उपर्युक्त विचारहरु भारतीय माक्र्सवादी समालोचक तथा सौन्दर्यचिन्तक मैनेजर पाण्डेयले सन् १९९७ मा प्रस्तुत गरेका थिए जुन सङ्कटका बावजुद (१९९८) मा प्रकाशित भयो । यही नोभेम्बर ६ मा ८१ वर्षको उमेरमा उनको निधन भयो, उनले चित्रित गरेको यही विश्वव्यापी सङ्कटका बिच । मुक्तिको माक्र्सवादी वैचारिकीप्रतिको गहिरो आस्था र प्रतिबद्धताका पृष्ठभूमिमा नै यी विचारहरु जन्मिएका हुन् । प्रवर्तक परिवार सर्वप्रथम वरिष्ठ माक्र्सवादी साहित्यचिन्तक पाण्डेयको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । पाण्डेयले अनुभूत गरेको सङ्कटपूर्ण परिवेश बिसौं शताब्दीको उत्तरार्धको विश्वपरिवेश हो तर यो आज पनि उस्तै गरी विद्यमान छ । यस सङ्कटको कारक विश्व पुँजीवाद हो । पाण्डेयले भनेझैं यो कारक केवल वर्तमानको पुँजीवादी विजयोन्माद मात्र होइन, निरन्तर विस्तारको पँुजीवादको मूल चरित्र नै यसको कारक हो । संसारभरि आफ्नो पञ्जा फैलाउने र आफूलाई निरन्तर विस्तार गर्ने प्रक्रियामै यो जीवित रहन्छ । त्यसैले पाण्डेयले यसको विगत तीन–चार शताब्दीको इतिहासलाई मनुष्य र प्रकृतिको शोषण, दोहन र दासताको विराट् वृत्तान्त बताएका हुन् । यसले मान्छेलाई हदै ‘अर्थपिशाच’ बनाएको छ र यस शताब्दीका वर्तमानमा हदै उपभोक्तावादी बनाएर आफ्नो विस्तार र व्याप्ति कायम गरिरहेको छ ।

आफ्नो विस्तार र व्याप्तिका निमित्त पुँजीवाद कति अमानुषिक हुन सक्छ भन्ने कुरा वर्तमानमा जारी रहेको रmस–युक्रेन युद्ध र त्यसमा प्रत्यक्ष परोक्ष अमेरिका र युरोपेली नाटो मुलुकहरुको संलग्नताले पुष्टि गर्दछ । मान्छे तीव्र ऊर्जाअभावमा जाडोमा कठ्याङ्ग्रिएर मर्न विवश छन्, तोपगोला, बमबारmदका प्रहारले क्षतविक्षत छन् तर पनि पुँजीवादी शासकहरु युद्धलाई निरन्तरता दिएर आफ्नो विस्तारकै होडमा लिप्त छन् । मानव जीवनको यस्तो सङ्कटप्रति संवदेनशून्यताको कुरुप चरित्र प्रदर्शन गरिहेछ पुँजीवाद ।

हार्दिक शुभकामना !

सङ्कटको यो परिवेश विश्वव्यापी छ र त्यसो भएकाले यो नेपाली समाजमा पनि विद्यमान छ । सामन्तवादी उत्पादन पद्धति र संस्कृतिका अवशेषमा त्यसकै चरित्र र आदर्शलाई बोकेर स्थापित भएको दलाल पुँजीवादी शासनसंरचना स्वयंमा पनि सङ्कटग्रस्त छ तथापि ऊ जनतामा अनेक भ्रम छरेर आफूलाई निरन्तरता दिन सक्रिय छ र यसलाई भत्काउने र बदल्ने परिवर्तनकारी शक्ति र आन्दोलन पनि आफैभित्रको सङ्कटमा छ । आन्तरिक सङ्कटका बावजुद एकातिर पुँजीवाद आफूलाई विश्वव्यापी बनाउने होडमा क्रियाशील छ भने यता समाजवादी शिविरहरुको पतन÷विघटनपछि रक्षात्मक बनेको समाजवादी आन्दोलन विभाजनको सिकार छ । नेपालकै कुरा गर्दा महान् जनयुद्धको प्रक्रियाबाट विकसित शक्तिशाली कम्युनिस्ट आन्दोलन र त्यसको संवाहक माओवादी पार्टी क्षत विक्षत हुनपुगेको अप्रिय परिवेश हाम्रा अगाडि छ । यसको मूल नेतृत्वको निरन्तर संसदीय अभ्यासमा संलग्नता र जनयुद्धद्वारा स्थापित आदर्श एवं क्रान्तिकारी वैचारिकीबाट तीव्र गतिमा स्खलनले कस्तोसम्म विद्रूपताको निर्माण ग¥यो भने यो शक्ति न त संसदीय सत्ताविना बाँच्न सक्ने भयो, न आफ्ना क्षमताले त्यो आर्जन गर्न सक्ने भयो । परिणामस्वरुप विचार र आदर्शबाट निरन्तर स्खलित हुँदै पश्चगामी शक्तिसँग गठजोड गर्दै गयो र गर्दै जाँदो छ । यसो गरेर उसले आफूलाई वर्गीय दृष्टिले नै दलाल पुँजीवादको पोषक शक्तिमा रुपान्तरित गर्न पुगेको छ ।

संसदबाहिर रहेका माओवादी र अन्य परिवर्तनकामी वामपंथी शक्तिहरु पनि स्वभावतः यस सङ्कटबाट प्रभावित छन् । अनेक समूहमा विभाजन त छ नै, क्रान्तिकारी माक्र्सवादी वैचारिकीको बुझाइ र व्याख्यामै पनि एकरुपता छैन भने कतिपयलाई पुँजीवादी वा उत्तरआधुनिकतावादी चिन्तनले प्रभाव पारिरहेको अवस्था छ । परिणामस्वरुप अहिलेको विश्वसमाजको मूल अन्तर्विरोध, उत्पादक शक्तिसम्बन्धी दृष्टिकोण, भावी क्रान्तिको चरित्र लगायतका विषयमा समान र वस्तुगत दृष्टिकोण बन्न सकिरहेको छैन । यसले गर्दा यी शक्तिहरु बिच एकीकरण पनि हुन सकिरहेको छैन ।

सङ्कटको उपर्युक्त अवस्थाको प्रभाव नेपालको परिवर्तनधर्मी सांस्कृतिक आन्दोलनमा पनि पर्नु स्वाभाविक छ । यसो भनौं हाम्रो सांस्कृतिक आन्दोलन पनि एक प्रकारले सङ्कटकै बिचबाट गुज्रिरहेको छ । हिजैदेखिको संशोधनवादी परम्परागत राजनीतिक शक्तिको पक्षपोषण गर्दै राज्यको परम्परागत संरचनालाई नै बल पु¥याउने र सामन्तवादी आदर्शप्रेरित राष्ट्रवादको पुर्पच्छे गर्ने लेखकहरुको एउटा ठुलो तप्का यस्तो छ जसले माक्र्सवादको क्रान्तिकारी अन्तर्वस्तुबाट पलायन गरिसकेको छ र पनि प्रगतिशीलताका नाउँमा सांस्कृतिक आन्दोलनका विकासमा भ्रम र अवरोध सिर्जना गरिरहेको छ । यसै गरी जनयुद्धद्वारा स्थापित क्रान्तिकारी विचार र आदर्शबाट स्खलित भई संसदीय प्रणालीको अङ्ग बनिसकेको माओवादी आन्दोलनको एउटा हिस्साका प्रभावमा अर्काथरी लेखक कलाकारहरुको त्यस्तो हिस्सा छ जो शब्द वा रुपका तहमा क्रान्ति र परिवर्तनको कुरा त गर्छ तर अन्तर्वस्तु वा कर्मका तहमा दलाल पुँजीवादी सत्तालाई नै सर्वोपरि ठानेर सत्ताप्रदत्त लाभप्राप्तिका मेलोमेसोमा आसक्त र लिप्त हुँदै गएको छ । हिजो जेलब्रेकका महाख्यानमा, ‘गादोमा आगो लुकाएर हिँड्ने’ कुमारी बुढाहरुमा वा अनेकोटका बलिदानी शौर्यहरुमा सौन्दर्य देख्ने र त्यसको उदात्त बिम्बीकरण गर्ने लेखकहरु अहिले संसदमा सांसदको सङ्ख्या कम भएकोमा रोइलो गरिरहेका छन् । तिनका लागि सत्तासीन भइरहन एमसिसी पास गर्नु र संसदमा केही थान सांसद पाउनका लागि पश्चगामी शक्तिहरुसँगको लिप्सा र सान्निध्य कायम गर्नु पनि क्रान्तिकारी कदम बनेको छ । जनयुद्धका मूल्य र आदर्शको भ्रष्टीकरण गर्ने राजनीतिक शक्ति र नेतृत्वलाई आदर्श ठान्ने यस प्रवृत्तिले रुपमा अझै प्रगतिशील देखिए पनि वैचारिक अन्तर्वस्तुका तहमा विस्तारै पलायन र स्खलनकै बाटो अँगाल्दै छ । रुप र अन्तर्वस्तुको यस अन्तर्विरोधले अन्ततः सिर्जनात्मक निष्क्रियता नै ल्याउने छ र लेखकहरु फगत उपभोक्तावादी बनेर सत्ताको लाभजीवी बन्ने अवस्था पैदा हुनेछ ।

आफूलाई क्रान्तिकारी दावी गर्ने एक थरी यस्ता लेखक पनि छन् जो शब्दमा निरपेक्ष शुद्धताको माग गर्छन् तर सांस्कृतिक आन्दोलनको क्रान्तिकारी तप्काभित्रै पनि सौहाद्र्रता र सार्थक विमर्शका लागि सिर्जनात्मक भूमिका निर्वाह गर्दैनन् । अर्काथरी केही नयाँ पुस्ताका लेखकहरु छन् जो क्रान्तिकारी लेखनलाई सेलिब्रेसन बनाउन र उपभोक्तावादी बजारमा आफूलाई सेलिब्रेटी बनाएर सेल गर्न उद्यत छन् । यिनमा इतिहासका प्राप्तिप्रति गौरवबोध होइन, इतिहासलाई महङ्खवहीन ठान्ने अनैतिहासिक चेतना व्याप्त छ ।

यी विविध प्रवृत्तिहरुका कारण हाम्रो सांस्कृतिक आन्दोलन र सिर्जनामा चुनौतीहरु सिर्जना भएका छन् र विभाजन, पलायन, आदर्श स्खलन, निराशा र कुण्ठा, सत्तालिप्सा र लाभप्राप्तिप्रतिको आसक्तिका प्रवृत्तिले एक प्रकारको सङ्कट निश्चय पनि सिर्जना गरेको छ ।

प्रश्न छ, के यो सङ्कट समाधेय छैन ? यसबाट हाम्रो सांस्कृतिक आन्दोलनलाई कसरी बाहिर निकाल्ने ?

यस समयमा “विचारहरु, आदर्शहरु, व्यवस्था र संस्थाहरुको टुटफुट”ले जन्माएको सङ्कटका चरमावस्थाले गर्दा मैनेजर पाण्डेयलाई “नजिक त के टाढा टाढासम्म विकल्प नदेखिनु” स्वाभाविक थियो तर त्यो स्थायी भने थिएन, होइन । यस सङ्ककटका बावजुद पनि क्रान्तिकारी शक्तिहरु पुनः सङ्गठित हुने क्रम जारी नै छ, संसारभर नै कुनै न कुनै रुपमा आन्दोलनहरु भइ नै रहेका छन् । हामीकहाँ पनि माक्र्सवादका रक्षार्थ वैचारिक र राजनीतिक आन्दोलन जारी छ । सिर्जना, सौन्दर्यचिन्तन र समालोचनाका क्षेत्रमा केही न केही कामहरु भइ नै रहेका छन् । हामी उत्तरआधुनिकतावाद, संशोधनवाद, नवअवसरवाद तथा क्रान्तिकारी आदर्शबाट भइरहेको पलायन र स्खलनका विरmद्ध लेखि नै रहेका छौं किनभने सङ्ककटका बावजुद पनि लड्नु त छ नै । क्रान्तिकारी कवि पासले भनेझैं सपनाको मृत्यु सबभन्दा खतरनाक हो भन्ने कुरा हामीलाई थाहा छ । आउनुहोस्, लेखक मित्रहरु, यो सपनालाई मर्न नदिऊँ, पलायन र विचलनका विरmद्धको लेखनलाई शक्तिशाली बनाउँ ।

(प्रवर्तक अङ्क आठको सम्पादकीयबाट लिइएको)

प्रतिक्रिया

सम्बन्धित खवर