निबन्ध
पृथ्वीमा कुनै समयविन्दुबाट सुरु भएको सिङ्गो मानव जातिको यात्रा कहाँबाट अहिले कहाँ आइपुग्यो र अब कता जाँदैछ ?
इजरायलको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका इतिहासका प्रोफेसर युभल नोहा हरारीले मानव जातिको भूत, भविष्य र वर्तमान तीन कालमा टेकेर तीनवटा कृति लेखेका छन् । मानव जातिको संक्षिप्त इतिहास प्रस्तुत गरेर ‘सेपियन्स’ नामक पुस्तकबाट प्रशस्त ख्याति बटुलेका उनको दोस्रो कृति ‘होमो देउस’ मा भविष्यको इतिहास र पछिल्लो कृति ‘एक्काइसौँ शताब्दीका लागि एक्काइस पाठ’मा लेखकले महत्त्वपूणर््ा ठानेका वर्तमानका वैश्विक मुद्दाहरू उठाइएको छ । एक्काइस पाठसित सम्बन्धित एक्काइस शीर्षक हुन्—मोहभङ्ग, रोजगारी, स्वतन्त्रता, समानता, समुदाय, सभ्यता, राष्ट्रियता, धर्म, आप्रवासन, आतङ्कवाद, युद्ध, नम्रता, ईश्वर, धर्मनिरपेक्षता, अज्ञानता, न्याय, उत्तरसत्य, विज्ञान कथा, शिक्षा, अर्थ र ध्यान । यद्यपि पछिल्लो कृतिमा अघिल्ला दुई कृतिमा उठाइएका विषयहरूको प्रशस्त पुनरावृत्ति पाइन्छ । तर उनलाई निर्देशित गर्ने राजनीतिक तर्क अघिल्ला दुई पुस्तकमा भन्दा यसमा बढी मुखर भएर आएको देखिन्छ ।
हरारी विपुल सूचना–ज्ञान सहित मानव जातिको सर्वाधिक सरोकारको विषय लिएर अत्यन्त छोइने भएर आएका छन् । दर्जनौँ भाषामा अनूदित उनी विश्वविख्यात छन् । उनीबाट सिक्नु पर्ने र सिक्न सकिने विषय प्रशस्त छन् । उनका कृतिहरूका बारेमा नेपाली भाषामा प्रशस्त चर्चा भइसकेको भए पनि थोरै पनि आलोचनाको कोणबाट लेखिएको भेटिएन । धुरन्धरहरू चूप लागेकाले अल्पज्ञलाई बोल्न मन लाग्यो । वैज्ञानिक विकासको उत्कर्षमा पुगेको मुलुक इजरायलमा जन्मे हुर्केर बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा इतिहास विषयमा विद्यावारिधि गरेका विद्वान् लेखकको कृतिमाथि नेपालजस्तो अविकसित मुलुकमा जन्मी हुर्की मेकालेले तयार पारेको परजीवी शिक्षापद्धतिमा शिक्षा लिएको र अतिकम विषयज्ञान भएको एउटा पात्रले कति नै समीक्षा गर्न सक्दो हो र ! कोही बात छैन । मेरो कमजोरी देखेर कोही हाँसेछन् भने म पनि उसैसित सँगै हाँसिदिन्छु । मैले आफ्नो कमजोरी त थाहा पाउँछु नि !
यो छोटो आलेखमा उनले उठाएका एक्काइसवटै प्रश्नको बारेमा चर्चा गर्ने मेरो उद्देश्य होइन । केही विषयमा आफ्नो पाठकीय प्रतिक्रिया प्रस्तुत गर्दछु ।
हरारीले महाख्यानको अन्त्य भएको तर्क गरेका छन्—‘मान्छेले तथ्यमा भन्दा कथामा सोच्ने गर्छ । हरेक व्यक्ति, समूह र राष्ट्रको पनि एउटा आफ्नै कथा अर्थात् मिथ हुन्छ । तर विसौँ शताब्दीको दौरानमा न्यूरोर्क, बर्लिन, लन्डन र मस्कोका वैश्विक सम्भ्रान्तहरूले तीनवटा महाख्यानको निर्माण गरे—फासिस्ट आख्यान, कम्युनिष्ट आख्यान र लिबरल आख्यान । उनीहरूले सम्पूर्ण संसारको इतिहासको व्याख्या र भविष्यको पूर्वानुमान समेत गरे । दोस्रो विश्वयुद्धले फासीवादको कथालाई गलहत्याएर फालिदियो । त्यसपछिको चार दशकसम्म यो संसार—साम्यवाद र उदारवाद नामक दुई कथाको रणमैदान बन्यो । असीको दसकमा साम्यवादको कथा ढलेपछि यो विश्वको इतिहासको व्याख्या र भविष्यको अनुमान गर्ने एक मात्र कथा उदारवादको वर्चस्व कायम रह्यो । मताधिकारमा आधारित लोकतन्त्र र खुला बजारमा आधारित अर्थतन्त्र अँगाल्ने उदारवादले संसारका सबैमा शान्ति र समृद्धि ल्याउँछ भन्ने कथा पनि २००८ को महामन्दीपछि अन्त्य भयो । यसरी क्रमशः सबै आख्यानमाथि मोहभङ्ग भएकोले वर्तमान संसार आख्यानहीनताको अवस्थामा छ ।’
वैश्विक सम्भ्रान्त भनेर उनले रोनाल्ड रेगन, हिटलर, मार्गरेट थ्याचर र लेनिनलाई सङ्केत गरेको कुरा सन्दर्भबाट बुझ्न सकिन्छ । यहाँनेर उनले विषयलाई गाजेमाजे पारेर हलुवा र बालुवा एकै ठाउँमा मिसाइदिएका छन् । माक्र्स लेनिनको चिन्तन सम्भ्रान्त चिन्तन होइन, श्रम लुटेर सम्पन्न हुने सम्भ्रान्त वर्गको विरुद्धमा श्रमजीवी जनतालाई शिक्षित, सङ्गठित र आन्दोलित गर्दै समग्र मुक्तिको गन्तव्यमा पु¥याउने चिन्तन हो । यो आख्यान होइन भौतिकवादी द्वन्द्ववादको तथ्यमा आधारित साम्यवादी दर्शन हो ।
‘वर्तमान संसार आख्यानहीनताको अवस्थामा छ’ भनेर विषयलाई यत्तिकै छोडिदिएको भए उनले आफूले देखेको चित्रण मात्रै गरे भन्न पनि सकिँदो हो । उनकै शब्दलाई लिएर भन्ने हो भने उनले नयाँ ‘आख्यान’ कथे र भने ‘अन्ततः मानव जातिले उदारवादी कथालाई त्याग्ने छैन । किनकि यसको कुनै विकल्प छैन । मान्छेहरूले योे प्रणालीका पेटमा रिसले लात हान्न सक्छन् तर अन्यत्र कतै जाने ठाउँ नपाएपछि तिनीहरू फर्केर उदारवादमै आउने छन् ।’ उनको यो भनाइले इजराइलकै हाइफा विश्वविद्यालयका इतिहासका प्रोफेसर ड्यानी गटविनको तर्कको पुष्टि गर्दछ । गटविनले ‘युवल नोहा हरारी कसरी सम्भ्रान्त उदारहरूको पाल्तु बुद्धिजीवी बने ?’ भन्ने शीर्षकमा योे पुस्तकको समीक्षा गर्दै भनेका छन्– ‘ओबामा, बिल गेट्स र जुकरबर्गले हरारीलाई किन अपनाए ? त्यो राजनीतिक फाइदाका कारणले कि हरारीको दृष्टिकोणले नवउदारवादी प्याकेजको गम्भीर विकल्प छैन भन्ने सन्देश दिन्थ्यो ।’ साम्यवादको आख्यान सदाको निम्ति अन्त्य हुने अनि नवउदारवादी आख्यान निर्विकल्प हुने ! कति मजाको तर्क !
उनले आणविक चुनौती, पर्यावरणीय चुनौती र प्राविधिक चुनौतीलाई वर्तमानको मुख्य वैश्विक चुनौतीका रूपमा उल्लेख गरे । आणविक शक्ति सम्पन्न राष्ट्रको कुनै सन्की शासकले विश्वविनासक आणविक अस्त्रको प्रयोग गर्न तर्कको जरुरत पर्दैन अथवा यो प्रविधि कुनै आतङ्कवादी समूहको हातमा पर्न पनि सक्छ । यो आणविक चुनौती हो । वैश्विक तापमान वृद्धि भई ध्रुबीय प्रदेशका र हिमाली पर्वतका हिउँ पग्लेर समुद्री किनारका शहरहरू डुब्ने र पहाडी क्षेत्र र उपत्यकाहरू उजाड हुने अवस्था आउन सक्छ । विकसित ठूला देशहरूले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गरिरहे भने कम मात्रामा यस्तो ग्यास उत्सर्जन गर्नेहरू समेत सबै मुलुकले तापमान वृद्धिको असर भोग्नु पर्दछ । यो पर्यावरणीय चुनौती हो । इन्फोटेक र बायोटेकको मर्जरले डिजिटल अधिनायकत्व आफ्नो हातमा लिएर एकातिर अति धनाढ्यताको प्रलयकारी दृश्यको ढोका खोल्ने र अर्कातिर विशाल वैश्विक उपयोगहीन वर्गको निर्माण हुने परिस्थिति आउन सक्छ अर्थात् आनुवंशिक इन्जिनियरिङ्गबाट मानवको भ्रुणारोपण गर्ने कार्य देश–देशले आफुखुसी अगाडि बढाउन सक्छन् । यो प्राविधिक चुनौती हो ।
हरारीले वैश्विक चुनौतीबाट भाग्ने राष्ट्रवादी सोचले संसारलाई बचाउन नसक्ने हुँदा वैश्विक समस्या समाधानको निमित्त वैश्विक उत्तर नै चाहिने तर्क राखे । यहाँसम्म कुरो ठिकै छ । जब वैश्विक उत्तर के हो त ? भन्ने प्रश्न आउँछ तब उनको जवाफ गोलमटोल हुन पुग्छ । उनी भन्छन्–‘यी तमाम समस्याहरूको समाधानको मुख्य उपाय भनेको राजनीतिलाई वैश्विकीकरण गर्नु हो ।’ उनको तात्पर्य वैश्विक सरकार भने होइन, वैश्विक समस्या र रुचिको ख्याल गर्ने गतिशील राजनीति हो । यति गम्भीर प्रश्नको उत्तर उनले फ्यास्सको अर्तीमा लगेर टुङ्ग्याइदिए । वैश्विक समस्या र रुचिको ख्याल गर्ने राजनीति भनेको के हो ? उत्पादनका साधनहरूमाथिको स्वामीत्व हडपेर राजनीतिक हैकम समेत चलाइरहेको निजी मुनाफामा मोहान्ध पुँजीवादले हरारीको अर्ती सुनेर आफूभित्र विश्व मानवताको चिन्तन हुर्काउला भनेर पत्याउने आधार पुस्तकमा कतै पनि भेटिँदैन । अर्को कुरा, धर्म, राष्ट्रियता र संस्कृतिले संसारलाई शत्रुतापूर्ण शिविरहरूमा चिरा पारेका कारणले वैश्विक उत्तर खोज्नमा बाधा परेको बताए पनि उनले राज्यसत्ता र धर्मको अस्तित्व अड्याउने आधारभूमितिर नदेखेझैँ गरे । वास्तवमा निजी सम्पत्तिको उदयपश्चात् परिवार र राज्यको उत्पत्ति भएको ऐतिहासिक भौतिकवादद्वारा प्रमाणित भइसकेको तथ्य हो । अहिले पनि धर्मलाई शासकीय स्वार्थ रक्षाका निमित्त राज्यसत्ताले उपयोग गरिरहेको छ । सम्पूर्ण अशान्ति, अपराध र समस्याको जड पुँजीवादी चिन्तनमा अन्तरनिहित निजी सम्पत्ति सञ्चयको उद्दाम लालसा हो । अझ भनौँ निजी सम्पत्ति हो । नवउदारवाद अर्थात पुँजीवादी अर्थराजनीतिले वैश्विक चुनौतीहरूको सामना गर्न सक्तैन । विशद मानवीय र सामाजिक चरित्रका वैश्विक समस्या केवल वैज्ञानिक समाजवादले मात्रै समाधान गर्न सक्तछ ।
विश्वमा सोभियत सङ्घको पतनपछि ९० को दशकमा मौलाएको नवउदारवाद २००८ को महामन्दी पश्चात् भीषण सङ्कटमा फँस्यो । अमेरिकामा डोनाल्ड ट्रम्पको र युरोपमा ब्रेक्जिटपक्षधरहरूको विजय भयो । यसैको सेरोफेरोमा उनले उदार प्रजातन्त्रका सङ्कटका कारणहरूलाई खोतलेका छन् र खोतल्दै गएर समस्यापछि समस्या निकालेर छाडेका छन् ।
पुस्तकमा हाम्रालागि सिक्न योग्य र सम्झन लायक सयौँ सूचनाहरू हुँदा हुँदै पनि यसले दिन खोजेको मूल सन्देशमा गडबडी छ ।
उनले हिटलर र स्टालिनलाई एउटै कोेटीमा राखेर मूल्याङ्कन गरेका छन् । यस्तो मूल्याङ्कन दुई किसिमका मान्छेले मात्रै गर्न सक्तछन् । कि त्यो इतिहासको सामान्य ज्ञान पनि नभएको मान्छे हुनु पर्छ कि त्यसले तथ्यलाई हेर्ने चश्माको सिसामा पूर्वाग्रहको बाक्लो बाफले ढाकिएको हुनुपर्छ । ऐतिहासिक सूचनाको समुद्र बोकेर हिँडेका हरारीले इतिहास नजानेका अवश्य होइनन् । स्टालिनकालमा पत्रकारका रूपमा सोभियत सङ्घमा लामो समय बसेकी अमेरिकी नागरिक अन्ना लुई स्ट्रङ्गले ‘स्टालिन युग’ नामक एउटा पुस्तक लेखेकी छिन् । स्टालिनकालीन रुसमा पटक पटक गिरफ्तारीमा परेकी र निष्कासन समेत गरिएकी उनले सो पुस्तकमा संक्षेपमा तत्कालीन सोभियत सङ्घको सजीव चित्र उतारेकी छिन् । पुस्तकको प्रस्तावनामा उनले लेखेकी छिन्– ‘करोडौँ मानिस मिलेर संसारको पहिलो समाजवादी राज्यको निर्माण गरे । तर यस निर्माणको इन्जिनियर स्टालिन थिए । ..समाजवादी निर्माणका दौरानमा अनेक विपत्तिहरू आए । त्यसका पछाडि अपरिहार्यता, गल्ती वा अपराध पनि हुन सक्छन् । तर यो विपत्ति त्यो विपत्तिका तुलनामा निकै कम छ, जुन पश्चिमी दुनियाद्वारा लादिएको हस्तक्षेपकारी युद्ध र हिटलरको आक्रमणबाट झेल्नु प¥यो । ..पश्चिमका आफ्ना साथीहरूसित भन्न चाहन्छु कि यो इतिहासको महान् गतिशील युग थियो । सायद् महान्तम । यसले लाखौँ नायकहरू पैदा ग¥यो । केही शैतान पनि पैदा ग¥यो । छोटो मिजासको मान्छेले मात्रै पछाडि फर्केर अपराधको सूची बनाउन सक्छ ।’
हुन पनि त्यस कालमा सोभियत सङ्घमा अचम्मै भएको थियो । स्टालिनको नेतृत्वमा समाजवादी निर्माण थालिँदा एउटा पिछडिएको र चारैतिरबाट शत्रुले घेरिएको किसान देश स्टालिनले काम समाप्त गर्दा विश्वको दोस्रो ठुलो औद्योगिक राष्ट्र थियो । यस्तो निर्माण एक पटक हिटलरको हमलाभन्दा पहिला र अर्को पटक विश्वयुद्धले पु¥याएको बर्बादीको पछि गर्नु परेको थियो ।
हरारीले ठाउँ ठाउँमा इतिहासको गलत व्याख्या गरेका छन् । द्वितीय विश्वयुद्धपछि फाँसीवादको आख्यानको अन्त्य भयो भनेर सगर्व बयान गर्ने उनले त्यस विजयमा स्टालिन नेतृत्वको सोभियत सङ्घको मुख्य भूमिकालाई लुकाइदिए र स्टालिनलाई दानवीकरण गरे । वास्तविकता भने अर्कै छ । हिटलरको सेना क्रमशः विजय प्राप्त गर्दै रुसको राजधानीमै पुगिसकेको थियो । १९४३ फेब्रुअरी २ मा तत्कालीन स्टालिनग्रादमा जर्मनका तीन लाखभन्दा बढी सेनाले घेराबन्दीमा परी रुसी सेनासमक्ष आत्मसमर्पण गरेपछि हिटलरको पराजययात्रा सुरु भएको हो । रुसी सेनाले तिनलाई रुसबाट मात्रै खेदेनन्, जर्मन सेनालाई परास्त गर्दै बर्लिनसम्मै पुगे । त्यसपछि मात्र अमेरिका र बेलायत रुससितको सहयात्रामा मिसिएका हुन् । युद्ध र आर्थिक कारणले थला परिसकेकोले बेलायतको सर्वशक्तिमान विश्व साम्राज्यको हैसियत अस्ताचलमा पुगेको थियो । आर्थिक र सामरिक तागत बढाउँदै अघि बढिरहेको अमेरिका विश्व विजेता बन्ने दाउमा थियो । उसको यो दाउ सफल हुनका निमित्त दुई उदीयमान शक्ति जर्मनी र रुसको अग्रगामी यात्रामा अवरोध आउनु आवश्यक थियो । त्यसैले जर्मन र रुसबिचको भीषण युद्ध अमेरिकाका निम्ति कुचाको काम हावाले गरेजस्तो भएको थियो । उसको नजरमा यस्तो युद्धबाट दुवै पक्षको शक्तिमा क्षीण हुने निश्चितजस्तै थियो ।
हरारीले विश्वव्यापीकरण र इन्टरनेटले विश्वका देशहरूको बिचको सम्बन्धका गल्छीहरूमा पुल हालिदिएको तर वर्गको खाडललाई झन् फराकिलो पार्दै लगेको तथ्यलाई स्वीकारेका छन् । उनी भन्छन्– ‘विश्वव्यापीकरणले सबैतिर सम्पन्नता फैलिने दावी गरिए पनि सारतः त्यस्तो भएन । बरु असमानता झन् बढेर गयो । आज संसारको सम्पूर्ण सम्पत्तिको आधा हिस्सामाथि एक प्रतिशत धनीहरूले कब्जा जमाएका छन् । सबभन्दा गरीब चार अरब मान्छेको सम्पत्ति भन्दा सबभन्दा धनी एक सयजनाको सम्पत्ति बढी छ । यो असमानता घटतो क्रममा छैन, बरु झन् बढ्दो क्रममा छ ।’
यो असमानतालाई कम गर्ने सम्बन्धमा उनले कुनै प्रस्ट भिजन प्रस्तुत गर्न सकेका छैनन् । बरु अझै भयानक असमानताको सम्भावना औँल्याएर छाडिदिएका छन्– ‘यो त धनको वितरणमा मात्रै असमानता थियो, अब त जैव प्रविधिमा भएको अत्यधिक विकासका कारणले त्यो आर्थिक असमानता मानवका बिचमा जैविक असमानतमा अनुवाद हुने प्रवल सम्भावना छ । ..सालाखाला राजकुमारहरू सालाखाला किसानभन्दा प्रतिभाशाली थिएनन् । उनीहरूले न्यायिक र आर्थिक उच्चता अन्यायपूर्वक छिनेर लिएका थिए । अब एक्काइसौँ शताब्दीमा भने उनीहरू वास्तवमै बढी प्रतिभाशाली, सिर्जनशील र बुद्धिमान हुनेछन् । ..कृत्रिम बौद्धिकताको साथमा बायोइन्जिनियरिङ्गको मिलनले एकातिर अतिमानवको एउटा सानो वर्ग र अर्कातिर उपयोगिताहीन निरीह मान्छेहरूको एउटा ठूलो वर्ग खडा गरिदिने छ ।’
मान्छेलाई यति निरीह र उपयोगहीन पारिँदै लगिने कलुषित व्यवस्थाका विरुद्धमा उठ्न सक्ने आन्दोलन र क्रान्तिका सम्भावनालाई भने उनले ठाडै अस्वीकार गरेका छन् । मानव जातिको सुन्दर भविष्य निर्माणको उदात्त विचारलार्ई मिथ र त्यो प्राप्तिका निम्ति गरिने त्याग, वीरता र बलिदानलाई मूर्खताको संज्ञा दिएका छन् । झन् पछि झन् यन्त्रवत् र निर्मम हुँदै अति वैयक्तिकताको पागलपनमा फँस्दै गएको र विशाल मानव पंक्तिसितको सम्बन्धबाट कटेको परम स्वार्थी चेतनाको पिण्डलाई अतिमानवको संज्ञा दिएर हरारीले मानवताको उपहास गरेका छन् ।
मानव–मानवका बिचमा विश्व बन्धुत्वको भावना जागृत भई सहयोग र सद्भावले युक्त सौम्य समाज बन्न किन नसक्ने ? हरारीले सम्भव छैन भने भन्दैमा आफूले सोच विचार नै नगरी उनका पछाडि दगुरिहाल्न जरुरी छैन ।
संसारका सबै पदार्थहरू परस्परावलम्बी भौतिक स्रोतबाट सिर्जित हुन्छन् र ती सबै पदार्थहरू आ–आफ्नो आयु पूरा गरी विघटन भएर त्यसैमा गएर मिल्दछन् । प्रकृतिमा दृश्यमान वैषम्य हरदम साम्यतिर प्रवाहित छ । जसरी हावा अधिक चापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रतिर बहन्छ, जसरी पानी ओरालोतिर बग्छ, त्यसैगरी धर्तीका सम्पूर्ण मान्छे सुख खोज्न दौडिरहेका छन् । हावा पनि आपसमा जुध्छन् । पानी पनि आपसमा जुध््छन् । मान्छे पनि आपसमा टक्कराउँछन् । असमानताले सङ्घर्षलाई अनिवार्य बनाइदिन्छ । सङ्घर्ष त्यतिन्जेल चलिरहन्छ जबसम्म सन्तुलन कायम हुँदैन, साम्यावस्था आउँदैन । जतिसुकै ठुलो विद्वानले प्रतिपादन गरेको होस्, अन्याय र असमानता मौजुद छँदाछँदै सङ्घर्ष सदाका लागि अन्त्य भयो भन्ने दर्शन संसारको सम्पूर्ण वैभव आफूहरूले मात्र भोग गर्न चाहनेहरूको पक्षबाट लेखिएको एकपाखे दर्शन हो ।
सम्पूर्ण जैविक मानवको आवश्यकता एउटै हो । मानव एउटा सिङ्गो जाति हो । विभेद त पछि सिर्जिएका हुन् । कसैले वैभव भोग्न पाउने र कोही बञ्चितिमा फालिने पद्धति सरासर अमानवीय हो । बाँकी कुनै तर्क छैन । विभेदलाई न्यायिक र प्राकृतिक सिद्ध गर्ने थप जे जति तर्क छन् ती तर्क होइनन्, कुुतर्क हुन् । चेष्टा होइनन् कुचेष्टा हुन् । वैषम्यलाई बढावा दिने कर्महरू कर्म होइनन्, कुकर्म हुन् । धर्म होइनन्, अधर्म हुन् ।
मान्छेलाई मान्छे हुन छाडिदेऊ । यन्त्र बनाएर नलैजाऊ । यन्त्रहरू मान्छेका सहयोगी बनून् । मान्छे नै यन्त्र नबनून् । मान्छेको सामथ्र्य विलक्षण छ । त्यो विलक्षणता सधैँ व्यक्तिगत सम्पत्तिको थप संवद्र्धन र भीषण असमानताको दुर्लङ्घ्य पर्वततिर लम्किरहन्छ भन्ने कुनै ग्यारेन्टी छैन । व्यक्तिगत सम्पत्तिको उन्मुलन र साम्य संसारको निर्माणतिर लम्कन बढी सम्भव छ । किनकि मानव जीवनको वास्तविक सुख भोग र योगको सन्तुलनमा छ ।