जेल बसाईका ती दिनहरू ः नौ

जेल बसाईका ती दिनहरू ः नौ

आगोभित्रको चिसो
माघ –५, २०५९
शिशिरले आफ्नो पहिचान देखाउन थाल्यो । डाँडाका लाँकुरीका पातहरू झरेर सिख्रा भए । किसानका भित्री बारीमा हुर्किएका नास्पातीका रुखहरू पनि नाङ्गो हुन थाले । मसिना हाँगाको कापकापमा फूलको कोपिला देखिँदै आए । सङ्कटकालको यो त्रासद समयमा पनि यी रुख बिरूवा मात्र आफ्नो लयमा छन्् । गाउँका किसान, शिक्षक, व्यापारी सबैको लय भत्किएको छ । पहाडी गाउँका किसानहरूले यो बर्स घुम्ती गोठ राखेर बारीका गह«ा मलिलो बनाउन पाएनन् । डाँडा र भन्ज्याङका विद्यालयहरूका धेरै शिक्षकहरू नजरबन्द र तारेखमा छन् । थुम र थुम्कामा खुद्रा व्यापार गर्ने ब्यापारीहरूको गोदाम र तासी रित्तिएका छन् । डुम्रे, गोरखा बजार या आरुघाट बजारबाट साहुको भारी खेपेर आफ्ना जहान केटाकेटी पाल्ने गाउँका भरियाहरूको रोजगारी खोसिएको छ । रात वा दिन सरकारी सेनाको परेडले यी सबै कृयाकलापमा प्रवाभ परेको छ ।

यतिबेला गाउँ एक प्रकारले पुरै सन्नाटामा छ । मेला पर्वहरू जात्रा उत्सबहरूमा अघोषित कफ्र्यु लागेको छ । सांस्कृतिक मेला महोत्सव आस्थानुरूपका कार्यक्रमहरू खोसिएका छन् । क्रान्तिकारी विचारले हट्दै गएको भए अर्कै समाज बन्न सक्छ तर त्रासको कारण यी सब भएका छन् ।

माघ २, ३, र ४ गरी जेलका धेरै साथीहरूलाई म्याद थपका लागि प्रहरी कार्यालय लगिएको छ । साँच्चै यतिबेला कारागार सुनसान जस्तै छ । तीन दिनमा झण्डै साठी जना बन्दिहरू म्याद थपका लागि प्रहरी हिरासत लगिँदा र नल्याइँदा केही शङ्का उब्जिएको छ ।

हिजोदेखि फरक सिर्जनातिर मेरो भाव बगिरह्यो । एउटा लामो कविताको पुर्व पिठिका तयार भएको छ । जेल सिर्जनाको निम्ति पनि उपयोक्त स्थल हो भनिन्छ । २०५४ सालतिर यसै कारागार आइपुगेका आस्थाका साथीहरूको जोश र जाँगरमा एउटा सानो किताबको कुनो अहिले सन्चालन हुन थालेकोले केही पठनीय सामग्रीको मेसो मिलेको छ । साहित्यका केही पुस्तकहरू पढ्न आवस्यक पनि छन् । तेह« महिना दुरानिको ईश्वर निन्दा मेरा लागि नयाँ पुस्तक भएको छ । दशैँ बिदामा आफ्नो घर गएका कारागार सुरक्षा प्रमुख हर्कबहादुर थापाको अहिले व्यवहार फेरिएको छ । उनले देखाएको क्रुरता बिस्तारै ओर्लिएको छ । उनी काम विशेषले बजार गए भने दैनिक वा साप्ताहिक पत्रिका बोकेर आउन थालेका छन् । उनी पदीय हिसाबले सई हुन् । अस्ति माघ एक गते मेस नाइकेले बजारबाट मासु किनेर ल्याउँदा खसिको मासु होइन भन्ने साथीहरूलाई शङ्का लाग्यो । कुरा सुरक्षामा जाने प्रहरीसम्म पुग्यो । सई हर्कबहादुरले मासु पसलेलाई कारागारको सुरक्षा क्याम्पमा बोलाएर केरकार गर्दा बाख्रीको मासु मिसिएको स्वीकारोक्ति आएछ । त्यसपछि उनले सो मासु फिर्ता गराई खसिको मासु मगाए र बिक्रेतालाई कार्वाहीको निम्ति स्थानीय प्रशासनमा बुझाएछन् । उनी मात्र होइन कारागार सुरक्षामा खटिएका सबैजसो प्रहरीको व्यवहार फेरिएको छ । सायद प्रहरी सङ्गठनमा सेनाको कमाण्ड हावी हुँदैछ ।

साँझ पर्दै गयो । सदाझैँ कारागार मेस नाइकेले खानाको सिठी फुक्यो । कारागारका फलामे ढोकाहरू क्रमशः बन्द हुँदै गए । गोरखा कारागार
माघ ७, २०५९
दिन ढल्दै गएपछि चिसो सिरेटो चल्न थाल्यो । बुधबार भएकोले भेट्न आउने आफन्तहरूको रुवाई र गुनासाहरू धेरै सुनिन्छ । आज घरबाट कान्छी छोरी आएकी थिइन् । फलामे ढोकामा अडेस लागेर छोरीसित केहीबेर कुरा भयो । ‘पार्टीका साथीहरू खासै आउन्नन् । पारी करेली थुम्कामा सैनिक ब्यारेक बसेपछि पार्टीका साथीहरू आउन छोडेका हुन् । साँझ अबेरसम्म टुकी वा लाल्टिन बालेर आफ्नो पाठ पढ्न नि पाइन्न । पर्सि १० गतेदेखि सेन्टअप परीक्षा छ ।’

साँच्चै सकस छ गाउँमा । छोरीले अर्को पीडायुक्त खबर भनिन् । विद्यालयले जेहन्दार छात्रबृतिका लागि नाम सिफारिस गरेर गाबिसमा पठायो तर गाबिस अध्यक्षले राज्यको सहयोगले आतङ्ककारीलाई फाइदा पुग्छ भन्दै विद्यालयको सुचीबाट छोरीको नाम हटाएछ । छोरीलाई ढाडस दिएँ, मेहनतसाथ पढाई जारी राख । छोरीसँगै अरू आफन्त फर्किए । मलाई नमिठो अनुभूति भयो । माघका छोटा दिन, छिटो हिँड्ने मान्छेलाई गोरखा बजारबाट हर्मी पुग्न पैदल चार घण्टा लाग्छ रात विरात बाटोमा हिँड्दा गस्तिको डर छ । फेरि पानी पर्ने लक्षण छ । छोरीको चिन्ताले सताइरह्यो ।

साथीहरू घरबाट आएका कोशेलिपातको भागबण्डा गर्न लागे । हामी दाइभाइ घरायसी खबरले गम्भीर बन्यौँ । यतिबेला माओवादी छापामारहरू सदरमुकाम भन्दा धेरै विकट गाउँतिर पुगेको अपुष्ट खबरहरू आएका छन् । प्रशासनले विद्यालयका शिक्षक किसानहरूलाई रोक्ने र थुन्ने गर्दा खाँटी लडाकुहरू सुरक्षित भएका अनुमान गर्न सकिन्छ । अर्कोतिर स्थानीय प्रशासनमा पनि चालू आतङ्ककारी विधेयकको म्याद सकियो अब आस्थाका बन्दिलाई के मुद्दामा जेल राख्ने भन्ने बिषयले अन्यौल भएको समाचार आएको छ । यतिबेलाको पुलिस प्रशासन भन्दा सैनिक प्रशासन बलियो भएको अवस्थामा जुनसुकै फरेव लगाएर पनि हामीलाई जेल राख्न सक्छ । अदालतले अपराधी करार गरेर कारागारमा रहेका कैदी बन्दिहरू छुट्न थालेका छन् । यस्तोमा भने हामी कतिपय साथीमा अत्यास वा अन्योल उत्पन्न हुने रहेछ । जेहोस् हामी कतिपय ढुक्क पनि छौँ कुनै दिन निकास निस्किई त हाल्छ ।
गोरखा कारागार
(कारागारका तीन सय उनानसय दिन अप्रकाशित दैनिकीबाट)