साताको साहित्य
निबन्ध
जब हामी कुनै खतरामा पर्छौँ अनि झल्याँस्स ब्युझिएको झैँ गर्छौँ र फेरि निदाउछौँ । शहरमा फाटेको जुत्ता गाउँमा नयाँ हुन्छ भन्ने नेपाली उखान जस्तै छ हामीले भोगेको सामाजिक अवस्थिती । छोराको जडौरी लुगा बुबालाई नयाँ हुन्छ त्यस्तै विदेशीले थोत्रो भनेर कवाडीमा बेच्ने तयारी गरेका कयौँ यन्त्रजडित सामान हामीले निर्बाध उपयोग गरेका छौँ । वस्तुको गुण टिकाउ वा उपयोगिताको समय हामी जाँच्न नजान्ने हौँ वा बुद्धिमान भएर प्रयोग गरिरहेका छौँ ? पोखरामा भएको विमान दुर्घटनाले प्रश्न उठाएको छ ।
यो सत्य हो हाम्रो देशमा हवाइजहाज निर्माण गर्ने कुनै यन्त्रशाला छैन, कच्चा पदार्थ पनि छैन । तत्सम्बन्धी प्राबिधिक उत्पादन गर्ने शिक्षालय पनि हाम्रै देशमा चलेका छैनन् । त्यसैले बाह्य मुलुकमा भर पर्नु अनिवार्य त छँदै छ । राज्यले खरिद गर्ने कतिपय सामानहरूमा कमिशनको चक्कर चलेको र सोही बमोजिम खरिद गरिएको घटना र वस्तु नेपालमा नौलो हुन छोड्यो ।
निजी क्षेत्रले सञ्चालन गर्ने गरेका विमानहरू कतिपय उत्पादक मुलुकले उपयोग गर्न नमिल्ने भएपछि हामीकहाँ ल्याइएको पो हो कि ? अर्कोतिर हाम्रो आकास नै असुरक्षित भएर पनि यसरी दुर्घटनाको मार खप्नु परेको हो । नीति निर्माताले सोच्नु पर्ने होइन ?
विमान दुर्घटनाको परिणामले धेरै मानिसको सामुहिक मृत्युले शोकको एउटा अवस्था जन्माउँछ र सबैलाई सम्वेदित तुल्याउँछ तर हाम्रो बितरण र उपभोगका कारण धेरै जनसमुदायले मोल्नु परेको जोखिमबारे हामी धेरै सचेत र जिम्मेवार छैनौँ । भलै, राज्य संयन्त्रको ध्यान पुगेका ठूला वा मुख्य शहरहरूमा सम्बन्धित निकायको झाराटराइ अनुगमन भएका हुन सक्छन् तर दूरदराजका गाउँ ठाउँमा अनुगमन कुन चराको नाउँ हो जानकारी हँुदैन ।
अहिले विकासको पुर्वाधारका नाममा स्थानीय निकायले ग्रामिण सडकको विकास भन्दै करोडौँ बजेट लगानी गरेको छ । गाउँ गाउँमा मोटरबाटो पु¥याउने र यातायात सञ्चालनको होड चलेको छ । साँघुरा र कच्ची बाटोमा पुराना गाडिहरूले थुप्रै दुर्घटना गराएका खबरहरू सुनेर हामी मौन बस्छौँ । सिँहदरबारको खायली पाएका स्थानीय निकायका प्रतिनिधिहरू यस्तो कच्चा विकासप्रति आँखा चिम्लिएर आफू बहादुर विकासप्रेमी बनेको गफ छाँट्छन् तर पटक पटक हुने सडक दुर्घटनामा गम्भीर बनेको पाइँदैन ।
हवाइ वा सडक दुर्घटना मात्र नेपाली जनताको अभिशाप होइन नदी खोलाका तुइन र फड्के साँघुहरू काल बनेर हामीलाई डसिरहेका छन् ।
मानव स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थ चामल दाल वा तेलहन जन्य वस्तुहरू हुन् । दूरदराजका बजारमा उपयोग अबधिको म्याद गुज्रिएका वस्तुहरू निर्बाध रूपमा बिक्री भैरहेका हुन्छन् । खाद्य वस्तु बेचबिखनमा लगानी गरेर कारोबार गर्ने ठूला ब्यपारीहरूको गोदाममा भए बचेका म्याद गुज्रिएका अन्न, दाल, तेल जस्ता सामग्री प्रशासनको नजर नपुगेका बजारहरूमा पठाउने गर्छन् । यसरी दुर्गमका उपभोक्ता त्यस्ता वस्तु उपभोग गर्न बाध्य छन् । बेथितिका चाङहरू मुलुकमा ब्याप्त छ । राज्यसत्तामा पहुँच पुग्ने व्यक्ति वा राज्यसत्तालाई हायलकायल पार्न सक्ने सङ्घ संस्थाको मनपरी ज्यादती हामी निमुखा जनताले भोगिरहेका छौँ । उदाहरणका लागि बाहिरका कुरा छोडौँ राजधानी शहरभित्र बस्ने अमुक ब्यबसायीले कुनै वस्तुमा मिसावट गरेर बाहिर बजारमा ल्याए राज्यको नजर त्यहाँ पुग्यो तर कुनै कार्वाही हुँदैन । पहिलो कुरा उनीहरूको सङ्गठन छ, फर्जी वा किर्ते वस्तु पनि शुध्द बन्न सक्छ । यदि कार्वाहीको दायरामा आइहाल्यो भने दलालहरू मार्फत् माथिल्लो निकायमा दबाब पुग्छ र कार्वाहीबाट जोगिन्छ । किन यस्तो हुन्छ त ? यसको सहज जबाफ छ राज्यसत्तामा दलालहरूको हालीमुहाली छ । उनीहरू यस्तै घुसखोरी र काला बजारियाहरूको कमिशनले बाँचेका छन् । आवधिक वा आकस्मिक रूपमा सत्ताको बागडोर सम्हाल्न ब्यक्तिहरू फेरिन्छन् । कुनै नयाँ चुरिफुरीवालाले सत्ताको बागडोर पनि लिन्छ तर ब्यबहारमा नेपाली उखान सबै उही ड्याङका मुला भनेझैँ हुन्छ । यो संसदीय ब्यबस्थाको सत्ताको मूल चरित्र नै हो । हामी आम उपभोक्ता जन समुहले धेरै धोखा खाइसकेका छौँ । यस्ता कुप्रबृतिका बिरुद्ध जनताको चासो र चेतन आग्रहले मात्र हटाउन सकिन्छ । त्यसैले हामी आम जनता बेलैमा उठ्नु पर्दछ ।