भविष्य चिन्तन

भविष्य चिन्तन

संसारभरका
शासकका सन्तानहरुले
एक दिन आम‌ मानिससँग माफी माग्ने छन्
संसारभरका
उत्पीडिक समुदाय
चाहे ती गोरा हुन् या गहुँगोरा
पाकिस्तानका मुस्लिम हुन्

या भारतका हिन्दू
नेपालका पहाडेहरू हुन्
या पश्चिम बङ्गालका मैदाने
ती सबैले पनि माफी माग्ने छन्
विगत हजारौं वर्षका
सम्झेर अत्याचारहरू
पुरुषहरूले महिलासँग माफी माग्ने छन्
दक्षिण एशियाका सवर्णहरूले
दलितसँग माफी माग्ने छन्
विश्वभरि आयोजना हुने छन्
प्रायश्चित अनुष्ठानहरू
र शोषित उत्पीडितहरूले
खुला दिलले माफी दिने छन् ।

रगतले भिजेको धरती
रगतको सागरबाट निस्कने छ
र एक पटक हर्षाश्रुको सागरमा पस्ने छ ।

त्यसपछि
न अमेरिका हुने छ
न रुस हुने छ
न युक्रेन हुने छ
न चीन या ताइवान हुने छ
न भारत, न कश्मिर
र न पूर्वोत्तरका सात बहिनी हुने छन् ।

न देश देशका सीमारेखा
न देश देशका सेना
न देश देशका हतियार
न मान्छेलाई मान्छेकै डर
न देशलाई देशकै डर
त्यस्तो केही हुने छैन ।

न कोही धनी
न कोही गरीव
न कोही शासक
न कोही शासित
न साहु न आसामी
न ऋण न लगानी
न शेयर बजार
न नेप्से परिसूचक
न पासपोर्ट
न भिसा
न नागरिकताको दु:ख
न भन्सारको किचकिच
यी केही पनि हुने छैनन्।

तपाईले पत्याउनु भएन ?
नपत्याउनुस्
मानव जातिको इतिहासमा पनि
यी केही कुरा थिएनन
मानव जातिको भविष्यमा पनि
यी केही कुरा रहने छैनन् ।

मान्छे चरा र माछा जस्तै सार्वभौम हुने छ
स्वतन्त्र हुने छ
विन्दास हुने छ
तात्कालको फाइदा
या वेफाइदा सम्झेर
या इतिहासको नियम नबुझेर
तपाईलाई विश्वास नलाग्न पनि सक्छ
विश्वास नलाग्नु तपाईको दोष पनि होइन
तर त्यो दिन जरुर आउने छ ।

भलै त्यो दिनमा
आज धरतीमा भएका हामीहरू
एक जना पनि रहने छैनौं
केवल हाम्रा सन्तानहरू हुने छन्
के हाम्रा सन्तानको खुसीका लागि
आज हामीले केही नगर्ने ?

२०७९ फागुन १९
सिनामंगल,काठमाण्डौ