पार्टी स्थापना दिवसमा क्रान्तिकारी माओवादीको प्रेस वक्तव्य : दक्षिणपन्थी संशोधनवादका विरुद्ध क्रान्तिको पक्षमा एकताबद्ध हुन सम्पूर्ण क्रान्तिकारी पंक्तिमा हार्दिक आव्हान

पार्टी स्थापना दिवसमा क्रान्तिकारी माओवादीको प्रेस वक्तव्य : दक्षिणपन्थी संशोधनवादका विरुद्ध क्रान्तिको पक्षमा एकताबद्ध हुन सम्पूर्ण क्रान्तिकारी पंक्तिमा हार्दिक आव्हान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता लेनिनको जन्मदिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले ऐतिहासिक महत्वको एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीको केन्द्रीय समितिको तर्फबाट महासचिव मोहन वैद्य ‘किरण’ले जारी गरेको वक्तव्यमा नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा रहेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्न, विभिन्न समूहमा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु क्रान्तिको पक्षमा एकताबद्ध हुन र नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण क्रान्तिकारी नेता, कार्यकर्ता तथा आम जनतालाई हार्दिक आव्हान गरिएको छ ।

वक्तव्यमा नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतराको रुपमा दक्षिणपन्थी संशोधनवाद रहेको उल्लेख गर्दै भनिएको छ, “आज नेपालको कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पुरा गरी ७४ वर्षमा प्रवेश गरेको छ । ७३ वर्षको अन्तरालमा यो आन्दोलन विभिन्न समयमा चलेका दुुई–लाइन सङ्घर्षका प्रक्रिया मार्फत् क्रान्तिकारी रुपान्तरण, नयाँ आधारमा नयाँ एकता, संशोधनवादका विरुद्ध विद्रोह र कतिपय अवस्थामा अपरिपक्व फुटका घटनाहरु बेहोर्दै यहाँसम्म आइपुुगेको छ । यस बीचमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनआन्दोलन, झापा विद्रोह, जनयुद्ध र विभिन्न प्रकारका जनसङ्घर्षहरु भएका छन् । तत्कालीन नेकपा (माओवादी)को नेतृत्व र जनमुक्ति सेना नेपालको संरक्षणमा नेपाली जनताले जनसत्ताको अभ्यास समेत् गरेका छन् । परन्तु, नेपाल अर्ध–सामन्ती र अर्ध/नव–औपनिवेशिक अवस्थाबाट मुक्त भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रशस्त गर्ने नेपाली जनताको सपना अधुरो रहेको छ । त्यो मात्र होइन, दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडन झन–झन भयावह बन्दै गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवाद हो ।”


वक्तव्यमा नेपालको संसदीय व्यवस्थाको असफलतालाई नवउदारवादमा आधारित विश्व पुँजीवादी/साम्राज्यवादी व्यवस्थाकै अफलताको चित्रण गर्दै भनिएको छ, “नेपालमा पुँजीवादी पार्टीहरुमा भन्दा पनि अझ नाङ्गो रुपले कथित कम्युनिस्ट पार्टीहरुमा दलीय मान्यता स्खलित हुँदै गएको छ । विचार, राजनीति, देश, जनता प्रति कसैको ध्यान छैन, ध्यान छ त मात्र सत्ताको कुर्चीमा । संसदीय व्यवस्थामा शक्तिका तीन केन्द्र मानिने कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका सबै अस्तव्यस्त रहेका छन् । सङ्घीय सरकारको आदेशलाई महानगरका एकजना मेयरले चुनौती दिन्छन्, सरकार केही गर्न सक्दैन । यो कुनै व्यक्ति विशेषको असक्षमता वा अराजकताको मात्र परिणाम हो ? होइन, यो अमुक पार्टीका अमुक नेताको मात्र समस्या होइन, संसदीय व्यवस्थाको मात्र समस्या पनि होइन, यो त नवउदारवादमा आधारित साम्राज्यवादी विश्व व्यवस्थाको समेत असफलताले पैदा गरेको समस्या हो ।”
वक्तव्यमा पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वक्तव्यको सुरुमै भनिएको छ, “आज २०८० साल वैशाख ९ गते, तदनुसार २२ अप्रिल २०२३ एउटा ऐतिहासिक महत्वको दिन हो । आजको ठीक ७३ वर्ष पहिला कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । आजको दिन विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिवस पनि हो । यसरी आजको दिनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाका दृष्टिले मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनका दृष्टिले पनि विशेष महत्व राख्दछ । यस ऐतिहासिक अवसरमा केन्द्रीय समिति सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र आम पार्टी पङ्क्ति, घाइते तथा बेपत्ता योद्धा, सहिद परिवार, क्रान्तिकारी जनता एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टी तथा सङ्गठनहरु र विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गर्दछ ।”


“आज नेपालको कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पुरा गरी ७४ वर्षमा प्रवेश गरेको छ । ७३ वर्षको अन्तरालमा यो आन्दोलन विभिन्न समयमा चलेका दुुई–लाइन सङ्घर्षका प्रक्रिया मार्फत् क्रान्तिकारी रुपान्तरण, नयाँ आधारमा नयाँ एकता, संशोधनवादका विरुद्ध विद्रोह र कतिपय अवस्थामा अपरिपक्व फुटका घटनाहरु बेहोर्दै यहाँसम्म आइपुुगेको छ । यस बीचमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनआन्दोलन, झापा विद्रोह, जनयुद्ध र विभिन्न प्रकारका जनसङ्घर्षहरु भएका छन् । तत्कालीन नेकपा (माओवादी)को नेतृत्व र जनमुक्ति सेना नेपालको संरक्षणमा नेपाली जनताले जनसत्ताको अभ्यास समेत् गरेका छन् । परन्तु, नेपाल अर्ध–सामन्ती र अर्ध/नव–औपनिवेशिक अवस्थाबाट मुक्त भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रशस्त गर्ने नेपाली जनताको सपना अधुरो रहेको छ । त्यो मात्र होइन, दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडन झन–झन भयावह बन्दै गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवाद हो ।

कथित लोकतन्त्रको पुनस्र्थापना पछि नेपाली संसदमा संशोधनवादी कम्युनिस्टहरुको सङ्ख्या उल्लेख्य रहँदै आएको छ । कतिपय अवस्थामा संसदवादी कम्युनिस्टहरुले करिब दुई–तिहाई बहुमतको सरकार गठन समेत् गरेका छन् । तर विडम्बना ठुला–ठुला राष्ट्रघात र जनघात कम्युनिस्टहरुकै नेतृत्व वा सहयोगमा हुँदै आएको छ । माओवादी केन्द्रको हास्यास्पद व्याख्यात्मक टिप्पणी, नेपाली कङ्ग्रेसको पहल र एमाले लगायत अन्य पार्टीहरुको सक्रिय सहभागितामा नेपाली संसदले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता अत्यधिक मतले अनुमोदन गरेको छ । नेपाली काङ्ग्रेस मात्र होइन, “कम्युनिस्ट” पार्टीको नेतृत्वमा बनेका कुनै पनि सरकारले अहिलेसम्म लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणका विरुद्ध एकशव्द बोलेका छैनन् । देश पूर्णत: पराधीन र पराश्रित बन्दै गएको छ । जनयुद्ध, जनआन्दोलन र विभिन्न जनसङ्घर्षका बलमा जनताले प्राप्त गरेका सीमित जनतान्त्रिक अधिकारहरु पनि खोसिँदै गएका छन् । देशमा बेरोजगारी व्याप्त छ, महङ्गी आकाशिएको छ र आर्थिक सङ्कट गम्भीर बन्दै गएको छ । विप्रेषण र आयात तथा उपभोक्ता करमा निर्भर नेपाली अर्थतन्त्र चालु खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । नवउदारवाद यसको प्रमुख कारण हो र कथित कम्युनिस्टहरुले नै यसलाई थेग्न टेको लगाइरहेका छन् । भ्रष्टाचारले सीमा नाघेको छ । कथित कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारका मन्त्रीहरु र उच्च पदस्थ कर्मचारीहरु नै यसमा सबैभन्दा अगाडि छन् । यसले देशको स्थिति भयावह रहेको देखाउँछ ।

नेपालमा पुँजीवादी पार्टीहरुमा भन्दा पनि अझ नाङ्गो रुपले कथित कम्युनिस्ट पार्टीहरुमा दलीय मान्यता स्खलित हुँदै गएको छ । विचार, राजनीति, देश, जनता प्रति कसैको ध्यान छैन, ध्यान छ त मात्र सत्ताको कुर्चीमा । संसदीय व्यवस्थामा शक्तिका तीन केन्द्र मानिने कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका सबै अस्तव्यस्त रहेका छन् । सङ्घीय सरकारको आदेशलाई महानगरका एकजना मेयरले चुनौती दिन्छन्, सरकार केही गर्न सक्दैन । यो कुनै व्यक्ति विशेषको असक्षमता वा अराजकताको मात्र परिणाम हो ? होइन, यो अमुक पार्टीका अमुक नेताको मात्र समस्या होइन, संसदीय व्यवस्थाको मात्र समस्या पनि होइन, यो त नवउदारवादमा आधारित साम्राज्यवादी विश्व व्यवस्थाको समेत असफलताले पैदा गरेको समस्या हो ।

उपरोक्त समस्याको समाधान विद्यमान संसदीय व्यवस्थाबाट संभव छैन । यसको समाधान माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशन, सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी क्रान्ति हो । नेपालमा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल हुँदै गएको मात्र होइन, क्रान्ति अनिवार्य आवश्यकता बनेको छ । यही आवश्यकतालाई महसुस गरी हाम्रो पार्टी र नेकपा (बहुमत) पार्टी एकता गर्ने निर्णयमा पुगेका हौं र पार्टी एकता संयोजन समिति मार्फत नेकपा (मशाल)सँग एकता वार्ता जारी छ । पार्टी स्थापना तथा लेनिन दिवसको ऐतिहासिक अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा रहेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्न, विभिन्न समूहमा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु क्रान्तिको पक्षमा एकताबद्ध हुन र नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन हाम्रो पार्टी सम्पूर्ण क्रान्तिकारी नेता, कार्यकर्ता तथा आम जनतालाई हार्दिक अनुरोध गर्दछ ।”