
काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा रहेका तमाम विकृति, विसंगतीहरु हटाएर शैक्षिक क्षेत्रलाई आमूल रुपले सुधार मात्रै होइन, नेपाल र नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर आमूल रुपले शैक्षिक क्षेत्रको नीतिगत परिवर्तनका लागि प्रमुख रुपमा आवाज उठाउँदै आएका संगठनहरु हुन्– मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), धर्मेन्द्र बाँस्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत) निक अखिल (क्रान्तिकारी) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल) निकट अखिल (छैठौं) । यी तीनवटै विद्यार्थी संगठनले नेपालको विद्यार्थी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गर्दछन् ।
शैक्षिक क्षेत्रका साथै समग्र राजनीतिक क्षेत्रमा पनि यी संगठनले क्रान्तिकारी परिवर्तनको दृष्टि राख्दछन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुको दीर्घकालीन समाधानका लागि स्वाधीन, आत्मनिर्भर र समृद्ध नेपालको निर्माणको आवश्यकतालाई गहिरोसँग बोध गरेका छन् । सिंगो विद्यार्थी आन्दोलन सत्ता र शक्तिको दलालीमा बन्दक बनिरहँदा यी संगठनले सडकबाट शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृतिहरुको निरन्तर भण्डाफोर गर्दै आएको छ । दलाल संसदीय व्यवस्था, यो व्यवस्थाले गरेका राष्ट्रघात, जनघातका विरुद्ध निरन्तर रुपमा आवाज उठाउँदै आएको छ । राष्ट्रघाती एमसीसीको खारेजी होस् वा बुच्चे नक्सा हटाएर चुच्चे नक्सा कायम गराउने सडक आन्दोलन होस्, यी आन्दोलनहरुमा यी विद्यार्थी संगठनहरुले निरन्तर रुपमा सडक आन्दोलनमार्फत् खबरदारी गर्दैै आएका छन् ।
यी संगठनका नेता तथा आसन्न चुनावका लागि खडा भएका उम्मेदवारहरु निष्ठा र इमान्दारिताका पर्याय छन् । उनीहरु व्यक्तिगत नाफा घाटाका लागि भन्दा पनि आम विद्यार्थीको हक हित र अधिकारका साथै समग्र शैक्षिक र राजनीतिक समस्याको जनपक्षीय समाधानका लागि, अग्रगामी र क्रान्तिकारी परिवर्तनका लागि निरन्तर आवाज बुलन्द गर्दै आएका छन् ।
यी संगठनहरुले काठमाडौं उपत्यका लगायत देशैभरका मुख्य मुख्य क्याम्पसहरुमा आफ्ना उम्मेदवारहरु उठाएका छन् । क्याम्पसमा अध्ययनरत आम सचेत विद्यार्थीहरुले सत्ता र शक्तिको दलालीका कारण बद्नाम, भ्रष्ट र अनैतिक विद्यार्थी संगठन र तीन संगठन समर्थिक उम्मेदवारहरुलाई भोट हालेर आफैमाथि घात र अपमान गर्नुभन्दा आमूल परिवर्तनका निम्ति लड्ने, साँच्चै क्रान्तिकारी संगठनको रुपमा स्थापित विद्यार्थी संगठन र तिनका उम्मेदवारहरुलाई भोट हालेर आफ्नो स्वाभिमान र नैतिकताको रक्षा गर्नु सबै सचेत युवा विद्यार्थीहरुको आजको प्रमुख कर्तव्य पनि हो । भिडको पछि लाग्ने कि सत्य, स्वाभिमान र नैतिकताको पछि लाग्ने ? भोट हाल्नुअघि हरेक विद्यार्थी मतदाताहरुले छातीमा हात राखेर सोच्न जरुरी छ ।
आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा यी तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गरेका छन् । यो चुनावमा विद्यार्थी संगठन र उनीहरु समर्थिक उम्मेदवारहरुको होइन, वास्तवमा सचेत युवा विद्यार्थीहरुको अग्नी परीक्षा हुँदैछ । आम सचेत विद्यार्थीहरु सत्य, स्वाभिमान र नैतिकताको पक्षमा उभिन्छन् कि सत्ता, शक्ति, पैसा र भिडको पछि लाग्छन्, त्यो भने निर्वाचनको परिणामपछि नै थाहा हुनेछ ।