क्रान्तिकारी माओवादी गण्डकी प्रदेशद्वारा रन्जता सुवेदी (सीता)को श्रद्धाञ्जली सभा सम्पन्न

क्रान्तिकारी माओवादी गण्डकी प्रदेशद्वारा रन्जता सुवेदी (सीता)को श्रद्धाञ्जली सभा सम्पन्न

तनहुँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समिति सदस्य बाबुराम सुवेदी‘रवि’की जीवन संगिनी रन्जता सुवेदीको निधनको सातौ दिनमा तनहुँ जिल्ला, शुक्ला गण्डकी नगरपालिका वार्ड नं. ८ ढोर फिर्दी स्थित निवासमा दिवंगत सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेश, देजमो, नेपाल गण्डकी प्रदेश र सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा गरिएको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा गण्डकी प्रदेशका इन्चार्ज अशोक लम्साल अनुकूलको प्रमुख आतिथ्यता र पार्टी पीवीएम तथा गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाटले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी, मोर्चा र जबस मोर्चाको तर्फबाट पार्टी तथा मोर्चा केस बाबुराम सुवेदी रविलाई समवेदना पत्र हस्तान्तरण गरिएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथि लगायत श्रद्धाञ्जली मन्तव्य राख्ने अतिथिहरुले दिवंगत रन्जना सुवेदीले कम्युनिस्ट आन्दोलन, दशवर्षे जनयुद्ध लगायतमा पुर्‍याउनु भएको योगदानको बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा नेकपा (बहुमत)का गण्डकी प्रदेश इन्चार्ज रुपेश, नेकपा (एकीकृत), नेकपा (माओवादी केन्द्र), विप्लव नेकपा लगायतका पार्टीका जिल्ला नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शुक्ला गण्डकी नपाका उपमेयर, शुक्ला गण्डकी नपा– ८ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

रञ्जता सुवेदीको २०७९ माघ १६ गते दिनको तीन बजे चितवनमा उपचारको क्रममा असामयिक निधन भएको थियो । २०२४ जेठ १४ गते जन्मनुभएकी उहाँ नेकपा (क्रान्तिकारी माओवादी)को एकजना इमान्दार पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँका तीन छोरी, तीन ज्वाइँ, तीन छोरा, एक बुहारी, तीन नाति र तीन नातिनीहरु हुनुहुन्छ । उहाँको निधनमा दु:ख व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले छुट्टाछुट्टै श्रद्धाञ्जली वक्तव्य जारी गरी दिवंगत सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो र केस बाबुराम सुवेदी लगायत उहाँका सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।