काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था भनेको शोषक, सामन्त, जाली फटाहा र भ्रष्टाचारीहरुको व्यवस्था भएको भन्दै दशवर्षे जनयुद्धको कमाण्डर प्रचण्ड अहिले त्यही प्रतिक्रियावादी सत्ताको प्रधानमन्त्री बनेकोमा गर्व गर्ने स्थितिमा पुग्नु बिडम्बना भएको बताउनु भएको छ ।
नेपालमा जनयुद्ध संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापनाका लागि भएको भन्दै जनयुद्धको नेतृत्व गरेको संशोधनवादी र अवसरवादी पंक्तिले जनयुद्धमाथि धोका र गद्दारी गरेपछि क्रान्तिकारी पंक्तिले त्यसका विरुद्ध विद्रोह गरेर क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको चर्चा गर्नुभयो र भन्नुभयो, “जनयुद्ध दिवस मनाउनेहरुमा दुई धार देखियो : जनयुद्धको उद्देश्य पूरा भयो, जनवादी क्रान्ति पूरा भयो भन्ने पक्ष र जनयुद्धको उद्देश्य पूरा भएको छैन ।
अब फेरि नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्छ भन्ने पक्ष । हामी यो व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । संसदीय व्यवस्था भ्रष्टाचारीहरुको व्यवस्था हो । यसको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उभिएर जनयुद्ध दिवस मनाइरहेका छौं ।”
भ्रष्टाचार पुँजीवादी व्यवस्थाको विशेषता हो, यही व्यवस्था कायम राखेर कहिल्यै पनि भ्रष्टाचार निर्मूल पार्न सकिदैन भन्ने भ्रष्टाचार निर्मूल पार्न संसदीय व्यवस्थाकै अन्त्य गर्नुपर्छ भन्दै उहाँले त्यसका लागि आमूल परिवर्तनका पक्षधर आम जनसमुदाय नयाँ जनवादी क्रान्तिको पक्षमा संगठित हुन जरुरी भएको बताउनु भयो ।
संसदीय व्यवस्थामा गएर, भोट हालेर, चुनाव जितेर गएर संसदीय व्यवस्था बदल्न नसकिने विचार व्यक्त गर्दै उहाँले व्यवस्था बदल्न क्रान्तिको अनिवार्य हुने कुरा स्पष्ट पार्नुभयो ।
क्रान्तिका लागि सही, अनुशासित र क्रान्तिकारी विचार र राजनीति अपरिहार्य हुन्छ भन्दै आफूहरु अनुशासित र लडाकु पार्टी, क्रान्तिकारीहरुलाई एकताबद्ध पारेर क्रान्ति गर्न लायक क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडि बढिरहेको बताउनु भयो ।
नेकपा (क्रान्तिकारी माओवादी) को प्रदेश ३ ले जनयुद्ध दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता श्रीसले यी विचार व्यक्त गर्नुभएको थियो । उहाँले जोडदिएर भन्नुभयो, “क्रान्तिको निम्ति तयारी गर्ने, संघर्ष गर्ने, जनतामा जाने, त्यसका लागि प्रेरणा लिनुले नैै जनयुद्ध दिवस मनाउनुको सार्थकता रहन्छ ।”