‘साना दल’ र रास्वपा बिरुद्ध काँग्रेस, एमाले, माओवादी केन्द्र, एसलगायत पाँच दलको ‘महागठबन्धन’

‘साना दल’ र रास्वपा बिरुद्ध काँग्रेस, एमाले, माओवादी केन्द्र, एसलगायत पाँच दलको ‘महागठबन्धन’

नवलपरासी : यहाँ देशकै प्रमुख संसदवादी पाँच दलहरुले साना दलका बिरुद्ध मोर्चाबन्दी गर्दै ‘महागठबन्धन’बनाएका छन् ।
यो पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खबर हो ।
‘खानेपानीमा राजनीति गर्नुहुदैन’ भन्दै देशको सबैभन्दा पुरानो र ठुलो दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा उम्मेदवारी नदिएर दोस्रो ठुलो दल नेकपा (एमाले)को नेतृत्वको ‘महागठबन्धन’ बनाएर माओवादी केन्द्र , एकीकृत समाजवादीलाई समेत सामेल गराईएको छ । पाँच दलीय यस ‘महागठबन्धन’मा राष्ट्रिय जनमोर्चाको समेत सर्मथन रहेको जनाइएको छ ।
पाँच ठुला दलको ‘ठिमाहा महागठबन्धन’को देखेपछि बर्दघाट खानेपानीका उपभोक्ता समेत आश्चर्यमा परेका छन् । यहाँ क्रियाशिल रहेका ‘साना’ भनिने दल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बिरुद्ध उम्मेदवारी दिएका सत्तारुढ र संसदमा बिपक्षी रहेका पाँच दलका नेता कार्यकर्ता चर्काे घाममा मत माग्न जनता कहाँ पुगिरहेका छन् । ‘महागठबन्धन’ को यस प्यानलको अध्यक्षमा नेकपा एमालेका दिपक लम्साल, उपाध्यक्षमा काँग्रेसको तर्फबाट कमल थापा, सचिवमा एमालेको तर्फबाट शोभाकान्त कोइराला र कोषाध्यक्षमा राधादेवी अधिकारी उम्मेदवार हुनुहुन्छ । ‘महागठबन्धन’ले कार्य समिति सदस्य , लेखा संयोजक र लेखा सदस्यमा समेत बाँडीचुडी उम्मेदवार उठाएका छन् । विहीवार उपभोक्ता कहाँ मत माग्न आफूहरु घरदैलोमा ब्यस्त भएको ‘महागठबन्धन’का अध्यक्ष उम्मेदवार लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै गरी बर्दघाटमा क्रियाशिल ‘साना’ भनिएका चार दलले राष्ट्रिय जनमुक्ति पार्टीका नेता धनबहादुर गुरुङ्गको नेतृत्वमा संयुक्त गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । गुरुङ्ग यस अघिको कार्यसमितिमा सचिव रहनुभएको थियो । गुरुङ्गको यस प्यानलमा उपाध्यक्षमा राप्रपाको तर्फबाट शेरबहादुर दर्जी,सचिवमा मोतीलाल सुनार र कोषाध्यक्षमा रेवती पुनको उम्मेदवारी रहेको छ । यो संयुक्त प्यानलमा नेकपा(क्रान्तिकारी माओवादी)बाट नगर सदस्य गौरी पोखरेल र विप्लव नेतृत्वको नेकपाबाट निरबहादुर पाठकलगायतको उम्मेदवारी हुनुुहुन्छ । यो प्यानलबाट दलित सदस्य बाहेक ११ जनाको उम्मेदवारी छ ।
विहीवार भएको एक साक्षात्कारमा‘संयुक्त उपभोक्ता मैत्री गठबन्धन’का अध्यक्ष पदका उम्मेदवार गुरुङ्गले ठुला भनिनेदलहरुको सिन्डीकेट तोड्न उम्मेदवारी दिन बाध्य भएको दावी गर्नुभयो ।
यस प्यानलमा जनमुक्ति, राप्रपा,क्रान्तिकारी माओवादी र विप्लव नेकपाको प्रत्यक्ष उम्मेदवार छन् । गुरुङ्ग नेतृत्वको यस संयुक्त प्यानललाई नेकपा(बहुमत),नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र मंगोल अर्गनाइजेसनलगायत ४ दलको समर्थन समेत रहेको छ । यस प्यानलले बिकेन्द्रित रुपमा घरदैलो जारी राखेको गुरुङ्गले जानकारी गराउनुभयो ।

त्यस्तै देशको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राजेन्द्र प्रसाद तिमिल्सिनाको नेतृत्वमा उपाध्यक्ष सागर गैरे, सचिव खिमानन्द पुरी र कोषाध्यक्षमा कविता रेग्मी अधिकारीलाई अगाडि सारेको छ । तिमिल्सिनाको नेतृत्वमा यस टोलीले पनि घरदैलोलाई तीब्र बनाएको छ । यस प्यानलमा १२ जनाको नै उम्मेदवारी परेको छ ।
पहिचानवादी तथा साना बामपन्थी र राष्ट्रवादी बीचको एउटा गठबन्धन र रास्वपाको अर्काे समुह बिरुद्ध खानेपानीमा नेका, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘महागठबन्धन’ लाई कतिपयले भने‘गैर राजनीतिक गठबन्धन’ को संज्ञा दिदै आलोचना गर्दै आएका छन् ।

खानेपानीको मतदान बैशाख ९ गते हुदैछ ।