प्रेम प्रसाद कण्डेल
चितवन, २० फागुन
सहिद सप्ताहको छैठौ दिन पुर्वी चितवनको पाकडिबासमा एक कार्यक्रम गरि सहिद स्मरण गरिएको छ । नारायण गढ लोथर लोकमार्गको मध्य भागमा पर्ने बैरहनी चोकबाट झण्डै डेढ किलोमिटर उत्तरतिर पाकडिबास बस्ती छ । बस्तिको बिच दक्षिण पश्चिम लमतन्न एउटा नहर देखिन्छ । हिउँदको याम भएकोले सुख्खा नहरमा बालुवा मात्र छ । त्यही नहरको बिचमा ने क पा (क्रान्तिकारी माओबादी) का कार्यकर्ताको उपस्थितिमा २० फाल्गुणमा स्मृती सभा सम्पन्न गरिएको छ ।
२०६१ साल बैशाख २९ गते तात्कालिन नेपाली सेनाले ने क पा माओवादीका होनाहार युवा कार्यकर्तालाइ कब्जामा लिइ उनीहरुलाइ नै खाल्डो खन्न लगाए पश्चात् गोलि हानी सामुहिक हत्या गरि चिहान पारिएको स्थानमा सो कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय किसान महिला मायादेवी अधिकारिका अनुसार दिउँसो अन्दाजी सयौँको संख्यामा आएका नेपाली सेनाले राम बहादुर खड्का, रिसि रेग्मी, टीका अधिकारी, मनोज चौधरी र ऐन कुमारी तामाङ को बीभत्स हत्या गरेको हो । उक्त घटना सम्झदै अधिकारी भन्छिन् ‘नेपाली सेनाको जत्थाको ज्यादती देख्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।’ अर्का साक्षी स्थानीय महतो भन्छन् ‘त्यो कोलाहल र आतङ्क सम्झदा नहरमा पानी लगाउन आउदा अहिले पनि मन बिक्षिप्त हुन्छ ।’
सहिदहरुप्रती श्रद्धाञ्जलीबाट सुरु भएको स्मरण सभामा सो घटनाको दिन घेरा तोडेर भाग्न सफल तात्कालिक पुर्वी चितवनका इन्चार्ज एबं हाल नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सल्लाहकार तथा किसान नेता भुमिश्वर कण्डेलले भावपुर्ण शैलिमा सहयोद्धाहरु मधु उप्रेती, रामचन्द्र पाठकलगायतलाई सम्झदै आफ्नो अनुभूति पेश गर्नु भयो ।
जिल्ला सेक्रेटरी बाबुराम प्यासिको उद्घोषणमा सन्चालित उक्त सभामा कवि मोदनाथ मरहट्टाले सहिद सम्झना सहित जोशिलो कविता वाच्न गरेका थिए । कार्यक्रमको अन्त्यमा नेकपा (क्रान्तिकारी माओबादी) के स तथा चितवन जिल्ला इन्चार्ज कमरेड घननाथ सापकोटाले सहिदहरुको आदर्श पछ्याउदै उनीहरुको सपना मर्न नदिने अठोट ब्यक्त गर्नु भयो । सभामा स्थानीय जनताको व्यापक सहभागिता रहेको थियो । सो स्थानमा सहिद स्तम्भ राख्ने प्रतिबध्दता सहित कार्यक्रमको समापन गरियो ।