मजदुरहरू या अभिजात मजदुरहरू जन्मिने र संशोधनवादको उत्पत्ति हुने कुरा बताउनु भएको छ । उहाँले त्यस प्रकारका अभिजात मजदुरलाई वुर्जुवा वर्गका असली दलालको संज्ञा दिनु भएको । तेस्रो, साम्राज्यवाद र सर्वहारा क्रान्तिको सम्बन्ध । लेनिनले साम्राज्यवादको संश्लेषण गर्दै कुन निष्कर्ष निकाल्नु भयो भने साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो ।
यस अतिरिक्त लेनिनले समाजवादको राजनीतिक अर्थशास्त्र पनि विकसित गर्नु भयो । अक्टोबर क्रान्ति पश्चात् अर्थतन्त्रको उत्पादकहरूको उत्पादन तथा वितरणको सार्वजतिक हिसाब किताब एवम् नियन्त्रण श्रम उत्पादकतामा वृद्धि तथा प्रतियोगिताको संगठन र उत्पादनलाई व्यवहारमा समाजीकरण लगायतका काममा विशेष जोड दिइयो ।
साम्राज्यवादी युद्ध र बाहय हस्तक्षेप विरोधी युद्धको कारण रुसको आर्थिक स्थिति जर्जर बन्न गएको थियो । त्यस अवस्थामा युद्ध कम्युनिज्मको नीति पश्चात् नयाँ आर्थिक नीति ९ल्भध भ्अयलयmष्अ एयष्अिथ० अवलम्बन गरियो । लेनिनले सिर्जनात्मक रूपमा सर्वहारा अधिनायकत्व अन्तर्गत राजकीय पूँजीवाद पनि अभ्यास गर्नु भयो । यसको उद्देश्य अर्थतन्त्रलाई बलियो बनाई समाजवादी अर्थतन्त्रको निर्माणका निम्ति आधार तयार पार्नुथियो । त्यसै क्रममा लेनिनले सहकारी योजना अगाडि ल्याउनु भयो । यी सबै नीति, काम र योजनाद्वारा समाजवादी अर्थतन्त्रको आधारशीला बलियो बनाउन मद्दत पुग्यो ।
वैज्ञानिक समाजवादको क्षेत्रमा
वैज्ञानिक समाजवादको क्षेत्रलाई लेनिनले अत्यन्तै समृद्ध र विकसित तुल्याउनु भएको छ । क्रान्तिमा सिद्धान्तको महत्व, सिद्धान्तलाई क्रान्तिको उद्देश्य, कार्यक्रम तथानीतिसित जोड्ने र त्यसलाई पार्टी मार्फत् निर्धारण एवम् कार्यान्वयन गर्ने काम आदि विषयलाई वहाँले अत्यन्तै सटीक तथा सारगार्भित रूपमा विवेचना गर्नु भएको छ ।
लेनिनले सर्वहारा वर्गको पार्टीद्वारा क्रान्तिको उद्देश्य, कार्यक्रम र नीति निर्धारण गर्ने कार्यमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई दृढतापूर्वक अवलम्बन गरी तदनुसार सम्बन्धित समाज र त्यसको विश्वसितको सम्बन्धबारे वस्तुपरक विवेचना गरिनुपर्ने कुरामा विशेष जोड दिनु भएको छ ।
के क्रान्ति कुनै एउटा देशमा सम्भव छ ? यस प्रश्नको जवाफमा लेनिनले साम्राज्यवादको गहन विश्लेषण गरी त्यसको कमजोर कडीलाई समात्नु पर्ने कुरा बताउनु भयो । वहाँले माक्र्स, एङ्गेल्सद्वारा प्रतिपादित केही वा धेरै देशमा समाजवादी क्रान्ति सम्पन्न हुने भन्ने मान्यतालाई परिवर्तित गर्नु भयो र त्यसलाई रुसी धर्तीमा प्रयोग गरी प्रमाणित तुल्याउनु भयो ।
वैज्ञानिक समाजवादको क्षेत्रमा लेनिनद्वारा विकसित एउटा सर्वाधिक महत्वको विषय लोकतान्त्रिक गणतन्त्र र सोभियत गणतन्त्रसित सम्बन्धित छ । यसबारे स्पष्ट पार्दै स्टालिन भन्नुहुन्छ–“दोस्रो रसियाली क्रान्ति (फरवरी १९१७) भन्दा पहिले सबै मुलुकहरूका माक्र्सवादीहरूको के धारणा थियो भने संसदीय जनवादी गणतन्त्र नै पँुजीवादबाट समाजवादतर्फ संक्रमणको अवधिमा समाजको राजनैतिक संगठनको सबभन्दा सुहाउँदो रूप हो । साँचो हो, १८७० को दशकमा माक्र्सले के भन्नु भएको थियो भने सर्वहारा वर्गको अधिनायकतन्त्रको लागि सबभन्दा सुहाउँदो रूप पेरिस कम्युन खालको राजनैतिक संगठन हो । तर दुर्भाग्यवश माक्र्सले आफ्ना लेखहरूमा सो प्रस्थापनालाई अरु विकसित पार्नु भएन र यसलाई विर्सेर पठाइयो । अर्को कुरा, १८९१ मा एर्फट कार्यक्रमको मस्यौदाको आलोचनामा, “जनवादी गणतन्त्र ….सर्वहारा वर्गको अधिनायकतन्त्रको लागि विशिष्ट रूप ….. हो” भन्ने एङ्गेल्सको आधिकारिक भनाइबाट कुन कुरामा सन्देह रहेन भने माक्र्सवादहरूले जनवादी गणतन्त्रलाई सर्वहारा वर्गको लागि राजनीतिक रूप मान्दै आएका छन् । एङ्गेल्सको प्रस्थापना पछि गएर लेनिन लगायत सबै माक्र्सवादीहरूको लागी एक निर्देशक सिद्धान्त बन्यो । तर १९०५ को रसियाली क्रान्ति र खास गरेर फरवरी १९१७ को क्रान्तिले समाजको राजनीतिक संगठनको एउटा नयाँ रूप प्रस्तुत गरे – मजदुर र किसान प्रतिनिधिहरूका सोभियतहरू । दुई रसियाली क्रान्तिहरूको अनुभवको अध्ययनबाट र माक्र्सवादको सिद्धान्तको आधारमा लेनिन कुन निष्कर्षमा पुग्नुभयो भने सर्वहारा वर्गको अधिनायकतन्त्रको लागि सर्वोत्तम राजनीतिक रूप संसदीय जनवादी गणतन्त्र होइन, बरु सोभियतहरूको गणतन्त्र हो ।”११ वैज्ञानिक समाजवादको क्षेत्रमा लेनिनद्वारा विकसित मान्यताबारे स्टालिनका उक्त भनाइ विशेष मननीय रहेका छन् । स्मरण रहोस् यहाँ उल्लेखनीय जनवादी गणतन्त्रलाई लोकतान्त्रिक गणतन्त्र ९म्झयअचबतष्अ च्भउगदष्अि० का अर्थका रूपमा बुझ्नु पर्दछ, जनगणतन्त्र९एभयउभिुक च्भउगदष्अि)० अर्थमा होइन ।
रुसी अक्टोबर क्रान्तिका सामु एकातिर तत्कालीन कार्यभारका रूपमा मध्ययुगीनताका अवशेषहरूलाई ध्वस्तपारिदिनु अर्थात् पुँजीवादी जनवादी क्रान्तिका कार्यभारहरूलाई पूर्णतादिनु थियो भने अर्कोतिर दीर्घकालीन वा आधारभूत कार्यभारका रुमपा समाजवादको निर्माण प्रक्रियालाई अगाडि बढाउनु थियो । त्यस क्रान्तिले तात्कालिन कार्यभारका रूपमा सामन्ती वर्गभेदलाई समाप्त पार्ने, सामन्ती भू–स्वामित्वको अन्त्य गर्ने, जातीय, लैङ्गिक तथा धार्मिक उत्पीडनलाई समाप्त पार्ने दिशामा ठोस पाइला चाल्यो र सर्वहारावर्गको नेतृत्व तथा अधिनायकत्वमा समाजवादी निर्माणको प्रक्रियालाई अगाडि बढायो ।
लेनिनले नयाँ ढंगको पार्टी निर्माणको अवधारणा विकसित गर्नु भयो । दोस्रो अन्तर्राष्ट्रियका पार्टीहरू संसदीय मञ्चका रूपमा चुनावी र कानूनी संघर्षमा सीमित समूह थिए । परन्तु, वर्गसंघर्ष र वर्गयुद्ध विकसित भएको नयाँ युगमा ती पार्टी क्रान्ति गर्न अयोग्य थिए । त्यस स्थितिमा लेनिनले सत्ता प्राप्तिको भीषण संघर्षमा क्रान्तिको रथ हाँक्न योग्य एक नयाँ, जुझारु र क्रान्तिकारी पार्टी निर्माण गर्न अनिवार्य रूपमा आवश्यक हुने मान्यता विकसित गर्नु भयो ।यसै सन्दर्भमा वहाँले पार्टीको सांगठनिक सिद्धान्तका रूपमा जनवादी केन्द्रीयताको अवधारणा पनि अगाडि सार्नु भयो । साथै, वहाँले पार्टीलाई खार्नका लागि आत्मालोचना आलोचनाको पद्धति पनि आवश्यक हुने बताउनु भयो ।
लेनिनले वैज्ञानिक समाजवादको राजनीतिक सिद्धान्त, रणनीति र कार्यनीतिका साथ साथै फौजी सिद्धान्त र कार्यनीतिको क्षेत्रमा पनि विशेष ध्यान दिँदै आउनु भएको थियो । यस सन्दर्भमा वहाँका “सशस्त्र सेना तथा क्रान्ति” “छापामार युद्ध” “युद्धप्रिय सैन्यवाद तथा सामाजिक जनवादको सैन्यवाद विरोधी कार्यनीति” “हतियार र पुँजीवाद” लगायतका लेखहरू विशेष उल्लेखनीय रहेका छन् । लेनिन “एक बाहिरी व्यक्तिको परामर्श” शीर्षक लेखमा भन्नुहुन्छ– “सशस्त्र विद्रोह राजनीतिक संघर्षको एक विशेष रूप हो, यो विशेष नियमहरूको अधीन हुन्छ, जसमाथि ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । कार्ल माक्र्सले यस सच्चाइलाई उल्लेखनीय प्रष्टताको साथ कुन कुरा लेखेर व्यक्त गर्नुभयो भने सशस्त्र युद्ध जस्तै विद्रोह पनि एक कला हो ।” सशस्त्र विद्रोहबारे लेनिनका यी भनाइ विशेष महत्वपूर्ण छन् । सशस्त्र विद्रोह र राजनीतिक संघर्षको एउटा रूप हो र त्यो विशेष नियमहरूको अधीनमा हुन्छ । लेनिनले ती विशेष नियमहरूमाथि ध्यान केन्द्रित गर्नु भयो ।
फौजी विज्ञानका क्षेत्रमा लेनिनले एकातिर माक्र्स–एङ्गेल्सद्वारा प्रतिपादित सशस्त्र विद्रोहलाई कलाका रूपमा प्रस्तुत गरिएको माक्र्सवादी मान्यतालाई राम्रोसित आत्मसात् गर्नु भयो भने अर्कोतिर साम्राज्यवादको उदय तथा विकाससित युद्धको सन्दर्भलाई जोड्दै क्रान्तिकारी सेना, हतियार, युद्ध कलाको विकास जस्ता प्रश्नमा विशेष अध्ययन तथा तयारीमा जोड दिनु भयो । वहाँले १९०५ र १९१७ को फरबरी क्रान्तिको अनुभवहरूलाई संश्लेषित गर्दै अक्टोबर क्रान्तिका ठोस रणनीतिक तथा कार्यनीतिक योजना बनाउनु भयो । साथै, लेनिन सेना निर्माणको प्रश्नमा मजदुरहरूका स–साना दस्ताहरू बनाउने र सत्ताधारी वर्गकै सेनाका बीचमा सोभियतहरूको निर्माण गर्ने काममा जोड दिनुभयो । अक्टोबर क्रान्तिमा नियमित युद्धको साथमा छापामार युद्धको कार्यनीतिक भूमिका रहने मान्यता पनि अवलम्बन गरिएको थियो । राजनीतिक रूपमा सारा सत्ता सोभियतहरूको हातमा र फौजी सशस्त्र जनविद्रोहको कार्यदिशाका बिच सामन्जस्य कायम गरिएको थियो ।