क.मोहनविक्रम सिंहको बुमेर्‍याङग

क.मोहनविक्रम सिंहको बुमेर्‍याङग

 

क.मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनसित लामो समयदेखि(२०१० सालदेखि) जोडिदै आएको नाम हो । माक्र्सवादी दर्शन, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रको सैद्धान्तिक, वैचारिक पक्षमा नेपाली कम्युनिस्ट आन्दोलनभित्रका ज्ञाताहरुमध्ये उहाँ पनि एक जना हो र परम्परागत माक्र्सवाद(classical marxism)को उहाँसित गहिरो सैद्धान्तिक ज्ञान छ । माक्र्सवादी साहित्य, राजनीति, दर्शन र अर्थशास्त्रआदिवारे उहाँ एकजना सिद्धहस्त लेखक पनि हो । नेपालमा जीवीत कम्युनिस्ट नेताहरुमध्ये उहाँ एक जना माक्र्सवादको गहन अध्ययन भएका र अध्ययनमा रमाउने नेता पनि हो । करीब ८६वर्षको उमेरमा समेत उहाँमा रहेको कृयाशीलता र लगनशीलता अन्यका लागि अनुकरणीय छ । तर विगतदेखि आजसम्म उहाँमा त्यही समस्या रहदै आएको छ, जुन समस्या माक्र्सले हेगेलको आलोचना गर्दा भन्नु भएको थियो – “संसारको व्याख्या विभिन्न दार्शनिकहरुले आ–आफ्नो हिसावले गर्दै आएका छन्(गर्दै पनि जालान ले.) तर मुल प्रश्न यसलाई बदल्नु हो ।” त्यसवारे उहाँ गम्भिरतापूर्व परिवर्तनकारी कार्य तर्फ नलाग्ने मात्रै होइन, बरु विभिन्न बाहना बनाएर त्यो दिशातर्फको पाइलालाई केही समय रोकिदिने काममात्रै गर्दै आएको इतिहास छ ।

क.मोहविक्रम सिंहका लेखहरुमा स्पष्टसित उहाँले अन्य क्रान्तिकारीहरुले झै भन्ने गर्नु हुन्छ –“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी जनताको जनवादी राज्यसत्ता स्थापना गर्न क्रान्तिकारीहरूबीचको एकता अनिवार्य शर्त हो । क्रान्तिकारीहरूबीचमा एकता नभईकन जनवादी व्यवस्था स्थापना गर्न सकिंदैन । यतिसम्म कि खास अवस्थामा मुख्य दुश्मनलाई हराउन त्यसको विरुद्ध उभिने अन्य कम प्रतिक्रियावादी शक्तिसँग पनि संयुक्त मोर्चा गर्नुपर्ने हुन्छ ।” तर यसका लागि जब व्यवहारमा जाने अवस्था विकास हुन थाल्छ, अनि विभिन्न बाहना बनाएर त्यसबाट पछि हट्ने काम गर्दै आएको इतिहास छ उहाँको ।
आज नेपालमा राजतन्त्रकोे अन्त्य भए पनि अहिलेको विद्यमान राज्य व्यवस्था प्रतिक्रियावादी राज्य व्यवस्था हो । यो व्यवस्था दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्य व्यवस्था हो । यो प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वस्त पारी जनताको जनवादी व्यवस्था स्थापना गर्नु आजको मुख्य कार्यभार हो । यसै कुरालाई केन्द्रमा राखेर आ–आफ्ना राजनीतिक लाइनहरू फरक हुँदाहुँदै पनि क्रान्तिकारीहरूको बीचमा एकताको आधार खोज्न, एकताको लागि प्रयास गर्नु नेपाली क्रान्तिकारीहरूको कर्तव्य हो ।
यसै सन्दर्भमा मिति २०७४ चैत २२ मा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य ‘किरण, नेकपा (मसाल)का महामन्त्री क.मोहनविक्रम सिंह र नेकपाका अध्यक्ष क.ऋषि कट्टेल र नेकपाका प्रवक्ता क. प्रकाण्डको हस्ताक्षर भएको संयुक्त वक्तव्य प्रकाशित भएको थियो । त्यो वक्तव्यमा भनिएको थियो ‘१. नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउने । २. राष्ट्रियता जनतन्त्र र जनजीविकासम्बन्धी परस्पर सहमति भएका विषयहरूमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्न सहमत भएका छौं । ’ तत्कालका लागि विभिन्न संघर्षका कार्यक्रमहरू घोषणा पनि गरिएको थियो ।
यो संयुक्त वक्तव्यले नेपाली क्रान्तिकारीहरूको बीचमा एक प्रकारले खुशी र उत्साह पलाएको थियो । आम शोषित पीडित जनता यी पार्टीहरूप्रति आशावादी हुँदै गएका थिए । सहमतिअनुसार चैत २४ गते र वैशाख ४ गते काठमाडौंमा उपरोक्त चार पार्टीको संयुक्त कार्यक्रम भयो । त्यही कार्यक्रमको विषयलाई लिएर मिति २०७५ वैशाख ९ गते नेकपा (मसाल)का महामन्त्री क.मोहनविक्रम सिंहको नामबाट पार्टी कार्यालयको निर्णय भन्दै एउटा वक्तव्य सार्वजनिक भयो । त्यो वक्तव्य भनिएको थियो, “…. तर अन्य पक्षहरूद्वारा हाम्रा बीचमा भएको सहमति र आचारसंहिताको अतिक्रमण गरेर निर्धारित विषयभन्दा बाहिरका आ–आफ्ना पार्टीका नीतिहरूबारे विचार प्रस्तुत गर्ने काम भयो । त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । अन्य पक्षहरूको त्यस प्रकारको कार्य पद्धतिको कारणले अब उनीहरूसित पार्टी एकतासम्बन्धी संयुक्त भेटघाट र संयुक्त कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । … पछि उनीहरूले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरूसित भेटघाट पुन: नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्नेबारे विचार गर्न सकिनेछ ।” क.मोहनविक्रमजीको यो वक्तव्यले चार पार्टीबीचको सहमति भंग भएको थियो ।
उहाँले जे–जे बहाना बनाए पनि उहाँको त्यो कदमले आखिरमा कसलाई फाइदा पुग्ने काम भयो ? भारतका प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदै थिए । त्यो अवसरमा राष्ट्रघाती भयो भन्दै विरोध गरेका अरुण तेस्रोको विधिवत रूपमा उद्घाटन गर्ने व्यवस्था गरिंएको थियो । अप्पर कर्णालीलगायतका राष्ट्रघाती र असमान सन्धिसम्झौताहरूलाई निरन्तरता दिइदै थियो । यस प्रकारको अवस्थामा राष्ट्रिय हित विपरीत भएका र अब हुने सबै असमान सन्धिसम्झौताको विरुद्धमा संयुक्त आन्दोलनको आवश्यकता झन् बढेर गएको थियो । यस्तो बेलामा नेकपा (मसाल)को नेतृत्वले बैठकमा विगतमा भएका कमीकमजोरीहरूको समीक्षासमेत नगरी हतारमा संयुक्त भेटघाटलाई पनि स्थगित गर्ने जुन निर्णय गरेको थियो, त्यो निर्णय प्रकारान्तरणले राष्ट्रिय हित विपरीत थियो । किनभने राष्ट्रिय हितको पक्षमा व्यापक संयुक्त आन्दोलनको पक्षमा जोडदिनुको सट्टा भइरहेको संयुक्त संघर्षको सहमतिलाई एकपक्षीय रूपबाट भंग गर्ने कार्यले विस्तारवादी र उसका दलालहरूलाई नै मद्दत पुग्ने थियो, सोही भयो ।

क.मोहनविक्रम सिंहले २०२७/०२८तीर आनन्दबहादुर क्षेत्रीको नामबाट’गद्दार पुष्पलाल’ र ‘२०३४ सालमा छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक प्रकाशित गर्नु भएको थियो । मलाई यी दुवै पुस्तकको अध्यन गर्ने अवसर मिलेको थियो । ‘उग्र वामपन्थी विचारधाराको खण्डन’ भन्ने पुस्तक त २०३४भन्दा अघि नै त्यसको हस्तलिखित टाइप वा लिथोद्धारा काठमाण्डौ जिल्ला समितिको निर्देशनमा बाडिएका थियौ । त्यो पुस्तक तात्कालिन झापाली समूह(वर्तमानमा एमाले) को आलोचनामा लेखिएको थियो । प्रस्तुत पुस्तक अहिले पढदा र त्यसमा उहाँले उठाएका सैद्धान्तिक पक्षहरू र अहिले उहाँले आफ्नै जीवनमा अपनाइरहेका सैद्धान्तिक र व्यवहारिक पक्षहरू पढदा र हेर्दा उहाँमा विकसित हुँदै गएको दक्षिणपन्थी संशोधनवादी विचलन र उहाँकै शव्दमा गद्दारीको यात्रा उन्मुख देखिएको छ । २०३४ सालअघिका र अहिलेका मोहनविक्रम सिंहलाई राम्ररी बुझन उहाँले लेखेका दुईवटा आनन्दबहादुरको नामबाट’गद्दार पुष्पलाल’ र छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक काफी छन् । यी दुबै पुस्तक अहिले उहाँका लागि बुमेर्‍याङग भएर स्वयम उहाँमाथि बज्रीएका छन् ।
बुमेर्‍याङग भन्ने अष्ट्रेलियन आदिवासीले प्रयोग गर्ने हतियार हो, जो शत्रुलाई वार गरेपछि पुन फर्केर आफैलाई हान्न आउँछ र त्यसको होसियारी पुर्वक प्रयोग गरिएन भने त्यसको शिकार आफै पनि भइन्छ । अहिले क.मोहनविक्रम सिंहले लेखेका ती दुइ वदनाम पुस्तकहरू उहाँकै लागि बुमेर्‍याङग भएका छन् । अहिले आएर उहाँका ती पुस्तकहरू कतिसम्म राजनीतिक तथा सैद्धान्तिक आधारहरू कति कमजोर धरातलमा उभिएका रहेछन् भन्ने उहाँमा देखिएको नेपाली काँग्रेस परस्त राजनीतिबाट स्पष्ट वन्दै गएको छ । खासगरी संविधानसभाको निर्वाचनपछि उहाँ कसरी र कति द्रुतगतिमा काँग्रेसको दलाली र काँग्रेसको पुच्छर समातेर आफ्नो विगतको इतिहासलाई आफै बदनाम गराउदै जाँदै छ, त्यसबाट स्पष्ट हुँदै छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्ति र माक्र्सवादका कुरा घेरै फलाक्ने नेताका रूपमा क.मोहनविक्रम सिंहले अन्तत: नेपालमा संसदीय व्यवस्थाको विकल्प छैन् भनेर संसदवादी कित्तामा आफूलाई किन उभ्याउनु भयो ? यसका पछाडि उहाँमा विद्यमान दक्षिणपन्थी संशोधनवादी राजनीति नै प्रमुख हो भने तत्कालमा प्रथम माओवादीप्रति उहाँमा रहेको पूर्वाग्राही चिन्तन र प्रवृतिका कारण, दोस्रो उहाँमा रहंदै आएको दक्षिणपन्थी संशोधनवादी लाइनको पराकाष्टको परिणाम हो । तेस्रो २०६२–०६३को आन्दोलन पछि उहाँमा विकसित हुँदै आएको कानुनी माक्र्सवादको प्रभावको गोलचक्कर हो ।
२०३४ सालमा प्रकाशित उग्र वामपन्थी विचारधारको खण्डन भन्ने पुस्तकमा उहाँले कानुनी माक्र्सवादको संक्षिप्त व्याख्या गर्दै भन्नु भएको छ ‘…….कतिपय साथीहरूमा वैधानिक वा प्रकट गरिने सबै प्रकारका गतिविधि र आन्दोलन वा प्रकाशनलाई कानुनी माक्र्सवादको संज्ञा दिने गर्दछन् । तर ती साथीहरूले यो कुरा बुझ्दैनन् वा बुझ्न अस्विकार गर्दछन् कि बैधानिक अवसरबाट कुनै पनि रूपमा फाइदा उठाउनु नै कानुनी माक्र्सवाद होइन् । यो कानुनी माक्र्सवाद त्यो बेला नै बन्छ, जब कि त्यस्तो बैधानिक गतिविधिलाई नै प्राथमिक स्थानमा राखिन्छ वा त्यहीसम्म सिमित रहन्छ र त्यसमा पुँजीवाद तथा सामन्तवादको सेवाको भावना अन्तर्निहित हुन्छ ।’
अहिले क. मोहन विक्रम सिंहले ‘संसदीय राजनीतिक व्यवस्थाको विकल्प छैन्’ भनेर भनिरहनु भएको छ । उहाँको त्यो भनाई उहाँकै शव्दमा कस्को सेवाको भावना अन्तर्निहित भएर बाहिर आएको हो ? के यसमा नेपालका दलीत, उत्पीडित, ज्यामी, किसान मजदुरप्रतिको सेवाको भावना अन्तर्निहित छ ? के यसमा नेपालका क्रान्तिकारी कम्युस्टिहरूको भावना अन्तर्निहित छ ? उहाँले अहिले लिइरहेको नीति उहाँकै शव्दमा पुँजीवाद तथा सामन्तवादको सेवाको भावना अन्तर्निहित छ भन्ने स्पष्ट हुन्छ । उहाँको पार्टीले नेपाली काँग्रेसलाई अझै पनि दलाल पुँजीपति तथा सामन्त वर्गको पार्टी भनिरहेको छ तर अहिले उहाँले त्यही वर्गप्रतिको सेवाको भावना अन्तर्निहित भएर ‘नेपालमा जननिर्वाचित राष्ट्रपति वा जननिर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो पार्टी रहेको र नेपालमा संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको’ भन्न पुगेको पाइन्छ ।
उहाँले पार्टीका गतिविधि, आन्दोलनका नारा आदि सबैलाई २०६२–०६३को आन्दोलनको उपलव्धीको सिमाभित्रमात्रै राख्ने र सामान्य रूपले उहाँको भाषामा आन्दोलनको मित्र शक्ति नेपाली काँग्रेसबाट स्वीकृत हुने हदसम्म मात्र सिमित राख्न चाहनु हुन्छ । त्यसैकारण नेपाली काँग्रेससंगको सहकार्यलाई निरन्तरता दिन र उसलाई खुशी वनाउन उहाँले नेपालमा संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको भनिरहनु भएको छ ।
‘संसदीय आन्दोलनको विरोध वा क्रान्तिकारी उपयोग’ भन्ने शिर्षकको लेखमा राजनीतिक स्वतन्त्रता आदिका लागि गरिने संघर्षमा जोडका कारणले संसदीय आन्दोलन सित निकट र अनुकुल सम्वन्ध कायम गर्ने गलत प्रवृतिको विरोध गर्ने भन्नु हुन्छ तर सारमा उहाँले संविधानसभाले नेपालमा अग्रगामी संविधान वनाउने सुनौलो अवसर भएको भन्दै उहाँको उही पुरानो वासी, सडेगलेको संसदीय व्यवस्थाको पक्षमा आवाज उठाएर उहाँले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्ति र माक्र्सवादका कुरा घेरै फलाक्ने तर वर्गीय दृष्टिकोणबाट सधै विचलित हुने नेताका रूपमा पुनर्पुष्ठि गर्दै हुनुहुन्छ । क.भक्तबहादुर श्रेष्ठले भनेझै कहिले कसलाई मित्र वनाउने र कहिले कसलाई क्रान्तिको शत्रु बनाउने भन्ने उहाँले जानेकै छैन । जुन वेला राजालाई हान्नु पर्ने थियो त्यो वेला नेपाली काँग्रेसलाई प्रमुख दुश्मन भनेर किटान गर्नु भयो । यसो गरेर उहाँले राजतन्त्रलाई लामो समय सत्तामा टिक्न मद्दत गरेको इतिहास छ । अहिले नेपालका विद्यमान माक्र्सका अनुयायीहरू सबै मिलेर प्रतिनिधित्वपूर्ण निकायहरूलाई गफ गर्ने कोठाको सट्र्टा कार्यकारी’ निकायहरूमा बदल्न कसरी सकिन्छ भन्नेमा एकमत हुनुको बदलामा मोहनविक्रम सिंहले संसद र संसदीय व्यवस्थाको पक्षमा मत जाहेर गरेर माक्र्सवाद विरोधी क्याम्पमा आफूलाई उभ्याएको स्पष्ट हो । काँग्रेसलाई हान्नु पर्ने वेलामा फेरी काँग्रेससंग मिल्न जानु भएको छ । २०१७ सालमा संविधानसभाको नारा दिएको उहाँ २०६२/०६३को आन्दोलनमा त्यहि संविधानसभाको नाराको विरूद्ध उभिनु भयो । त्यसकारण विचारमा नै विचलन आएपछि उहाँको नितीमा नै सधैभरी फरक पर्न जान्छ र गएको छ ।’
२०३४ सालमा उहाँले संसदीय राजनीतिक चिन्तनका विरूद्ध उभिएर कम्युनिस्टहरूले किन संसदीय आन्दोलनलाई स्विकार गर्दैनन् ? भन्ने लेखका निम्न भनाइका विरूद्ध उहाँ आफै अहिले खनिनु भएको छ, जसमा उहाँले ‘जनवादी क्रान्ति नै मूलत: पुँजीवादी क्रान्ति हो । विगतमा भएका पुँजीवादी प्रजातन्त्रको प्रगतिशील र प्रजातान्त्रिक पक्षको प्रतिनिधित्व वर्तमानमा स्वयम जनवादी क्रान्तिले गर्दछ । त्यसपछि पुँँजीवादी प्रजातन्त्रमा जे बाकी रहन्छ, त्यो त्यसको प्रतिक्रियावादी पक्षमात्र रहन्छ ।’ उहाँले अझै यसलाई स्पष्ट पार्दै भन्नु भएको थियो । आजको युगको संसदीय प्रजातन्त्र भनेको खाली सामन्तवाद, एकाधिकार साम्राज्यवादको मात्र प्रतिनिधित्व गर्दछ । त्यसकारण संसदीय प्रजातन्त्र जुन स्वतन्त्रताको लागि लडद्छ र त्यसले जुन स्वतन्त्रता प्रदान गर्दछ, त्यो तिनै प्रतिक्रियावादी, अप्रजातान्त्रिक र अराष्ट्रिय स्वार्थका घेराभित्र नै हुन्छ ।
२०३४ सालमा उहाँले संसदीय राजनीतिक चिन्तनका विरूद्ध जे भनेको पाइन्छ, अहिले त्यही संसदीय राजनीतिक व्यवस्थाको विकल्प छैन् भनेर वोकालत गरेर आफूले आफैलाई नव.संशोधनवादी नेताको रूपमा प्रमाणित गदै हुनुहुन्छ । किनभने सोही लेखमा उहाँले अझ जोड दिंदै लेख्नु भएको छ—संसदीय व्यवस्थामा पुँजीवादी संसदीय र प्रतिक्रियावादी शक्तिहरूलाई मंजुर परिधि र प्रणाली भित्र नै काम गर्ने नीति अपनाइन्छ, तिनै सिमाभित्र पुरा हुन सक्ने स्वतन्त्रता राजनीतिक नाराहरूको माग गरिन्छ भने त्यो नव.संशोधनवाद हो ।’ हेनुृहोस क.मोहनविक्रम सिंहको उग्र वामपन्थी विचारधाराको खण्डन पृष्ठ २२५,२२६,२२७ । निरन्तर प्रकाशन, २०३४ ।
दोस्रो विश्वयुद्धको समयमा जब जर्मन फासीवादले सोभियत समाजवादी राज्यसत्तामाथि धावा बोल्यो, त्यसबेला स्टालिनले अमेरिकी र ब्रिटिश साम्राज्यवादसँग मिलेर जर्मन फासीवादलाई परास्त गर्नुभयो । चीनमा जापानी साम्राज्यवादले आक्रमण गरी चीनको थुप्रै भूभाग कब्जा गर्दा क.माओले प्रतिक्रियावादी च्याङ काइ सेकसँग संयुक्त मोर्चा गरेर जापानी साम्राज्यवादलाई परास्त गर्नुभएको थियो । यी घटनाहरूले के प्रष्ट पार्छ भने खासखास अवस्थामा मुख्य दुश्मनलाई हराउन अन्य कम बलियो प्रतिक्रियावादीहरूसँग पनि संयुक्त मोर्चा गर्नुपर्ने हुन्छ । यदि क्रान्तिकारीहरूले यो कार्यभार पूरा गर्न पहलकदमी नलिने हो भने त्यसले प्रतिक्रियावादी व्यवस्थालाई नै बल पुग्दछ ।
उहाँ अहिले २०६२–०६३को आन्दोलनको सिमाभित्रमात्रै राखेर लेखिएको संविधान र सामान्य रूपले उहाँकै भाषामा आन्दोलनको मित्र शक्ति नेपाली काँग्रेसबाट स्वीकृत हुने हदसम्म मात्र लेखिएको नेपालको संविधान २०७२ भित्र्र आफू र आफ्नो पार्टीलाई सिमित राख्न चाहानु हहुन्छ । त्यसैकारण नेपाली काँग्रेससंगको सहकार्यलाई निरन्तरता दिन र उसलाई खुशी वनाउन उहाँले नेपालमा संसदीय राजनीतिक व्यवस्थाको विकल्प नरहेको भनेर भनिरहनु भएको छ । यो उहाँको उहाँकै परिभाषाअनुसार नव.संशोधनवादी विचार भएन र ? यसैलाई आधार वनाएर उहाँ अहिले त्यही प्रतिक्रियावादी संविधानको कार्यन्वयनमा लागिरहेको पाइन्छ । यसरी संसद र संसदीय व्यवस्थाको आवश्यकताको वोकालत गरेर आखिरमा उहाँकै शव्दमा पुँजीवाद तथा सामन्तवादको सेवाको भावना अन्तर्निहित भएर उहाँ कानुनी माक्र्सवादी उहाँकै शब्दमा नव संशोधनवादी नेता बन्न पुगेको पाइन्छ ।
यस अर्थ उहाँको विगत वर्तमानका निम्ति बुमेर्‍याङग भएर उहाँमाथि नै जाइ लागेको यथार्थता बनेको छ ।
hukumsingh2012@ yahoo.com