काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवले नेपालमा फेरि अर्को नयाँ जनयुद्धको खाँचो रहेको बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देश आर्थिक रुपमा टाट पल्टिने स्थितिमा पुगेको, राष्ट्रिय स्वाधीनता इतिहासमै सबैभन्दा कमजोर बन्दै गएको, संसदीय व्यवस्था पूर्ण रुपमा असफल बनिसकेको, विना आन्दोलन जनताका कुनै पनि समस्या समाधान नहुने स्थिति बनेको, जनताले स्वतन्त्र रुपमा केही गरिखाने स्थितिकै अन्त्य भएको प्रेमप्रसाद आचार्यहरुको आत्मदाहले प्रष्ट पारिसकेको मुलुकको स्थितिको चित्रण गर्दै उहाँले यो स्थितिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको दीर्घकालीन समाधान अर्को नयाँ जनयुद्ध अथवा नेपाली विशिष्टतामा गरिने आम सशस्त्र जनविद्रोहले मात्र गर्ने ठोकुवा गर्नुभयो ।


उहाँले त्यसका लागि विस्तारवादी, साम्राज्यवादी शक्तिहरु, तिनका घरेलु दलालहरु, सामन्त, नोकरशाह र दलाल पुँजीपतिहरु र संशोधनवादी तथा अवसरवादी कम्युनिस्टहरुले छरेको भ्रमबाट जनतालाई मुक्त पार्नुपर्ने आवश्यकता औल्याउनु भयो । क्रान्तिका निम्ति सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टीको आवश्यकता पर्ने भन्दै उहाँले आम शोषित उत्पीडित जनवर्ग र समुदायलाई संगठित गर्नुपर्ने समेत स्पष्ट पार्नुभयो ।

उहाँले नेपालमा दशवर्षसम्म सञ्चालित महान जनयुद्ध युगान्तकारी परिघटना भएको चर्चा गर्दैै गौतम बुद्ध र सगरमाथाको देशपछि नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम जनयुद्धले गरेको दावी गर्नुभयो ।

“विश्व सर्वहारावर्गले सगरमाथाको देशबाट विश्वक्रान्तिको सुरुवात भयो भनेर उत्सव मनाउने गरेका थिए । जनयुद्धको अन्तर्राष्ट्रिय आयाम र महत्वलाई यसले पुष्टि गर्दछ ।” उहाँले भन्नुभयो, “एकै पटक चार स्थानमा फौजी हमला गरेर जनयुद्धको घोषणा गरिएको थियो । नेपाली जनयुद्ध कसैको नक्कल थिएन । नेपालकै विशिष्टतामा र मौलिकतामा सुरु गरिएको थियो । निकै लामो तयारीपछि मात्र जनयुद्धको सुरु गरिएको थियो । जनयुद्धले एकपछि अर्को सफलता हासिल गर्दै अगाडि बढेपछि जनयुद्ध दबाउन विस्तारवाद–साम्राज्यवाद सबै लागेका थिए । जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमण हुँदै रणनैतिक प्रत्याक्रमणको दोस्रो योजनाको कार्याान्वयनसम्म पुगेको थियो । त्यसबेलाको फौजी कार्यदिशा दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने थियो । त्यही फौजी रणनीति अनुसार थानकोट ब्यारेक कब्जा गरेको थियो । थानकोट कब्जा गर्दै काठमाडौं भ्याली पसेको पार्टीको नेतृत्वको एउटा पंक्ति अहिले पतन भएर त्यही प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको सत्ताका निम्ति विस्तारवाद र साम्राज्यवादको एक नम्बरको दलाल बन्न पुगेको छ ।”


उहाँले भन्नुभयो, “आजको दिनमा प्रचण्ड नै साम्राज्यवाद र विस्तारवादका पहिलो नम्बरका घोषित र प्रमाणित दलाल बन्न पुगेका छन् । प्रचण्डले पाएको ९९.२७ प्रतिशतको विश्वासको मतको चमत्कार एमसीसीले गरेको हो । प्रचण्डको पछि लागेका जनयुद्धका सहयोद्धा देखेर मलाई दया लाग्छ ।”

नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश ३ ले आयोजना गरेको जनयुद्ध दिवस समारोहमा शुभकामना मन्तव्य दिने क्रममा नेता गजुरेलले यी विचार व्यक्त गर्नुभएको हो ।

रत्नपार्क शान्तिबाटिकाबाट निकालिएको शुभकामना र्‍याली पुरानो बसपार्क, भृकुटीमण्डप, पद्मोदयमोड, पुतलीसडक, बागबजार हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर समारोहमा परिणत भएको थियो ।

जनयुद्ध समारोहको नेता सिपी गजुरेल गौरवले २८ वटा मशाल जलाएर उद्घाटन गरेपछि औपचारिक रुपमा शुभकामना मन्तव्यको कार्यक्रम सुरु भएको थियो ।


पार्टीका पिविएम तथा प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतको सञ्चालनमा सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सिपी गजुरेल गौरव, पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस राजवीर, देजमोको तर्फबाट शिव श्रेष्ठ र जवस मोर्चाको तर्फबाट अनु निरौलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका केस पुष्कर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरुको प्रस्तुति दिएका थिए भने कवि मित्रलाल पंज्ञानी लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर