दाहाल सरकारकाे निर्मम दमनमा परी घाइते भएका मिटरब्याज पीडितहरु थलिन थाले

दाहाल सरकारकाे निर्मम दमनमा परी घाइते भएका मिटरब्याज पीडितहरु थलिन थाले

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रधानमन्त्री र साेही पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेकाे राज्य प्रशासनले गरेकाे अमानवीय बर्बर दमनमा परी घाइते भएका मिटरब्याज पीडितहरु नराम्ररी थलिन पुगेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक माेेर्चा, नेपाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले वक्तव्य निकालेर घाइतेहरुकाे नि:शुल्क उपचार गर्न माग गरे पनि राज्यले त्यसकाे कुनै सुनुवाइ नगरेकाे पीडितहरुकाे भनाइ छ ।

प्रहरीको कुटपिटबाट पर्वतका सौर्य श्रेष्ठको बायाँ हात भाँचिएको छ। प्रहरीले गेटबाटै तानेर कुटपिट गर्दा हात भाँचिएको उनकाे भनाइ छ ।

सप्तरीकी राजुदेवी रामको टाउकोमा गम्भीर चोट लागेको छ। शान्तिवाटिकामा गाडिएको टेन्टमा सुस्ताइरहेकी उनी बोल्न सकिराखेकी छैनन्।

नवलपरासी पश्चिमबाट आएका कुलबहादुर थापाको पनि टाउकोमा चोट लागेको छ। उनी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन शान्तिवाटिकाबाट बाहिर निस्किन गेटमा लाइन लागेका थिए। प्रहरीले अश्रु ग्यास प्रहार गरेसँगै लाठीले टाउकोमा हानेको उनी बताउँछन्।

त्यस्तै, पश्चिम नवलपरासीकै हर्षबहादुर विक र रामकवल चमारलाई पनि प्रहरीले कुटपिट गरेको छ। हर्षको टाउकोमा चोट लागेको छ भने रामको बायाँ हात भाँचिएको छ।

आन्दोलनका क्रममा ४३ जना घाइते भएका थिए। अधिकांशको हात र टाउकोमा चोट लागेको छ। त्यस्तै, प्रदर्शनमा उत्रिएका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर पछि पनि प्रहरीले कुटपिट गरेको उनीहरू बताउँछन्। चाैतर्फी दबाब पछि पक्राउ परेका पीडितहरुलाई साँझ छाेडिएकाे थियाे ।

सातादेखि रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना दिइरहेका मिटरब्याज पीडित वैशाख ४ मा सिंहदरबार अगाडि प्रदर्शन गर्ने तयारीमा थिए। शान्तिवाटिकाबाट निस्किन नपाउँदै प्रहरीले हस्तक्षेप गरेको समितिका सदस्य मनोज खतिवडा बताउँछन्।

शान्तिवाटिकाको गेटमा उभिएर प्रहरीले जथाभावी कुटपिट गरेको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले जनाएको छ। माथिको आदेश भन्दै प्रहरीले शान्तिवाटिकाबाट बाहिर निस्कनै नदिएको उनीहरू बताउँछन् ।

प्रहरी दमनकाे घाेर विराेध गर्दै नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक माेर्चा,नेपाल, अनेकिमहासंघ (क्रान्तिकारी ) लगायत विभिन्न पार्टी र संघसंस्थाहरुले प्रेस वक्तव्य जारी गरि घाेर विराेध गरेका थिए ।