प्रतिगामीहरुको सल्बलाहट

प्रतिगामीहरुको सल्बलाहट

नेपालको राजनीतिमा ३० बर्षे शाहवंशीय पञ्चायती व्यवस्थालाई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले निषेध गर्‍यो । कथित संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रले निषेध गर्‍यो । अब यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई उत्पीडित जातीय पहिचानमा आधारित संघीय जनगणतन्त्रले निषेध गर्नेछ । संसदीय व्यवस्थाको स्थान नयाँ जनवादी राजनीतिक व्यवस्थाले लिने छ । किन कि नेपालको राजनीतिमा सँधै प्रतिगामन र यथास्थितिलाई अग्रगमन तथा अग्रगामी र क्रान्तिकारी राजनीतिक व्यवस्थाले निषेध गर्दै आएको छ । यो समाज विज्ञानको नियम नै हो ।

तर समाज विज्ञानको यो नियमको ठिक उल्टो केही प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरुले अहिले सामन्ती राजतन्त्र र बहुदलीय प्रजातन्त्र फर्काउने दिवास्वप्ना देख्न थालेका छन् । संसदवादी दलहरुको दलाल चरित्र र नालायकीपन, कुशासन, भ्रष्टाचार र व्यथितिमा टेकेर उनीहरु समाजलाई उल्टोदिशातिर हिडाउन सकिन्छ कि भनेर सल्बलाउन थालेका छन् । र, जनताको मनोविज्ञानलाई प्रभावित तुल्याउने कोशिस गर्न थालेका छन् ।

अढाई सय वर्षको सामन्ती राजतन्त्रको कालो इतिहासबाट विमुख गराउन खोजेपछि नेपाली जनताको पछिल्लो पुस्ता विमुख हुन सक्दैन । अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र त्यही सामन्त्री राजतन्त्रकालीन सत्ताको अवशेष बोकेर चलिरहेको. छ । सेना, सत्ता र अदालत सामन्ती राजतन्त्रकालीन अवस्थाकै मानसिकताबाट ग्रसित र निर्देशित छन् । व्यवस्थाको स्वरुपमा परिवर्तनजस्तो देखिए पनि सार उही पुरानै छ । जनताप्रति उत्तरदायी र जवाफदेही छैन । चुस्त र पारदर्शी छैन । पहिले नारायणहिटी र सिंहदरबारमा हुने भ्रष्टाचार अहिले देशका ७५३ वटै सरकारका स्थानीय निकायमा फैलिएका हुन् । विस्तारित भएका हुन् ।

जनयुद्ध र जनआन्दोलनको बलमा सत्ताच्युत हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको शुभकामना सन्देशमा अहिलेको शासनव्यवस्था र जनताको अवस्थाको जे जस्तो चित्रण गरेका छन्, यो उनकै पूर्वजहरुले गरेको शासनाभ्यासको अवशेषको विस्तारित रुप हो । जनतालाई यो अवस्थाबाट मुक्त पार्न राजतन्त्र फर्काउने होइन, लोकतान्त्रिक गणतन्त्रलाई जनगणतन्त्रमा बदल्नु पर्छ । यो भ्रष्ट र नायालयक संसदीय व्यवस्था फालेर नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नुपर्छ । जनताको मुक्ति, न्याय र स्वतन्त्रता अनि यो देशको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निमित्त संघीय जनगणतन्त्रमा आधारित जनताको नयाँ जनवादी व्यवस्था यतिखेको अपरिहार्य आवश्यकता हो । नेपाली जनताको भाग्य र भविष्यको सही गन्तव्य हो । शक्तिराष्ट्रहरुको भूराजनीतिक चलखेल, भ्रष्ट, नालायक दलालहरु, प्रतिगामी (पुनरुत्थानवादी) तत्वहरुको माखेसाङ्लो चुँडाल्दै देश र जनतालाई मुक्त पार्न यो देशका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु र सच्चा देशभक्तहरु एकताबद्ध भएर बेलैमा ठोस पहलकदमीका साथ अगाडि बढ्न जरुरी छ । यो अहिलेको ज्वलन्त र ऐतिहासिक आवश्यकता हो । देशी विदेशी प्रतिक्रियावादी, साम्राज्यवाद तथा विस्तारवादका दलालहरु अनि संशोधनवादी तथा अवसरवादीहरुको भ्रमबाट मुक्त पारेर नयाँ क्रान्ति हुँदै वैज्ञानिक सामाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु आफूलाई कम्युनिस्ट क्रान्तिकारी दावी गर्ने सबैको साझा कार्यभार र अभिभारा हो ।