दिल्लीमा राष्ट्रपतिको उपचार, राष्ट्रघाती नागरिकता विधेयक पास हुने प्रचण्डको उद्घोष

दिल्लीमा राष्ट्रपतिको उपचार, राष्ट्रघाती नागरिकता विधेयक पास हुने प्रचण्डको उद्घोष

काठमाडौं । छातीमा संक्रमण देखिएको भन्दै एअर एम्बुलेन्सबाट राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि दिल्ली पुर्‍याइयो । राष्ट्रपतिको उपचार सरकारी अस्पताल वीर अस्पतालमै हुनसक्ने सुविधा हुँदाहुँदै किन दिल्ली पुर्‍याइयो भनेर एकजना बरिष्ठ डाक्टरले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति त नेपालमै उपचार गराउन चाहनुहुन्थ्यो मैले नै उपचारको लागि दिल्ली पठाएको स्पष्टीकरण दिएका छन् । यसैबीचमा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तो नरोकिने र पुरानो राष्ट्रघाती भनिएको नागरिकता विधेयक संसदमा पेस गर्ने र पास गर्ने अभिव्यक्ति दिएका छन् । प्रचण्डले नागरिकता विधेयकको यस्तो समयमा उठाएका छन् कि अब केही दिनमा उनी दिल्लीको भ्रमणमा जाँदै छन् ।

दिल्लीको चाहना अनुसार नागरिकता विधेयक फेरी संसदमा टेवल गर्ने, दुवै सदनबाट पास गरेपछि राष्ट्रपतिले पनि स्वत: लालमोहर लगाउने सहमतिका लागि राष्ट्रपतिलाई उपचारको निहुँमा दिल्ली पुर्‍याइएको त होइन ? राजनीतिक वृतमा भित्रभित्रै प्रश्न गर्न थालिएको छ ।

मंसिर ४ को चुनावअघि प्रचण्डको भारत भ्रमण, भ्रमण लगत्तै नागरिकता विधेयक ल्याउन आफूले मुख्य भूमिका खेलेको भन्दै मधेसका जिल्लाहरुमा गएर भाषण गर्नु, नेकपा (क्रान्तिकारी माओवादी)सहित देशभक्त कम्युनिस्ट क्रान्तिकारीहरुको व्यापक विरोधका बाबजुद संसदका दुवै सदनबाट पारित भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय हितमा नरहेको’ भन्दै प्रमाणीकरण गर्न नमानेपछि अड्किएको राष्ट्रघाती विधेयकलाई फेरि ब्युँताउने उद्घोष प्रधानमन्त्री प्रचण्डले फेरि उचाल्नुले दिल्लीकै योजना अनुसार प्रधानमन्त्री प्रचण्डले काम गरिरहेको स्पष्ट भएको छ ।

नेपालको जलसम्पदामा भारतीय एकाधिकार कायम गराउने, लिम्पियाधुरा–लिपुलेक–कालापानी लगायत भारतीय कब्जामा रहेको नेपाली भूमिमाथिको दावी छाड्ने, राष्ट्रघाती नागरिकता विधेयकलाई पास गर्ने र भारतको चाहना मुताविक संविधान संशोधन गर्ने प्रयत्नलाई जारी राख्ने सर्तमा प्रम प्रचण्ड आफ्नो सरकारको आयु लम्ब्याउन दिल्लीसँग लम्पसार परेको टिप्पणी राजनीतिकवृतमा बाक्लिरहेको छ ।
उता भारतीय प्रधानमन्त्री र राष्ट्रपति दुवैले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचार भइरहेको छ । दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ । उनको स्वास्थ्यस्थिति हेरेर बिहीबार सम्भवत: आईसीयूबाट बाहिर प्राइभेट वार्डमा सार्ने सम्भावना छ ।

यसैबीच, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको शीघ्र स्वास्थ्यलाभको सन्देश अस्पतालमा पठाएकी छन् । मुर्मूका तर्फबाट राष्ट्रपति कार्यालयका कर्मचारीले पुष्पगुच्छा र सन्देश अस्पतालमा लिएर आएका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन् । विदेश मन्त्रालयका अधिकारीहरु नियमितरुपमा एम्स अस्पतालमा आउजाउ गरिरहेका छन् ।

बिहीबार नर्थ डेस्क प्रमुख अनुराग श्रीवास्तव अस्पताल पुगेर परिवारजनलाई भेटेका छन् । यसअघि विदेश सचिव विनयमोहन क्वात्रा पनि अस्पताल पुगेको पारिवारजनले जनाएको छ ।